बिर्तामोड, झापा / विश्व लागुऔषध दुव्र्यसन तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा इनर ह्विल क्लब अफ बिर्तामोड मिडटाउनको आयोजनामा एकदिने लागुऔषधविरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

शुक्रबार बिर्तामोड नगरपालिका–४, पुरानो भद्रपुर रोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजित कार्यक्रममा अबाकस बोर्डिङ स्कुलका कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थी तथा उनीहरूका अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोडका प्रहरी अधिकारी लोकबहादुर दियालीले पछिल्लो समय बालबालिका तथा किशोरावस्थादेखि नै लागुऔषध प्रयोगको जोखिम बढ्दै गएको उल्लेख गर्दै समयमै सचेतना आवश्यक रहेको बताउनुभयो।

उहाँले लागुऔषधको लतले व्यक्तिको भविष्य, परिवार र समाजमा गम्भीर नकारात्मक असर पार्ने भएकाले यसबाट टाढा रहन सबैलाई आग्रह गर्नुभयो।

इनर ह्विल क्लब अफ बिर्तामोड मिडटाउनकी अध्यक्ष लुना बस्नेतले विश्वभर जुन २६ मा मनाइने विश्व लागुऔषधविरुद्ध दिवसको सन्दर्भ पारेर युवापुस्तामा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

उहाँले यस्ता कार्यक्रमले विद्यार्थी र अभिभावकलाई लागुऔषधको जोखिमबारे जानकारी दिनुका साथै समाजलाई दुव्र्यसनमुक्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

क्लबकी चार्टर प्रेसिडेन्ट भूमिका पोखरेलले लागुऔषधको समस्या नजिकबाट बुझेको अनुभव सुनाउँदै यसले व्यक्तिको जीवनलाई भयावह अवस्थामा पु¥याउन सक्ने भएकाले समयमै सचेत हुनु आवश्यक रहेको धारणा राख्नुभयो।

कार्यक्रममा सामाजिक अभियन्ता तथा चाहना समूहका रोशन भण्डारी (जीवन) ले विद्यार्थी र अभिभावकलाई प्रशिक्षण दिनुभएको थियो ।

उहाँले लागुऔषध प्रयोगको सुरुवाती अवस्था, त्यसका कारण, शारीरिक तथा मानसिक असर र यसबाट बच्ने उपायबारे जानकारी गराउनुभयो ।

साथै आफू १३ वर्षसम्म लागुऔषधको लतमा परेको व्यक्तिगत अनुभव सुनाउँदै दृढ इच्छाशक्ति, परिवारको साथ र समाजको सहयोगबाट दुव्र्यसनबाट मुक्त हुन सकिने सन्देश दिनुभयो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले लागुऔषधविरुद्ध सचेत रहँदै आफ्ना साथीभाइलाई समेत सचेत गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

आयोजकले आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । कार्यक्रम इनर ह्विल क्लब अफ बिर्तामोड मिडटाउनकी सचिव कमला पौडेलले सञ्चालन गर्नुभएको थियो ।