मेचीनगर, झापा / ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ कृषि ज्ञान केन्द्र झापाको आयोजनामा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव भव्य रूपमा सम्पन्न भएको छ ।

झापाको मेचीनगर नगरपालिका वडा नं. १३ स्थित पूर्वी पाथीभरा कृषि सहकारी संस्था लिमिटेडको व्यवस्थापनमा आयोजित कार्यक्रमले कृषिमा आधुनिक प्रविधिको प्रयोग, धान उत्पादन वृद्धि तथा आत्मनिर्भर कृषिको सन्देश दिएको छ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले कृषकहरूले वर्षेनी रासायनिक मलको अभाव झेल्नुपरेको उल्लेख गर्दै यसको दीर्घकालीन समाधानका लागि भर्मी कम्पोष्ट मल उत्पादन र प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले दिगो कृषि प्रणाली विकास गर्न जैविक मल उत्पादनतर्फ सबै सरोकारवालाले ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले धान खेती कृषकको जीविकोपार्जनसँग मात्र नभई नेपाली समाजको संस्कृति, परम्परा र जीवनशैलीसँग अभिन्न रूपमा जोडिएको बताउनुभयो ।

उहाँले कृषि र पर्यटनलाई एकसाथ अघि बढाउन सके धान दिवसजस्ता कार्यक्रमले कृषि पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउन सक्ने उल्लेख गर्नुभयो ।

मेचीनगर नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष कृष्णराज सिग्देलले आगामी वर्ष कृषि ज्ञान केन्द्र र नगरपालिकाको संयुक्त आयोजनामा धान दिवसलाई अझ भव्य र प्रभावकारी रूपमा मनाउने योजना बनाउनुपर्ने बताउनुभयो ।

उहाँले पछिल्लो समय आफ्नो वडाका अधिकांश कृषि योग्य जमिन आवास प्रयोजनमा दर्ता हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै कृषि भूमि संरक्षणमा सबै पक्ष गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।

पूर्वी पाथीभरा कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष विश्वनाथ धितालले धान खेतीका लागि समयमा रासायनिक मल उपलब्ध नहुँदा कृषकले वर्षेनी समस्या भोग्नुपरेको बताउनुभयो ।

उहाँले देशमै मल कारखाना स्थापना गर्न सके मल अभावको समस्या समाधान हुने तथा उच्च गुणस्तरका बीउ सहज रूपमा उपलब्ध गराउन सके उत्पादन वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

कृषि ज्ञान केन्द्र झापाका बागवानी विकास अधिकृत सन्तोष सुवेदीले जन्मदेखि मृत्युसम्मका संस्कारमा धानको विशेष महत्व रहेको उल्लेख गर्दै नेपालको समृद्धिको आधार कृषि क्रान्ति नै भएको बताउनुभयो ।

उहाँले कृषि आधुनिकीकरण र प्रविधिमैत्री खेती प्रणालीमार्फत उत्पादन र उत्पादकत्व दुवै वृद्धि गर्न सकिने धारणा राख्नुभयो ।

कार्यक्रमका अवसरमा कृषि यान्त्रिकीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले कृषि ज्ञान केन्द्र झापाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

'सोही क्रममा नेपाल बहुउद्देश्यीय सहकारी संस्थालाई अनुदानमार्फत स्थापना गरिएको कस्टम हायरिङ सेन्टरबाट राइस ट्रान्सप्लान्टर मेसिन प्रयोग गरी ट्रेमा तयार गरिएको धानको बिरुवा रोपेर आधुनिक प्रविधिसहित धान दिवस मनाइएको थियो ।

कृषि ज्ञान केन्द्र झापका कार्यलय प्रमुख शागर विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रम शहायक बालि संरक्षण अधिकृत अन्जु आचार्यले सञ्चालन गर्नु भएको थियो ।

असार १५ लाई नेपाली कृषि संस्कृतिमा ‘मानो खाएर मुरी उब्जाउने’ दिनका रूपमा मनाइन्छ ।

यही दिनबाट मुख्य धान रोपाइँको सुरुवात हुने परम्परा रहेको छ भने दही–चिउरा खाने पर्वका रूपमा समेत यस दिनलाई विशेष महत्वका साथ मनाउने गरिन्छ ।

कार्यक्रमले परम्परागत कृषि संस्कृतिलाई आधुनिक प्रविधिसँग जोड्दै धान उत्पादन वृद्धि र कृषि आत्मनिर्भरताको सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ ।