बिहिवार, जेठ ७, २०८३
Sancharmanch

भद्रपुरमा मासु पसल अनुगमन, अधिकांश व्यवसायीमा सुधार देखियो

Posted by:
बिहिवार, जेठ ७, २०८३
झापा, भद्रपुर । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुर झापाले भद्रपुर नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका मासु पसलहरूको अनुगमन गरेको छ । उपभोक्तालाई स्वच्छ तथा गुणस्तरीय खाद्य सामग्री उपलब्ध गराउने उद्देश्यले बुधबार बजार अनुगमन कार्यक्रम सञ्चालन गरिएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुर झापाका कार्यालय प्रमुख शीतल भट्टराईको नेतृत्वमा सम्पन्न अनुगमनमा विभिन्न सरकारी निकायका प्रतिनिधि तथा प्राविधिकहरूको सहभागिता रहेको थियो । नियमित बजार अनुगमनमार्फत खाद्य सुरक्षासम्बन्धी मापदण्डको पालना भए–नभएको अवस्थाबारे निरीक्षण गरिएको जनाइएको छ । अनुगमन टोलीका अनुसार गत वर्ष गरिएको निरीक्षणको तुलनामा यस वर्ष अधिकांश मासु पसलहरूमा सुधारका संकेत देखिएका छन् । विगतमा दिइएका सुझाव तथा निर्देशनलाई व्यवसायीहरूले कार्यान्वयन गर्न थालेको पाइएको अनुगमन टोलीले जनाएको छ । विशेषगरी सरसफाइ, मासु भण्डारण, बिक्री वितरण र वातावरण व्यवस्थापनमा सकारात्मक परिवर्तन देखिएको बताइएको छ । यस वर्षको अनुगमनका क्रममा भद्रपुर तथा चन्द्रगढी बजार क्षेत्रमा अखाद्य अवस्थाको मासु जफत गर्नुपर्ने अवस्था नरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । यो अवस्था व्यवसायीमा बढ्दो सचेतना र नियमित अनुगमनको प्रभावका रूपमा हेरिएको छ । गत आर्थिक वर्षमा गरिएको अनुगमनका क्रममा भने अखाद्य अवस्थामा रहेका माछा तथा मासु जफत गरिएको थियो । तर यसपटक त्यस्तो अवस्था नदेखिनु सकारात्मक उपलब्धि भएको अनुगमन टोलीको निष्कर्ष छ । अनुगमनमा झापाका भेटेरिनरी निरीक्षक तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुर झापाका पशु विकास अधिकृत डा. बिर्खराज राई, सहायक मत्स्य विकास अधिकृत उदयनारायण यादव, पशु सेवा प्राविधिक धिरेन राई, प्रशासन शाखा प्रमुख बषिष्ठ अधिकारी तथा सहायक लेखा अधिकृत भिष्म रिजाल सहभागी हुनुहुन्थ्यो ।
सम्बन्धित खबर