झापा, मेचिनगर / अटिजम भएका बालबालिकाको हेरचाह, संरक्षण तथा समुचित विकासमा अभिभावकको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले झापाको मेचिनगर नगरपालिकामा तीनदिने अभिभावक तालिम सुरु भएको छ ।

महिला, बालबालिका तथा समाजकल्याण शाखाको आयोजनामा सञ्चालन भएको तालिममा अटिजम भएका बालबालिकाका अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि साथै मेचिनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले अटिजम भएका बालबालिका र उनीहरूका अभिभावकलाई आवश्यक सहयोग उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले समावेशी समाज निर्माणका लागि विशेष आवश्यकता भएका बालबालिकाको अधिकार, शिक्षा र विकासलाई प्राथमिकतामा राखेर भवन समेत निर्माण गर्दै फरक कार्यक्रम र योजनाकासाथ कार्यक्रम सञ्चालनको तयारीमा नगरपालिका जुटेको बताउनुभयोे ।

जेठ २४ गतेदेखि सुरु भएको तालिम २६ गतेसम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ । अटिजम भएका बालबालिकाको व्यवहार, सिकाइ प्रक्रिया, दैनिक जीवन व्यवस्थापन तथा उनीहरूको विशेष आवश्यकतालाई बुझेर घरमै प्रभावकारी रूपमा हेरचाह गर्न सकियोस् भन्ने उद्देश्यका साथ तालिम आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै कार्यक्रमकी अध्यक्ष साथै नगर उपप्रमुख मिना पोख्रेल उप्रेतीले अटिजमलाई रोगको रूपमा नभई विशेष अवस्थाका रूपमा बुझ्नुपर्नेमा जोड दिनुभएको थियो ।

उहाँले अटिजम भएका बालबालिकाहरुका लागि थेरापी सेन्टर स्थापना सँगसँगै बालबालिकालाई माया, धैर्यता, उचित मार्गदर्शन र अनुकूल वातावरण प्रदान गर्न मन्त्रालय लेवल सम्म सहयोगका लागि पहल गरेको बताउनुभयो ।

पछिल्लो समय अटिजम सम्बन्धी जनचेतना बढ्दै गए पनि अभिभावकहरूले व्यवहारिक रूपमा सामना गर्नुपर्ने चुनौतीहरू अझै पनि जटिल रहने गरेका छन् ।

यस्ता बालबालिकाको विकास, आत्मनिर्भरता तथा सामाजिक घुलमिलका लागि परिवारको भूमिका महत्वपूर्ण हुने भएकाले अभिभावकलाई आवश्यक ज्ञान, सीप र मनोबल प्रदान गर्न तालिम उपयोगी हुने मेचिनगर नगरपालिका वडा नं. ७ का अध्यक्ष प्रल्हादमणि ओलीले बिश्वास ब्यक्त गर्नुभयो ।

तालिममा मेचिनगर नगरपालिका क्षेत्रभित्र रहेका अटिजम भएका बालबालिकाका अभिभावकहरूको सहभागिता रहेको छ । सहभागीहरूले आफ्ना अनुभव आदानप्रदान गर्नुका साथै बालबालिकाको हेरचाहका क्रममा भोग्नुपरेका चुनौती र समाधानका उपायबारे छलफल गर्ने अवसर समेत पाएका छन् ।

कार्यक्रमको समन्वय महिला, बालबालिका तथा समाजकल्याण शाखा प्रमुख जयन्ती खरेलले गर्नुभएको थियो । नगर उपप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा मेचिनगर नगरपालिकाका प्रमुख गोपालकुमार बुढाथोकी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।

अटिजम हुनु दोश नभएको बताउँदै मेचिनगर अपाङ्गता समन्वय समितिका सदस्य कृष्ण पुरीले शिक्षा र हेरचाहका लागि मेचिनगर नगरपालिकाले छुट्टै बिद्यालय स्थापनाका लागि पहल गरेको बताउनुभयो ।

तालिमको सहजीकरण अटिजम तथा विशेष आवश्यकता भएका बालबालिकासम्बन्धी अनुभव प्राप्त प्रशिक्षक प्रिषिमा थापा आशिदाले गरिरहनुभएको छ । उहाँले अटिजम भएका बालबालिकाको व्यवहार व्यवस्थापन, सञ्चार सीप विकास, दैनिक क्रियाकलापमा अभ्यस्त गराउने उपाय, भावनात्मक सहयोग तथा समावेशी वातावरण निर्माणका विषयमा सहभागी अभिभावकलाई प्रशिक्षण दिनुहुनेछ । बिरामीहरुको पहिचान ढिलो हुने कुरा औल्याउँदै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुले यसका काम गर्नेगरीको कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रशिक्षक प्रिषिमा थापा आशिदाले बताउनुभयो ।

विशेष आवश्यकता भएका बालबालिकाको हेरचाह केवल परिवारको जिम्मेवारी मात्र नभई समाज र राज्यको समेत साझा दायित्व भएको उल्लेख गर्दै प्रशिक्षक ले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिदै बच्चाहरुको बृद्धि विकास ढिलो भएको बिश्वास बढेका कारण ढिलागरी अटिजम पहिचान हुनेगरेको प्रशिक्षक प्रिषिमा थापा आशिदाले बताउनुभयो ।

कार्यक्रममा मेचिनगर नगरपालिका वडा नं. ७ का अध्यक्ष प्रल्हादमणि ओली, मेचिनगर अपाङ्गता समन्वय समितिका सदस्य कृष्ण पुरी, सीबीआरएफ सहजकर्ता शिक्षा खड्का, डीएसएफका रजनीश भण्डारीलगायतको उपस्थिति रहेको थियो । सहभागीहरूले यस्ता तालिमले अभिभावकलाई आत्मविश्वासी बनाउन तथा बालबालिकाको समग्र विकासमा सकारात्मक प्रभाव पार्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

मेचिनगर नगरपालिकाले सञ्चालन गरेको यो तीनदिने तालिम अटिजम भएका बालबालिकाका अभिभावकलाई व्यवहारिक ज्ञान र सीप प्रदान गर्ने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ ।

यसले अभिभावकलाई आफ्नो बालबालिकाको आवश्यकता अझ राम्रोसँग बुझ्न सहयोग गर्नुका साथै समावेशी र संवेदनशील समाज निर्माणमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।