
कार्यक्रममा स्थानिय पूर्णप्रसाद मैनालीको संयोजकत्वमा नयाँ टोल समिति चयन गरिएको बताइएको छ । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्र नं. २ का संयोजक गोपाल कटुवाल, बिर्तामोड नगर समिति उपसभापति अनुप निरौला, नगर सचिव सृजना अधिकारीसहित नगर समिति, वडा समिति तथा पार्टीका अन्य पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको खुला सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि नन्दकुमार चुडालले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई टोलस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भक्तबारी लालीगुराँस टोल समितिको गठनलाई संगठन विस्तारको प्रारम्भिक कदमका रूपमा व्याख्या गर्दै बिर्तामोड नगरपालिकाभरिका सबै टोलमा यस्तै समिति गठन गरी “रास्वपा अब टोलटोलमा” भन्ने नारालाई व्यवहारमा उतार्न निर्देशन दिनुभयो ।

क्षेत्र नं. २ का संयोजक गोपाल कटुवालले हाल देखिएको सुकुम्बासी समस्याबारे आफ्नो धारणा राख्दै वास्तविक सुकुम्बासीहरूको मुद्दालाई लिएर अनावश्यक प्रचारबाजी र भ्रम सिर्जना गरिएको आरोप लगाउनुभयो । उहाँले यस्ता भ्रम चिर्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले वास्तविक सुकुम्बासी तथा सुकुम्बासी संघर्ष समितिका पदाधिकारीहरूसँग प्रत्यक्ष छलफल गरी समस्या समाधानतर्फ पहल गर्ने जानकारी दिनुभयो ।

बिर्तामोड नगर समिति उपसभापति अनुप निरौलाले वास्तविक सुकुम्बासीहरू अन्यायमा पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी बिर्तामोड नगर समिति सधैं वास्तविक सुकुम्बासीहरूको पक्षमा उभिने र आवश्यक परेका बेला सहयोग गर्न तत्पर रहने बताउनुभयो ।

नगर सचिव सृजना अधिकारीले वर्तमान परिस्थितिमा वास्तविक सुकुम्बासी र हुकुमबासीबीचको भिन्नतालाई स्पष्ट रूपमा बुझ्न आवश्यक रहेको बताउनुभयो । उहाँले वास्तविक सुकुम्बासीलाई सरकारले द्रुत गतिमा व्यवस्थापन गर्ने प्रक्रियामा अघि बढ्नुपर्ने धारणा राख्दै कुनै समस्या वा अन्याय परेमा राष्ट्रिय स्वतन्त्र पार्टी बिर्तामोड नगर समिति साथमा रहने आश्वासन दिनुभयो । साथै, हुकुमबासीको नाममा भइरहेका गलत गतिविधिको भण्डाफोर गर्नुपर्नेमा पनि जोड दिनुभयो । कार्यक्रमका सभापति तथा वडा सभापति लक्ष्मीप्रसाद खरेलले नवनिर्वाचित टोल समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा टोलस्तरका समस्या समाधानमा सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो । उहाँले टोलबासीलाई कुनै समस्या परेमा वडा कार्यालयसँग समन्वय गरी समाधान खोज्नुपर्ने उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रत्येक टोलमा विस्तार गर्ने अभियानमा सहयोग गर्न सम्पूर्ण वडा नं. ४ का बासिन्दासँग अपिल गर्नुभयो ।
रास्वपाले पछिल्लो समय संगठन विस्तारलाई तीव्रता दिँदै स्थानीय तहसम्म आफ्नो उपस्थिति मजबुत बनाउने रणनीतिअनुसार टोल समिति गठन अभियान अघि बढाइरहेको छ । बिर्तामोड–४ मा गठन गरिएको भक्तबारी लालीगुराँस टोल समिति पनि सोही अभियानअन्तर्गतको एक कदमका रूपमा हेरिएको छ ।कार्यक्रममा सहभागीहरूले स्थानीय समस्याको पहिचान, समाधान र नागरिकसँग प्रत्यक्ष सम्पर्क विस्तारमा टोल समितिको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका थिए । नयाँ समिति गठनसँगै स्थानीयस्तरमा पार्टी गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ ।










