मङ्गलवार, जेठ २६, २०८३
Sancharmanch

डिल्लीराम पोखरेल स्मृति प्रतिष्ठानद्वारा विद्यार्थीलाई स्कुल ब्याग वितरण

Posted by:
मङ्गलवार, जेठ २६, २०८३

कालीस्थान, २६ जेठ । डिल्लीराम पोखरेल स्मृति प्रतिष्ठान, झापाले अर्जुनधारा नगरपालिका–९ स्थित कालीस्थान माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरेको छ।

विद्यालयमा आयोजित एक कार्यक्रमका बीच बालकक्षादेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरिएको हो। प्रतिष्ठानका अध्यक्ष लक्ष्मीप्रसाद पोखरेलको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिष्म मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो।

प्रतिष्ठानका अध्यक्ष लक्ष्मीप्रसाद पोखरेल, सदस्य जयधर्म पोखरेल, कालिका संस्कृत विद्यापीठका प्राचार्य आचार्य रघुनाथ रिजाल, विद्यालय व्यवस्थापन समिति एवं वडा नं–९ का अध्यक्ष भिष्म मिश्र तथा विद्यालयका प्रधानाध्यापक इन्द्र उप्रेतीले संयुक्त रूपमा विद्यार्थीहरूलाई झोला वितरण गर्नुभएको थियो।

झोला प्राप्त गरेपछि विद्यार्थीहरूले खुसी व्यक्त गर्दै प्रतिष्ठानप्रति आभार प्रकट गरेका थिए। कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक कुमार मिश्रले गर्नुभएको थियो।

कार्यक्रममा प्रतिष्ठानको परिचय दिँदै सदस्य जयधर्म पोखरेलले कालीस्थान माध्यमिक विद्यालयको कक्षा ३ मा अध्ययनरत रहँदाको अवस्थामा २०३३ सालमा डिल्लीराम पोखरेलको असामयिक निधन भएको स्मरण गर्नुभयो। उहाँको सम्झनामा उहाँका दाजुभाइहरू लक्ष्मीप्रसाद पोखरेल, प्रेमनारायण पोखरेल र जयधर्म पोखरेलले प्रतिष्ठान स्थापना गरी शैक्षिक तथा सामाजिक क्षेत्रमा सहयोगात्मक गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।

प्रतिष्ठानले कालीस्थान माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको हितका लागि १ लाख ११ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको जनाएको छ। उक्त कोषबाट प्राप्त हुने ब्याज रकम विद्यार्थीहरूको अध्ययन, प्रोत्साहन तथा शैक्षिक विकासका कार्यक्रमहरूमा खर्च गरिने प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानले विगतदेखि नै विद्यालयका विद्यार्थीहरूको शैक्षिक उन्नयनमा सहयोग पुर्‍याउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
सम्बन्धित खबर