बुधवार, असार १०, २०८३
Sancharmanch

झापाबाट कांग्रेसको नयाँ अभियान प्रारम्भ, पार्टी एकता र सुशासनका पक्षमा नेताहरूको जोड

Posted by:
मङ्गलवार, असार ९, २०८३

विर्तामोड, झापा / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संगठन सुदृढीकरण, पार्टी एकता र सुशासनको एजेन्डालाई केन्द्रमा राख्दै झापाबाट नयाँ राजनीतिक अभियानको सुरुआत गरेको संकेत दिएको छ। नेपाली कांग्रेस झापाको आयोजनामा सोमबार विर्तामोडमा सम्पन्न जिल्लास्तरीय कार्यकर्ता भेलामा पार्टीका शीर्ष नेताहरूले संगठनलाई थप सशक्त, एकताबद्ध र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचनका लागि कार्यकर्तालाई सक्रिय हुन आह्वान गरेका छन्। झापामा कांग्रेसलाई प्राप्त मत भन्दा केहि बढि जस्तो संख्यामा देखिने कार्यकर्ता भेलालाई संबोधन गर्दै केन्द्रिय सभापती गगन कुमार थापाले पाटिको साँख गिरिरहेको अवस्थामा अव पार्टी नेतृत्वमा चेतना पलाउन जरुरी रहेका औँल्याउनुभयो ।

भेलालाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, प्रतिनिधिसभामा कांग्रेस संसदीय दलका नेता भिष्मराज आङदेम्बे, केन्द्रीय सहमहामन्त्री डिला संग्रौला तथा नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापा लगायतले सम्बोधन गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै संसदीय दलका नेता भिष्मराज आङदेम्बेले संसद् जनताको आवाज उठाउने सर्वोच्च थलो भएकाले जनसरोकारका विषयमा कांग्रेसले निरन्तर सशक्त भूमिका निर्वाह गर्दै आएको र आगामी दिनमा पनि गरिरहने स्पष्ट गर्नुभयो। उहाँले मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाभिमान र सीमासम्बन्धी विषयमा कुनै पनि कमजोरी स्वीकार्य नहुने उल्लेख गर्दै प्रधानमन्त्रीबाट व्यक्त भएका केही अभिव्यक्तिप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो।

उहाँले राष्ट्रिय अस्मितासँग जोडिएका विषयमा कांग्रेस संसद्भित्र र बाहिर दुवै ठाउँमा दृढतापूर्वक उभिएको उल्लेख गर्दै देशको हितविपरीत देखिने अभिव्यक्तिको जवाफ संवैधानिक र संसदीय प्रक्रियामार्फत खोज्ने धारणा राख्नुभयो। संसद्मा पछिल्लो समय देखिएका केही घटनाक्रमप्रति संकेत गर्दै आङदेम्बेले संसदीय अभ्यासमा परिपक्वता, जिम्मेवारी र विषयवस्तुप्रतिको गम्भीरता आवश्यक रहेको बताउनुभयो।

नेता आङदेम्बेले नेपाली कांग्रेसको गौरवशाली इतिहास, लोकतान्त्रिक संघर्ष र राष्ट्रिय एकतामा पार्टीले खेलेको भूमिकाको स्मरण गर्दै अब पार्टीलाई नयाँ उचाइमा पुर्‍याउन युवा पुस्ताको नेतृत्व अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले अनुभव र ऊर्जाको समन्वयबाट मात्रै कांग्रेसलाई आगामी राजनीतिक यात्रामा थप सफल बनाउन सकिने उल्लेख गर्नुभयो।

कार्यक्रममा केन्द्रीय सहमहामन्त्री डा. डिला संग्रौलाले कांग्रेसलाई पुनः जनविश्वासको केन्द्रमा स्थापित गर्ने अभियानको सुरुआत झापाबाट भएको बताउँदै पार्टीलाई विचार, संगठन र कार्यशैलीका आधारमा थप बलियो बनाइने बताउनुभयो। उहाँले विशेष महाधिवेशनबाट पार्टी निर्माण, देश निर्माण र सुशासन स्थापनाको अभियान प्रारम्भ भएको उल्लेख गर्दै त्यसलाई सफल बनाउन सम्पूर्ण नेता–कार्यकर्ताको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो।

महिला तथा युवाको सहभागिता बढाउनुपर्नेमा जोड दिँदै उहाँले क्रियाशील सदस्यता वितरणदेखि नेतृत्व विकाससम्म महिलालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। प्रतिस्पर्धात्मक राजनीतिमा महिलाको सहभागिता र नेतृत्व क्षमता विस्तारका लागि पार्टीले विशेष योजना बनाउनुपर्ने उहाँको भनाइ थियो।

सहमहामन्त्री संग्रौलाले पूर्वी नेपालको प्रमुख नगदेबाली चियाको उत्पादन र निर्यात क्षेत्रमा देखिएका समस्याप्रति पनि ध्यानाकर्षण गराउँदै चिया उद्योगलाई पुनः गतिशील बनाउन सरकारसँग आवश्यक पहल गर्न आग्रह गर्नुभयो। उहाँले चिया क्षेत्रको संकट समाधान गर्नु हजारौं श्रमिक र किसानको जीवनसँग जोडिएको विषय भएको बताउनुभयो।

कोशी प्रदेश सभापति उद्धव थापाले नेपाली कांग्रेसले विचार, ऊर्जा र दूरदृष्टि भएका नेतृत्व प्राप्त गरेको उल्लेख गर्दै गगन थापा र विश्वप्रकाश शर्माजस्ता नेताको सक्रियताले पार्टीमा नयाँ उत्साह थपिएको बताउनुभयो। उहाँले आगामी निर्वाचनमा कांग्रेसलाई मुलुकको पहिलो राजनीतिक शक्ति बनाउने आधार तयार भइरहेको दाबी गर्नुभयो।

थापाले पार्टीभित्र असन्तुष्ट र मन दुखाएर बसेका नेताहरूलाई सम्मानपूर्वक समेट्न नेतृत्वलाई आग्रह गर्दै संगठनलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। अग्रज नेताहरूले मार्गदर्शक भूमिकामा बसेर पार्टीलाई साझा लक्ष्यतर्फ उन्मुख गराउनुपर्ने उहाँको भनाइ थियो। उहाँले गुटगत गतिविधिले कार्यकर्तामा अपेक्षित उत्साह सिर्जना गर्न नसक्ने भन्दै संस्थागत निर्णयलाई सबैले स्वीकार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबेले जिल्लामा संगठन विस्तारको काम तीव्र गतिमा अघि बढिरहेको जानकारी दिँदै नवीकरण तथा नयाँ गरी करिब ३० हजार क्रियाशील सदस्यको अभिलेखीकरण सम्पन्न भइसकेको बताउनुभयो। उहाँले झापालाई संगठनात्मक रूपमा कांग्रेसको बलियो जिल्लाका रूपमा स्थापित गर्ने अभियान जारी रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा नेपाल महिला संघकी केन्द्रीय सदस्य मन्धरा चिमरिया पौडेलले राजनीतिक परिवर्तनको नेतृत्व गर्न महिलामा पर्याप्त क्षमता, साहस र प्रतिबद्धता रहेको बताउँदै पार्टीभित्र महिलालाई सम्मानजनक प्रतिनिधित्व र कम्तीमा ५० प्रतिशत जिम्मेवारी सुनिश्चित गर्न आग्रह गर्नुभयो। उहाँले नेतृत्व तहमा महिला सहभागिता बढे मात्रै समावेशी लोकतन्त्रको वास्तविक अभ्यास हुने धारणा राख्नुभयो।

भेलामा कांग्रेसका केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र, प्रदेशसभा क्षेत्र, गाउँपालिका, नगरपालिका, वडा तथा टोल तहसम्मका नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस झापाका सचिव नवीन विमलीले गर्नुभएको थियो।

जिल्लास्तरीय कार्यकर्ता भेलाले संगठन सुदृढीकरण, आन्तरिक एकता, युवा नेतृत्वको प्रवर्द्धन र सुशासनको एजेन्डालाई केन्द्रमा राख्दै आगामी राजनीतिक यात्राका लागि कांग्रेसलाई थप सक्रिय र संगठित बनाउने सन्देश दिएको सहभागीहरूको भनाइ छ।

सम्बन्धित खबर