विर्तामोड, झापा । झापाको विर्तामोड उद्योग वाणिज्य संघको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। संघकै सभाहलमा आयोजित साधारणसभा आइतबार सम्पन्न भएको हो।

साधारणसभाको अवसरमा झापाका प्रखर सञ्चारकर्मी अच्युतराज सुवेदी र इन्द्रसिंह राजवंशीलाई सम्मान गर्नुका साथै व्यवसाय क्षेत्रमा योगदान पुर्याएका दुई जना व्यवसायीलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले राज्यमा स्थायी सरकार गठन भएमा मात्र आर्थिक समृद्धिको आधार तयार हुने बताउँदै त्यसपछि सरकार, निजी क्षेत्र र अन्य सरोकारवालाबीच प्रभावकारी सहकार्य सम्भव हुने धारणा राख्नुभयो।

संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले आफू पनि उद्योग वाणिज्य संघसँग आबद्ध भएर काम गर्ने अवसर पाएको स्मरण गर्दै आफ्नो कार्यकालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई ल्याएर संघको भवनको शिलान्यास गरिएको उल्लेख गर्नुभयो।

वार्षिक साधारणसभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले व्यवसायीहरूको हकहित संरक्षण, व्यवसाय प्रवर्द्धन तथा विभिन्न आर्थिक, सामाजिक र व्यावसायिक क्षेत्रमा संघले निरन्तर काम गर्दै आएको बताउनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष नरेशलाल श्रेष्ठले विभिन्न वस्तुको निर्यात प्रवर्द्धनमा सरकारले आवश्यक सहयोग गर्न नसक्दा निर्यात व्यवसायीहरू समस्यामा परेको बताउनुभयो।

त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले सरकार र वित्तीय क्षेत्रको दृष्टिकोण निजी क्षेत्रप्रति समान रहेको उल्लेख गर्दै निजी क्षेत्रका समस्या समाधानमा सरोकारवाला निकायहरू पर्याप्त संवेदनशील हुन नसकेको बताउनुभयो।

उहाँले निजी क्षेत्रलाई सहज वातावरण उपलब्ध गराउन सरकारले वैज्ञानिक नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।

झापा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले निजी क्षेत्र नेपालको मात्र नभई अन्तर्राष्ट्रिय अर्थतन्त्रकै मेरुदण्ड भएको उल्लेख गर्दै निजी क्षेत्रको सुरक्षा र व्यवसायमैत्री वातावरण निर्माणमा राज्यले आवश्यक सहयोग गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो।

कार्यक्रमकै अवसरमा व्यवसायिक क्षेत्रमार्फत समाज रूपान्तरणमा उल्लेखनीय योगदान पुर्याएका दुई जना व्यवसायीलाई सम्मान गरिएको थियो।

उद्योगी–व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यको प्रमुख आतिथ्यता रहेको थियो।

संघका उपाध्यक्ष राजकुमार घिमिरे राजुले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम महासचिव कुशल खतिवडाले सञ्चालन गर्नुभएको थियो।









