बिर्तामोड, २५ जेठ / कृषकहरूको उत्पादन लागत घटाई कृषि कार्यलाई थप सहज, प्रभावकारी र आधुनिक बनाउने उद्देश्यले बिर्तामोड नगरपालिकाले अनुदानमा विभिन्न कृषि औजार वितरण गरेको छ। नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाई, नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला तथा कार्यपालिका सदस्य एवं आर्थिक विकास समिति संयोजक संगिता सिवा ले संयुक्त रूपमा कृषकहरूलाई सामग्री हस्तान्तरण गर्नुभएको हो।

कृषि विकास शाखाका अनुसार यस वर्ष कृषकहरूलाई २६ थान मकै छोडाउने मेसिन, १४२ थान स्प्रे ट्याङ्की, ५९ थान ड्याङ लगाउने हलो, २० थान झार गोड्ने काँटा तथा ३० थान हर्वना वितरण गरिएको छ। नगरपालिकाले मकै छोडाउने मेसिनमा ७० प्रतिशत अनुदान उपलब्ध गराएको छ भने अन्य कृषि औजारहरूमा ५० प्रतिशत अनुदान प्रदान गरिएको जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले कृषकहरूको श्रम, समय र उत्पादन लागत कम गर्न नगरपालिकाले हरेक वर्ष कृषि सामग्री वितरण कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। कृषि क्षेत्रलाई व्यावसायिक र प्रविधिमैत्री बनाउने नगरपालिकाको लक्ष्य रहेको उल्लेख गर्दै उहाँले प्राप्त सामग्रीहरूको अधिकतम सदुपयोग गर्न कृषकहरूलाई आग्रह गर्नुभयो।

नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले कृषक लक्षित कार्यक्रमहरूलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले कृषकहरूको आवश्यकता र मागलाई मध्यनजर गर्दै कृषि विकास शाखा तथा पशुपन्छी र मत्स्य विकास शाखामार्फत विभिन्न प्रकारका अनुदान, प्रविधि र सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो।

नगरपालिकाले सञ्चालन गरेको यस्तो कार्यक्रमले कृषिमा यान्त्रिकीकरण प्रवर्द्धन गर्नुका साथै कृषकहरूको उत्पादन क्षमता वृद्धि, श्रमको बचत र कृषि पेशाप्रति आकर्षण बढाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।










