बुधवार, असार ३, २०८३
Sancharmanch

सुपारीका बिरुवा वितरण : हराभरा वडा निर्माण अभियानलाई प्राथमिकता

Posted by:
बुधवार, असार ३, २०८३
शिवसताक्षी, असार २ / झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ ले वडालाई हराभरा र कृषिमैत्री बनाउने उद्देश्यले सुपारीका बिरुवा वितरण कार्यक्रम सम्पन्न गरेको छ । वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा वडाभित्रका २४ जना कृषक तथा स्थानीयवासीलाई सुपारीका बिरुवा वितरण गरिएको हो । वडा कार्यालयले सञ्चालन गर्न लागेको “वडा सुपारीको बोटले हराभरा” भन्ने प्रस्तावित प्याकेज कार्यक्रम अन्तर्गत कृषकलाई सुपारी खेतीतर्फ आकर्षित गर्दै आयआर्जन वृद्धि र वातावरण संरक्षणमा टेवा पुर्याउने लक्ष्यका साथ रु ५० हजार रकम वडा कार्यालयले विनियोजन गरेर बिरुवा वितरण गरिएको वडा कार्यालयले जनाएको छ । कार्यक्रममा बोल्दै वडा अध्यक्ष मनोज खुलाल कार्की ले सुपारी खेती शिवसताक्षी क्षेत्रको पहिचानसँग जोडिएको बाली भएकाले यसको संरक्षण र विस्तार आवश्यक रहेको बताउनुभयो । उहाँले वडालाई हरियालीयुक्त बनाउने अभियानसँगै कृषकको आर्थिक अवस्था सुदृढ बनाउन सुपारी खेती प्रभावकारी माध्यम बन्न सक्ने उल्लेख गर्नुभयो । सुपारी हाम्रो क्षेत्रको सम्भावना बोकेको नगदे बाली हो । प्रत्येक घर र खाली जग्गामा सुपारी रोप्ने अभियानमार्फत वडालाई हराभरा बनाउनुका साथै कृषकको आम्दानी वृद्धि गर्ने लक्ष्य वडा कालाईलयले लिएको छ । वितरण गरिएका बिरुवाको उचित संरक्षण र व्यवस्थापन गर्न समेत कृषकलाई आग्रह गर्दै कार्यक्रमलाई निरन्तरता दिइने वडा सदस्य गोमा रिजालले बताउनुभयो । वडा सचिव शान्तिराम रिमाल ले स्थानीय सरकारको कृषि प्रवद्र्धन कार्यक्रम अन्तर्गत सुपारीका बिरुवा वितरण गरिएको जानकारी दिनुभयो । उहाँले कृषि उत्पादनमा आत्मनिर्भरता र वातावरणीय सन्तुलन कायम गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । बिरुवा वितरण मात्रै नभई यसको संरक्षण र उत्पादनसँग जोड्ने योजनामा वडा कार्यालय प्रतिबद्ध रहेको बताईएकोछ । आगामी दिनमा पनि कृषकको आवश्यकता अनुसार विभिन्न कृषि प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने स्थानिय ज्ञानबहादुर भण्डारीले बताउनुभयो । कार्यक्रममा सहभागी कृषक पार्वती भण्डारी ले वडा कार्यालयले उपलब्ध गराएको सुपारीको बिरुवाले कृषकलाई उत्साहित बनाएको बताउनुभयो । उहाँले सुपारी खेती दीर्घकालीन रूपमा लाभदायी हुने भएकाले यस्ता कार्यक्रमले कृषकलाई थप हौसला मिल्ने धारणा राख्नुभयो । कार्यक्रममा वडाभित्रका कृषक, जनप्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो । वडा कार्यालयले वितरण गरिएका बिरुवाको नियमित अनुगमन तथा प्राविधिक सहयोगसमेत उपलब्ध गराउने जनाएको छ । यस कार्यक्रमले कृषि उत्पादन वृद्धि, वातावरण संरक्षण तथा वडाको हरियाली प्रवद्र्धनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।
सम्बन्धित खबर