झापा, बिर्तामोड/ झापाको बिर्तामोडमा बेरोजगारी न्यूनीकरण र स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले १५ दिने झोला बनाउने तालिम सम्पन्न भएको छ।
गोपाल गौरी दिगो विकास प्रतिष्ठानको आयोजनामा तथा बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको तालिमले सहभागीलाई आयआर्जनमूलक सीप प्रदान गरेको छ।
सीप सिकौं, आत्मनिर्भर बनौं भन्ने नारालाई आत्मसात गर्दै झापाको बिर्तामोडमा १५ दिने झोला बनाउने तालिम सम्पन्न गरिएको छ।
गोपाल गौरी दिगो विकास प्रतिष्ठानको आयोजनामा सञ्चालन भएको तालिममा ११ जना सहभागी रहेका थिए।
तालिमअन्तर्गत सहभागीहरूलाई तरकारी बोक्न प्रयोग हुने जोगी झोला, मोबाइल पर्स, जेब्रा झोला, लगेज ब्याग तथा विद्यालयमा प्रयोग हुने स्कुल ब्याग निर्माणसम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गरिएको आयोजकले जनाएको छ।
दिगो विकासका लागि मनस्थिति बनाएर अगाडि बढ्न सकेमा नगरपालिकाको तर्फबाट सहयोग गर्न तत्पर रहेको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा कार्यक्रमका प्रमुख अतिथि सागर मिश्रले बताउनुभयो।
तालिमको मुख्य उद्देश्य सहभागीलाई सीपयुक्त बनाउँदै स्वरोजगारको अवसर सिर्जना गर्नु रहेको बताइएको छ।
पछिल्लो समय बढ्दो बेरोजगारीका बीच यस्ता सीपमूलक कार्यक्रमले आयआर्जनका नयाँ सम्भावना खोल्ने विश्वास गरिएको छ।
आयोजकका अनुसार घरमै बसेर सानो लगानीमा व्यवसाय सञ्चालन गर्न सकिने भएकाले तालिमबाट विशेषगरी महिला तथा आर्थिक रूपमा कमजोर वर्ग लाभान्वित हुने अपेक्षा गरिएको छ।
आगामी आर्थिक वर्षका लागि थप एड्भान्स तालिमको आयोजना गरेर उद्यम विकास हुने तवरले प्रविधि हस्तान्तरणसहितका कार्यक्रमका लागि आफूले सक्ने पहल गर्ने बिर्तामोड नगरपालिका वडा नं. ५ का अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष रोहित प्रसाईँले बताउनुभयो।
तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै आत्मनिर्भर बन्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय तह र सामाजिक संस्थाको सहकार्यमा सञ्चालन भएको यो तालिमले सहभागीलाई सीपयुक्त बनाउनुका साथै स्वरोजगार सिर्जना गर्न सक्ने देखिएको छ।
यस्ता कार्यक्रमले बेरोजगारी न्यूनीकरण र आर्थिक सशक्तीकरणमा समेत महत्वपूर्ण योगदान पुर्याउने बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाले बताउनुभयो।
गोपाल गौरी दिगो विकास प्रतिष्ठानको ब्याकग्राउण्डमा इन्दिरा शर्माको योगदान महत्वपूर्ण रहेको छ।
संस्था सञ्चालनका लागि पारिवारिक वियोग भए पनि आफूलाई समाजसेवामा समर्पित गरेको गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष इन्दिरा शर्माले बताउनुभयो।
प्रतिष्ठानले झोला बनाउन सिकाउने मात्र नभई त्यसलाई व्यवसायमा रूपान्तरण गर्न सक्ने आत्मविश्वास र क्षमता विकासमा समेत जोड दिएको जनाएको छ।
बजारमा हस्तनिर्मित सामग्री तथा झोलाको माग बढ्दै गइरहेको अवस्थामा यस्ता सीपले दीर्घकालीन आर्थिक सशक्तीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ।
सीपमूलक शिक्षा र तालिमलाई आजको आवश्यकता भएको उल्लेख गर्दै रोजगार खोज्नेभन्दा रोजगार सिर्जना गर्ने जनशक्ति उत्पादनमा यस्ता कार्यक्रम प्रभावकारी हुने साथै सीपलाई सदुपयोग गर्न जरुरी रहेको बुद्धनगर टोल विकास संस्थाका अध्यक्ष युवराज प्रसाईँले बताउनुभयो।
तालिम छोटो अवधिको भए पनि प्रभावकारी रहेको बताउँदै आगामी आर्थिक वर्षमा थप बजेट व्यवस्थापन गरेर एड्भान्स तालिमको आयोजना गर्न जरुरी रहेको बिर्तामोड उद्योग वाणिज्य संघकी सदस्य सुसिला बस्नेतले सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई अनुरोध गर्नुभयो।
गोपाल गौरी दिगो विकास प्रतिष्ठान विगतदेखि नै विभिन्न सीपमूलक तथा सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको संस्था हो।
प्रतिष्ठानले विपन्न तथा आर्थिक रूपमा कमजोर समुदायलाई लक्षित गर्दै जीविकोपार्जनमुखी तालिमहरू सञ्चालन गर्दै आएको छ।
तालिमबाट धेरै कुराहरू सिकेको र यसलाई आयआर्जनमूलक रूपमा अगाडि बढाउन थप तालिमको आवश्यकता रहेको तालिममा सहभागी गीता कोइरालाले बताउनुभयो।
बुद्धनगर टोल विकास संस्थाको सभाहलमा १५ दिनसम्म प्रशिक्षक उमा शिवाकोटीको प्रशिक्षणमा आयोजना भएको तालिम बिर्तामोड नगरपालिका वडा नं. ५ का अध्यक्ष रोहित प्रसाईँको अध्यक्षता तथा बिर्तामोड नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रको प्रमुख आतिथ्यतामा समापन भएको थियो।
संस्थाकी झापा कार्यसमिति सदस्य कमला कट्टेलले स्वागत गर्नुभएको कार्यक्रममा सामाजिक अभियन्ता, सरोकारवाला तथा सहभागीहरूको उपस्थिति रहेको थियो।








