शुक्रवार, जेठ १, २०८३
Sancharmanch

बशिष्ठ गोत्रीय भण्डारी समाजद्वारा गोठ पूजा तथा सम्मान कार्यक्रम सम्पन्न

Posted by:
बिहिवार, वैशाख ३१, २०८३

झापा, बिर्तामोड / बशिष्ठ गोत्रीय भण्डारी समाजको परम्परागत गोठ पूजा तथा सम्मान कार्यक्रम झापाको बिर्तामोड नगरपालिका वडा नं. ९ मा सम्पन्न भएको छ ।

बिर्तामोड–९ निवासी खेम भण्डारीको निवासमा बिहीबार आयोजित कार्यक्रममार्फत गोठधुप पूजा सम्पन्न गर्नुका साथै समाजका ज्येष्ठ सदस्यहरूलाई सम्मान गरिएको हो ।

परम्परागत रूपमा सञ्चालन हुँदै आएको गोठ पूजा अर्थात् गोठधुप कार्यक्रमअन्तर्गत भण्डारी वंशका ज्येष्ठ पिता कचनकवल गाउँपालिका वडा नं. १ निवासी ८४ वर्षीय शेखरनाथ भण्डारी तथा बिर्तामोड नगरपालिका वडा नं. ८ निवासी ६६ वर्षीया माता धनमाया भण्डारीलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

समाजमा ज्येष्ठ नागरिकको योगदान, अनुभव र मार्गदर्शनको कदरस्वरूप सम्मान कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

बशिष्ठ भण्डारी समाज माई पूर्वको आयोजनामा सम्पन्न कार्यक्रम बशिष्ठ भण्डारी समाजका केन्द्रीय महासचिव जय भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा समाजकी केन्द्रीय कोषाध्यक्ष चेतना भण्डारी अतिथिका रूपमा उपस्थित रहनुभएको थियो ।

यस्तै, केन्द्रीय सदस्य तथा गोठधुप सञ्चालक समिति माईवारीका सचिव रुपनारायण भण्डारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय महासचिव जय भण्डारीले नेपाली समाजको मूल आधार कृषि रहेको उल्लेख गर्दै गोठधुप कार्यक्रम धर्म, परम्परा, संस्कार र संस्कृतिसँग गहिरो रूपमा जोडिएको बताउनुभयो । उहाँले पशुपालन ग्रामीण जीवनशैलीको महत्वपूर्ण हिस्सा भएकाले पशु स्वास्थ्य, समृद्धि र संरक्षणका लागि ईश्वरसँग प्रार्थना गर्ने उद्देश्यले यस्ता पूजा आयोजना गरिने परम्परा रहँदै आएको जानकारी दिनुभयो ।

“हाम्रो समाज कृषिमा आधारित समाज हो । खेतीपाती र पशुपालनसँग जोडिएको जीवनशैलीका कारण गोठधुप केवल धार्मिक कर्मकाण्ड मात्र नभई हाम्रो जीवनपद्धतिसँग जोडिएको सांस्कृतिक अभ्यास पनि हो,” उहाँले भन्नुभयो ।

कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष चेतना भण्डारीले गोठधुपलाई केवल परम्परागत अभ्यासका रूपमा मात्र नहेरी आस्था र सांस्कृतिक पहिचानको केन्द्रका रूपमा बुझ्नुपर्ने धारणा राख्नुभयो । उहाँले पुस्तान्तरणको अभावमा यस्ता मौलिक संस्कार हराउँदै जाने खतरा रहेको उल्लेख गर्दै नयाँ पुस्तालाई आफ्नो संस्कृति र परम्पराप्रति जागरूक बनाउन आवश्यक रहेको बताउनुभयो ।

समाजका अग्रज नारायण भण्डारीले परम्परागत शैलीमा गरिने गोठधुप संस्कार क्रमशः हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले विगतमा दोबाटोमा लिंगो गाडेर गरिने दोबाटे संस्कार अहिले लोपोन्मुख अवस्थामा पुगेको स्मरण गर्दै यस्ता सांस्कृतिक अभ्यासलाई संरक्षण गर्न सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो ।

केन्द्रीय सदस्य तथा गोठधुप सञ्चालक समिति माईवारीका सचिव रुपनारायण भण्डारीका अनुसार भण्डारी समुदायले विशेषगरी वर्षमा दुई पटक उधौली र उभौली पर्वका अवसरमा गोठधुप कार्यक्रम आयोजना गर्ने परम्परा निरन्तरता दिँदै आएको छ । यसले समुदायलाई एकताबद्ध बनाउनुका साथै सांस्कृतिक पहिचान जोगाउन सहयोग पुगेको उहाँले बताउनुभयो ।

कार्यक्रममा भण्डारी समुदायका विभिन्न क्षेत्रका सदस्यहरूको उपस्थिति रहेको थियो ।

सहभागीहरूले यस्ता कार्यक्रमले सामाजिक एकता, सांस्कृतिक निरन्तरता तथा पुस्ताबीचको सम्बन्ध सुदृढ बनाउने विश्वास व्यक्त गरेका थिए ।

समग्रमा, गोठ पूजा तथा सम्मान कार्यक्रमले परम्परागत संस्कार संरक्षण, ज्येष्ठ सदस्यप्रति सम्मान र सामुदायिक एकताको सन्देश प्रवाह गरेको सहभागीहरूको भनाइ छ ।

आधुनिक जीवनशैलीका बीच मौलिक संस्कृतिलाई जीवन्त राख्ने प्रयासका रूपमा कार्यक्रमलाई सकारात्मक रूपमा हेरिएको छ ।

सम्बन्धित खबर