झापा, मेचीनगर / झापाको बिर्तामोड नगरपालिका वडा नं. ४ मा स्थापना भएको उर्जाशील रामधुनी आमा समूहले सामाजिक उत्तरदायित्वअन्तर्गत मेचीनगर नगरपालिका वडा नं. ४ बाहुनडाँगीस्थित मानव सेवा आश्रममा सहयोग गरेको छ ।

संस्थाकी सल्लाहकार सदस्य कला थापा बस्नेत तथा उहाँका श्रीमान जापान बस्नेतको २३औँ वैवाहिक वर्षगाँठको अवसर पारेर आश्रममा दिवा खाजाको व्यवस्थापनसहित सहयोग प्रदान गरिएको हो ।

व्यक्तिगत खुशीलाई सामाजिक सेवासँग जोड्दै गरिएको उक्त कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन् ।

कार्यक्रममा बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बाँस्तोला प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो ।

उहाँले मानव सेवा आश्रममा बस्नेत दम्पतीले गरेको सहयोग प्रशंसनीय रहेको उल्लेख गर्दै यस्ता सामाजिक कार्यले मानवीय भावना र सामाजिक उत्तरदायित्वलाई थप बलियो बनाउने बताउनुभयो ।

दाता कला थापा बस्नेतले वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहनुभएका आफ्ना श्रीमानलाई सम्झँदै वैवाहिक वर्षगाँठको अवसरमा आश्रममा सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको बताउनुभयो ।

उहाँले व्यक्तिगत उत्सवलाई केवल पारिवारिक सीमाभित्र नराखी समाजका अभिभावकविहीन तथा आश्रयको आवश्यकता भएका व्यक्तिहरूसँग बाँड्न पाउँदा विशेष अनुभूति भएको धारणा राख्नुभयो ।

उर्जाशील रामधुनी आमा समूहकी अध्यक्ष गंगा शिवाकोटी ढकालले संस्थाका सदस्यहरूको जीवनका महत्वपूर्ण अवसरलाई सामाजिक कार्यसँग जोड्दै जाने परम्परा विकास भइरहेको बताउनुभयो ।

उहाँले संस्थाकी सदस्यको वैवाहिक बन्धन गाँसिएको दिनलाई अवसरका रूपमा लिँदै आश्रममा सहयोग जुटाइएको उल्लेख गर्नुभयो ।

अध्यक्ष ढकालले आश्रममै जीवन यात्रा समाप्त गर्ने आमा–बुबाहरूको दशगात्र कर्मका लागि पनि संस्थाले सक्दो आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“हामी केवल दिवा खाजा वा सामान्य सहयोगमा मात्र सीमित छैनौँ, आश्रममा आश्रित व्यक्तिहरूको जीवनका अन्तिम क्षणसम्म सम्मानजनक व्यवस्थापनमा समेत साथ दिन चाहन्छौँ,” उहाँले भन्नुभयो ।

मानव सेवा आश्रम झापा शाखाकी कार्यालय सचिव पुनम बस्नेतका अनुसार झापा शाखा स्थापना भएको २५ महिना पूरा भएको छ ।

यस अवधिमा १ सय ६० जना आमा–बुबाको उद्धार गरिएको, ४५ जनाको पारिवारिक पुनर्मिलन गराइएको तथा १७ जनाले आश्रममै देह त्याग गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार आश्रममा आश्रय लिइरहेका व्यक्तिहरूका लागि आवश्यक खाना, आवास, कपडा, स्वास्थ्य सेवा तथा दैनिक आवश्यक सामग्री व्यवस्थापनमा विभिन्न दाताहरूको निरन्तर सहयोग रहँदै आएको छ ।

समाजका विभिन्न तह र वर्गबाट प्राप्त सहयोगले आश्रम सञ्चालनमा ठूलो योगदान पुर्याएको उहाँले बताउनुभयो ।

आश्रम परिसरको सरसफाइ, अनुशासन र व्यवस्थापन पक्षलाई पनि सहभागीहरूले प्रशंसा गरेका थिए ।

स्वच्छ, शान्त र व्यवस्थित वातावरण रहेको आश्रमले असहाय, बेवारिसे तथा पारिवारिक साथ गुमाएका व्यक्तिहरूलाई सम्मानजनक आश्रय प्रदान गरिरहेको बताइएको छ ।

कार्यक्रममा सहभागीहरूले व्यक्तिगत उत्सवलाई समाजसेवामुखी बनाउने संस्कारको विकास हुनु सकारात्मक भएको बताएका छन् ।

विशेषगरी जन्मदिन, वैवाहिक वर्षगाँठजस्ता अवसरलाई सामाजिक कार्यसँग जोड्दा समाजमा सहयोग, सहकार्य र मानवीय संवेदनाको भावना विस्तार हुने विश्वास व्यक्त गरिएको छ ।

समग्रमा, उर्जाशील रामधुनी आमा समूह र बस्नेत दम्पतीको यो पहलले सामाजिक उत्तरदायित्व, मानव सेवा र सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको स्थानीयको भनाइ छ ।

यस्तो कार्यले अन्य व्यक्तिलाई समेत प्रेरणा दिने अपेक्षा गरिएको छ ।











