सोमवार, जेठ २५, २०८३
Sancharmanch

लैङ्गिक हिंसा न्यूनीकरणका लागि समुदायस्तरमा संवाद, मेचीनगरमा अन्तरक्रिया सम्पन्न

Posted by:
सोमवार, जेठ २५, २०८३

मेचीनगर, झापा / लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि समुदायस्तरमा सचेतना र समन्वय अभिवृद्धि गर्ने उद्देश्यले मेचीनगर नगरपालिकाले समुदायमा आधारित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच (आईजीबीभीआरएन) परियोजना अन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रम सुरक्षित स्थानमार्फत प्रदान गरिने सेवा, सहयोग तथा संरक्षणका विषयमा केन्द्रित रहेको थियो। कार्यक्रममा मेचीनगर नगरपालिका भित्र स्थापना भएका विभिन्न प्रहरी बिटका प्रमुख तथा प्रतिनिधि, पुरुष सञ्जालका अध्यक्ष एवं प्रतिनिधिहरू लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो।

सोमबार आयोजित कार्यक्रममा मेचीनगर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष गिरिराज धमला प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उहाँले समुदायमा हुने लैङ्गिक हिंसा न्यूनीकरणका लागि स्थानीय तह, सुरक्षा निकाय तथा समुदायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो।

मेचीनगर नगरपालिकाको महिला, बालबालिका तथा समाजकल्याण शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा शाखा प्रमुख जयन्ती खरेल, आईजीबीभीआरएन परियोजनाकी लैङ्गिक हिंसा प्रतिकार्य विज्ञ कमला उप्रेती, केस म्यानेजर अरुणा चौधरी लगायत कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सुरक्षित स्थानमार्फत उपलब्ध गराइने सेवा, लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिहरूलाई प्रदान गरिने सहयोग, कानुनी संरक्षण तथा पुनःस्थापनासम्बन्धी विषयमा जानकारी आदानप्रदान गरिएको थियो। सहभागीहरूले समुदायस्तरमा लैङ्गिक हिंसा न्यूनीकरणका लागि संयुक्त प्रयास, सचेतना अभिवृद्धि र प्रभावकारी सेवा प्रवाहको आवश्यकता औँल्याएका थिए।

समुदाय र सरोकारवाला निकायबीचको समन्वयलाई सुदृढ बनाउँदै लैङ्गिक हिंसामुक्त समाज निर्माणमा टेवा पुर्‍याउने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रम फलदायी भएको आयोजकले जनाएको छ।

सम्बन्धित खबर