झापा, बिर्तामोड / झापाको बिर्तामोडमा तीन महिने बेसिक व्युटिसियन तालिम शुरु गरिएको छ । बिर्तामोड उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यमी समूहको आयोजनामा सञ्चालन गरिएको तालिममा २० जना विद्यार्थी सहभागी भएका छन् ।

एटुजेट ब्राइडल थ्री डी मेकअप स्टुडियो एकाडेमीको प्राविधिक सहयोगमा शुक्रबारदेखि तालिम औपचारिक रूपमा शुरु गरिएको हो । आयोजकका अनुसार तालिमको मुख्य उद्देश्य महिलालाई व्यावहारिक सीप प्रदान गर्दै आर्थिक रूपमा आत्मनिर्भर बन्न प्रेरित गर्नु हो । पछिल्लो समय बढ्दो बेरोजगारीका बीच यस्ता सीपमूलक तालिमले महिलालाई स्वरोजगार तथा उद्यमशीलताको बाटोमा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

तालिम उद्घाटन गर्दै महिला उद्यमी समूहकी अध्यक्ष राधिका चुडाल हुँमागाईंले महिलाले आर्थिक रूपमा सक्षम बन्न सीप र आत्मविश्वास दुवै आवश्यक रहेको बताउनुभयो । उहाँले व्युटिसियन पेशा अहिले सम्मानित तथा सम्भावनायुक्त व्यवसायका रूपमा विकसित हुँदै गएको उल्लेख गर्दै तालिमपछि सहभागीहरूले आफ्नै व्यवसाय सञ्चालन गर्न सक्ने वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो ।

तालिममा सहभागी अधिकांश विद्यार्थीहरूले भविष्यमा आफ्नै ब्युटी पार्लर सञ्चालन गर्ने लक्ष्यका साथ प्रशिक्षणमा सहभागी भएको बताएका छन् । केही सहभागीले अध्ययनसँगै अतिरिक्त सीप हासिल गरेर आर्थिक रूपमा सक्षम बन्न चाहेको प्रतिक्रिया दिएका छन् । तीन महिनासम्म सञ्चालन हुने तालिममा फेसियल, हेयर कट, मेकअप, स्किन केयर लगायत व्युटिसियनसम्बन्धी आधारभूत विषयमा प्रशिक्षण दिइने जनाइएको छ । सहभागीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्यासमा पनि जोड दिइने आयोजकले जनाएको छ ।

तालिमको सहजीकरण एटुजेट ब्राइडल थ्री डी मेकअप स्टुडियो एकाडेमीकी सञ्चालक सन्तोषी सिंह अधिकारीले गर्ने बताइएको छ । उहाँले व्युटिसियन क्षेत्रमा व्यावसायिक दक्षता र व्यवहारिक अनुभव दुवै आवश्यक हुने बताउँदै सहभागीलाई बजारको मागअनुसार दक्ष बनाउन प्रयास गरिने जानकारी दिनुभयो ।

स्थानीय तह, निजी क्षेत्र तथा सामाजिक संस्थाको सहकार्यमा सञ्चालन हुने यस्ता तालिमले महिलालाई आर्थिक तथा सामाजिक रूपमा सशक्त बनाउने विश्वास गरिएको छ । विशेषगरी ग्रामीण तथा मध्यमवर्गीय महिलाका लागि यस्ता कार्यक्रम आयआर्जनको महत्वपूर्ण अवसर बन्ने अपेक्षा गरिएको छ । बिर्तामोडमा शुरु भएको बेसिक व्युटिसियन तालिमले महिलालाई आत्मनिर्भर, सक्षम र उद्यमशील बनाउने दिशामा सकारात्मक पहलका रूपमा हेरिएको छ ।

यस्तो कार्यक्रमले महिलामा आत्मविश्वास वृद्धि गर्नुका साथै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । उद्घाटन समारोहलाई स्वागत गर्दै एटुजेट ब्राइडल थ्री डी मेकअप स्टुडियो एकाडेमीका सञ्चालक विकास अधिकारीले महिलाहरुको क्षमता अभिबृद्धि गर्ने गराउने उध्येश्य अनुसार तालिमको आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघकी सहकोषाध्यक्ष तथा महिला उद्यमी समूहकी पूर्वअध्यक्ष तीलोत्तमा खत्री, संघ सदस्य शुस्मा उप्रेती, सुशीला कार्कीलगायतको उपस्थिति रहेको थियो ।

उपस्थित वक्ताहरूले महिलालाई सीपमूलक तालिममार्फत स्वरोजगार बनाउनु आजको आवश्यकता भएको प्रतिकृया दिनुभएको छ । तालिमको उध्घाटन शत्र कार्यक्रम महिला उद्यमी समूहकी कोषाध्यक्ष गोमा दंगालले सञ्चालन गर्नुभएको थियो ।