बिर्तामोड, २४ जेठ । बिर्तामोड नगरपालिकाले आधारभूत शिक्षा परीक्षा (कक्षा ८) मा उत्कृष्ट सिकाइ उपलब्धि हासिल गराउन सफल दुई जना गणित शिक्षकलाई प्रशंसा पत्रसहित सम्मान गरेको छ।

नगरपालिकाद्वारा सञ्चालित शैक्षिक सत्र २०८२ को आधारभूत शिक्षा परीक्षामा उत्कृष्ट औसत सिकाइ उपलब्धि हासिल गराउन योगदान पुर्याएका शिक्षकहरूलाई सम्मान गरिएको हो। सम्मानित हुनेहरूमा सामुदायिक विद्यालयतर्फ वडा नं. २ स्थित साङ्गवेद संस्कृत माध्यमिक विद्यालय का गणित शिक्षक चुडामणी पौडेल तथा संस्थागत विद्यालयतर्फ वडा नं. ७ स्थित कञ्चन अंग्रेजी बोर्डिङ स्कूल का गणित शिक्षक सागर कोईराला रहनुभएको छ।

शिक्षा शाखा प्रमुख उपसचिव तिलचन भण्डारी का अनुसार कक्षा ८ को परीक्षामा साङ्गवेद संस्कृत माध्यमिक विद्यालयले औसत स्तरीकृत अंक ३.२५ तथा कञ्चन अंग्रेजी बोर्डिङ स्कूलले ३.६२ प्राप्त गरेका थिए। उक्त उपलब्धिका आधारमा दुवै शिक्षकलाई सम्मान गरिएको हो।
नगरपालिकाले आयोजना गरेको ‘शैक्षिक सत्र २०८३ को कार्ययोजना तथा प्रतिबद्धता हस्ताक्षर’ कार्यक्रमका अवसरमा सम्मान समारोह सम्पन्न भएको थियो। कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाई, नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला तथा शिक्षा शाखा प्रमुख उपसचिव तिलचन भण्डारीले दोसल्ला ओढाई प्रशंसा पत्र प्रदान गर्दै सम्मान गर्नुभएको थियो।
नगरपालिकाले उत्कृष्ट शैक्षिक नतिजा हासिल गराउने शिक्षकहरूको योगदानको कदर गर्दै सम्मान कार्यक्रम आयोजना गरेको जनाएको छ। यसले शिक्षकहरूलाई थप प्रेरित गर्नुका साथै विद्यालयमा गुणस्तरीय शिक्षाको वातावरण निर्माण गर्न सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।










