शुक्रवार, असार ५, २०८३
Sancharmanch

शक्तिशाली इन्जिन र आधुनिक प्रविधिसहित टिभिएसको ‘एनटर्क एक्सपी १२५’ विर्तामोडमा सार्वजनिक

Posted by:
शुक्रवार, असार ५, २०८३
झापा, विर्तामोड / दुईपाङ्ग्रे सवारीसाधन क्षेत्रमा विश्वसनीय ब्राण्डका रूपमा स्थापित टिभिएसले आफ्नो नयाँ तथा शक्तिशाली स्कुटर ‘एनटर्क एक्सपी १२५’ झापाको विर्तामोडमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । युवा पुस्ताको रोजाइ, उत्कृष्ट पर्फमेन्स र आधुनिक प्रविधिलाई केन्द्रमा राखेर निर्माण गरिएको उक्त स्कुटर शुक्रबार पाथिभरा अटो लिंक विर्तामोडले एक विशेष समारोहका बीच बजारमा ल्याएको हो । विर्तामोडस्थित टिभिएस शोरुममा आयोजित कार्यक्रम पाथिभरा अटो लिंककी प्रवन्ध निर्देशक लुना बस्नेत शिवाकोटी को अध्यक्षतामा सम्पन्न भएको थियो भने टिभिएसका नेशनल सेल्स हेड हरि न्यौपाने प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा टिभिएसका विभिन्न तहका अधिकारी, स्थानीय ग्यारेज व्यवसायी, प्राविधिक तथा अटोमोबाइल क्षेत्रसँग आबद्ध व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा पाथिभरा अटो लिंकका सञ्चालक सजेश शिवाकोटी, टिभिएसका नेशनल म्यानेजर अमृतकुमार चौहान, अफिसर सुरेश कुमार महतो, इन्जिनियर सन्तोष ढकाल, स्थानीय ग्यारेजका प्रमुख तथा प्रतिनिधिहरू, दीपेश बस्नेत लगायतको सहभागिता रहेको थियो । सहभागीहरूले नयाँ स्कुटरको विशेषता, यसको प्राविधिक क्षमता तथा नेपाली बजारमा यसको सम्भावनाबारे चासोपूर्वक जानकारी लिएका थिए । कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको एनटर्क एक्सपी १२५ स्कुटरलाई अध्यक्ष लुना बस्नेत शिवाकोटी र प्रमुख अतिथि हरि न्यौपानेले संयुक्त रूपमा आवरण हटाई सार्वजनिक गर्नुभएको थियो । स्कुटर सार्वजनिक भएसँगै उपस्थित सहभागीहरूले यसको डिजाइन, प्रविधि र कार्यसम्पादन क्षमताको अवलोकन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि हरि न्यौपाने ले नेपाली उपभोक्ताको बदलिँदो आवश्यकता र अपेक्षालाई ध्यानमा राखेर टिभिएसले निरन्तर नयाँ प्रविधियुक्त सवारीसाधन बजारमा ल्याउँदै आएको बताउनुभयो । उहाँले युवापुस्ताले आकर्षक डिजाइनसँगै उत्कृष्ट पिकअप, शक्तिशाली इन्जिन र आधुनिक फिचर खोज्ने भएकाले एनटर्क एक्सपी १२५ त्यही आवश्यकतालाई सम्बोधन गर्ने गरी निर्माण गरिएको उल्लेख गर्नुभयो । उहाँका अनुसार एनटर्क सिरिजले नेपालमा छोटो समयमै लोकप्रियता हासिल गरिसकेको छ भने नयाँ एक्सपी संस्करणले स्कुटरप्रेमीहरूलाई अझ उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ । उच्च क्षमताको इन्जिन, स्पोर्टी लुक्स, स्मार्ट प्रविधि र आरामदायी यात्राको संयोजनका कारण यो स्कुटर विशेषगरी युवा वर्गको पहिलो रोजाइ बन्न सक्ने अपेक्षा गरिएको छ । कार्यक्रमकी अध्यक्ष तथा पाथिभरा अटो लिंककी प्रवन्ध निर्देशक लुना बस्नेत शिवाकोटी ले ग्राहकको आवश्यकता र बजारको मागलाई ध्यानमा राखेर नयाँ मोडल विर्तामोडमा ल्याइएको बताउनुभयो । उहाँले टिभिएसले गुणस्तरीय उत्पादनसँगै उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै ग्राहकको विश्वास नै कम्पनीको सबैभन्दा ठूलो पूँजी भएको धारणा व्यक्त गर्नुभयो । उहाँले झापा तथा आसपासका जिल्लामा टिभिएसका सवारीसाधनप्रति उपभोक्ताको आकर्षण निरन्तर बढिरहेको बताउँदै नयाँ स्कुटरले बजारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । “ग्राहकले खोजेजस्तो शक्ति, प्रविधि र स्टाइललाई एकैसाथ समेटेर यो स्कुटर ल्याइएको छ,” उहाँले भन्नुभयो, “यसले दैनिक प्रयोगकर्तादेखि युवा पुस्तासम्मलाई आकर्षित गर्नेछ ।” कार्यक्रममा उपस्थित प्राविधिक विज्ञ तथा अटोमोबाइल क्षेत्रका जानकारहरूले पनि स्कुटरको प्राविधिक पक्षबारे जानकारी गराएका थिए । उनीहरूका अनुसार एनटर्क एक्सपी १२५ मा प्रयोग गरिएको इन्जिन प्रविधिले उत्कृष्ट पावर र माइलेजबीच सन्तुलन कायम गर्ने क्षमता राख्छ । साथै यसको आधुनिक डिजाइन, सहज नियन्त्रण प्रणाली तथा सुरक्षा सुविधाले यसलाई आफ्नो वर्गको प्रतिस्पर्धी स्कुटरका बीच फरक पहिचान दिलाउने अपेक्षा गरिएको छ । अटोमोबाइल बजारमा पछिल्लो समय स्कुटरको माग उल्लेखनीय रूपमा बढिरहेको अवस्थामा टिभिएसले ल्याएको यो नयाँ मोडलले बजारमा नयाँ प्रतिस्पर्धा सिर्जना गर्ने अनुमान गरिएको छ । विशेषगरी सुविधा, शैली र शक्तिको संयोजन खोज्ने ग्राहकका लागि एनटर्क एक्सपी १२५ आकर्षक विकल्प बन्न सक्ने व्यवसायीहरूको विश्वास छ । कार्यक्रमको अन्त्यमा सहभागीहरूले नयाँ स्कुटरको अवलोकन गर्नुका साथै यसको विशेषता र प्रयोगसम्बन्धी जानकारी लिएका थिए । पाथिभरा अटो लिंक विर्तामोडले नयाँ मोडलको उपलब्धतासँगै ग्राहकलाई सहज वित्तीय सुविधा, बिक्रीपछिको सेवा तथा आवश्यक प्राविधिक सहयोग प्रदान गर्ने जनाएको छ । टिभिएसको नवीनतम प्रविधि र आधुनिक सोचको प्रतिफलका रूपमा सार्वजनिक गरिएको एनटर्क एक्सपी १२५ ले नेपाली स्कुटर बजारमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ । शक्तिशाली इन्जिन, आकर्षक डिजाइन र आधुनिक सुविधाको समिश्रण रहेको यो स्कुटरले विशेषगरी युवा पुस्तामाझ नयाँ उत्साह सिर्जना गर्ने विश्वास गरिएको छ ।
सम्बन्धित खबर