शनिवार, असार ६, २०८३
Sancharmanch

कृषि विविधीकरणमा बिर्तामोडको पहल : कृषकलाई २ हजार ६ सय बिरुवा वितरण

Posted by:
शनिवार, असार ६, २०८३
बिर्तामोड, झापा / कृषि उत्पादन वृद्धि, आयआर्जनका नयाँ अवसर सिर्जना तथा दीर्घकालीन कृषि विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले बिर्तामोड नगरपालिकाले स्थानीय कृषकलाई नरिवल र सजिवनका बिरुवा वितरण गरेको छ । नगरपालिकाले कृषकको माग र स्थानीय आवश्यकता अनुसार ५० प्रतिशत अनुदानमा कुल २ हजार ६ सय वटा बिरुवा वितरण गर्दै कृषिमैत्री कार्यक्रमलाई निरन्तरता दिएको हो । नगरपालिकाले शनिबार आयोजना गरेको संक्षिप्त कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला ले कृषकहरूलाई सिंगापुरे र हजारी जातका १ हजार ३ सय वटा नरिवलका बिरुवा तथा १ हजार ३ सय वटा सजिवनका बिरुवा हस्तान्तरण गर्नुभएको थियो । बढ्दो सहरीकरणका बीच कृषि योग्य जमिनको संरक्षण गर्दै उत्पादनमूलक खेतीतर्फ कृषकलाई आकर्षित गर्ने लक्ष्यसहित नगरपालिकाले पछिल्ला वर्षहरूमा विभिन्न कृषि प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही अभियानअन्तर्गत वितरण गरिएका नरिवल र सजिवनका बिरुवाले भविष्यमा कृषकको आम्दानी बढाउनुका साथै वातावरण संरक्षणमा समेत सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ । नरिवललाई व्यावसायिक तथा बहुउपयोगी बालीका रूपमा लिइन्छ । यसको फल, तेल तथा अन्य उत्पादनको बजार माग निरन्तर बढिरहेको छ । त्यसैगरी सजिवनलाई पौष्टिक तथा औषधीय गुणले भरिपूर्ण वनस्पतिको रूपमा चिनिन्छ। सजिवनको पात, फल र बीउ स्वास्थ्यका दृष्टिले लाभदायक मानिने भएकाले पछिल्लो समय यसको व्यावसायिक खेतीप्रति कृषकहरूको आकर्षण बढ्दै गएको छ। कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईले कृषि क्षेत्रलाई नगरको आर्थिक समृद्धिको आधारका रूपमा विकास गर्न स्थानीय सरकारले विभिन्न योजनामार्फत कृषकलाई सहयोग गर्दै आएको बताउनुभयो । उहाँले उत्पादनमूलक खेती विस्तार, आधुनिक कृषि प्रविधिको प्रयोग तथा कृषकको आयस्तर वृद्धि नगरपालिकाको प्राथमिकतामा रहेको उल्लेख गर्दै कृषकलाई पनि अपनत्व बोध गराउन लागत साझेदारी कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले कृषि क्षेत्रमा युवाको सहभागिता बढाउन र कृषिलाई व्यवसायिक तथा सम्मानित पेशाका रूपमा स्थापित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले वितरण गरिएका बिरुवाको संरक्षण र उचित व्यवस्थापन गरी दीर्घकालीन लाभ लिन कृषकलाई आग्रह समेत गर्नुभयो । नगरपालिकाका अनुसार कृषकहरूबाट प्राप्त मागका आधारमा ५० प्रतिशत अनुदानमा बिरुवा उपलब्ध गराइएको हो । अनुदान कार्यक्रमले कृषकको उत्पादन लागत घटाउनुका साथै नयाँ बाली विस्तारमा उत्साह थप्ने विश्वासकासाथ कार्यक्रम सञ्चालन गरिएको आर्थिक बिकास समितिका संयोजक संगिता शीवाले बताउनुभयो । बिरुवा वितरण कार्यक्रममा कार्यपालिका सदस्य संगिता सिवा, सीता ढुंगाना विश्वकर्मा लगायत जनप्रतिनिधि, कर्मचारी तथा कृषकहरूको सहभागिता रहेको थियो । सहभागी कृषकहरूले स्थानीय सरकारबाट प्राप्त सहयोगले कृषि विस्तारका योजनालाई थप सहज बनाउने प्रतिक्रिया दिएका थिए । स्थानीय तहले सञ्चालन गरिरहेका यस्ता कृषि प्रवद्र्धन कार्यक्रमले कृषकलाई आत्मनिर्भर बनाउनुका साथै नगरको कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र आर्थिक सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। कृषिलाई आधुनिकीकरण र व्यवसायीकरणतर्फ उन्मुख गराउने बिर्तामोड नगरपालिकाको यो पहललाई कृषकहरूले सकारात्मक रूपमा लिएका छन् ।
सम्बन्धित खबर