शनिवार, वैशाख २६, २०८३
Sancharmanch

चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशद्वारा भित्तेपात्रो सार्वजनिक, चलचित्रमार्फत पर्यटन प्रवद्र्धनमा जोड

Posted by:
शनिवार, वैशाख २६, २०८३
झापा, बिर्तामोड / चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशले निर्माण गरेको भित्तेपात्रो शुक्रबार झापाको बिर्तामोडमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशको आयोजना तथा चलचित्र पत्रकार संघ नेपाल झापा शाखाको संयोजनमा आयोजित कार्यक्रममा भित्तेपात्रो सार्वजनिक तथा विमोचन सम्पन्न गरिएको हो । कार्यक्रममा पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडा प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो । उहाँले चलचित्र केवल मनोरञ्जनको माध्यम मात्र नभई पर्यटन प्रवद्र्धनको प्रभावकारी साधनका रूपमा स्थापित हुँदै गएको बताउनुभयो । नेपालका प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदालाई चलचित्रमार्फत विश्वसामु चिनाउन सकिने उल्लेख गर्दै उहाँले नेपाली चलचित्रलाई विभिन्न अन्तर्राष्ट्रिय भाषामा समेत निर्माण गर्न सके पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा थप सहयोग पुग्ने धारणा राख्नुभयो । विशेष अतिथि चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश इञ्चार्ज नरेन्द्र बस्नेतले चलचित्र पत्रकारिता केवल चलचित्रसम्बन्धी समाचार लेखनमा सीमित नरहेको स्पष्ट पार्नुभयो । उहाँले चलचित्र पत्रकारहरू समाज, संस्कृति, कला तथा पर्यटनजस्ता विविध क्षेत्रसँग पनि प्रत्यक्ष रूपमा जोडिने भएकाले पत्रकारिताको दायरा अझ व्यापक रहेको बताउनुभयो । कार्यक्रममा नेपाल चलचित्रकर्मी संघका अध्यक्ष केवल तामाङले पछिल्लो समय नेपाली चलचित्र क्षेत्र विस्तारोन्मुख अवस्थामा रहेको बताउनुभयो । चलचित्र, पर्यटन र पत्रकारिताबीच नङ र मासुको जस्तै घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले विभिन्न जातीय चलचित्रहरूले भाषा, भेषभूषा, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्याएको धारणा व्यक्त गर्नुभयो । नेपाल चलचित्र निर्माता संघका केन्द्रीय सचिव युवराज गिरीले नेपाली चलचित्र क्षेत्रको विकासमा राज्यको नीतिगत असमानता बाधक बनेको गुनासो गर्नुभयो । उहाँले विदेशी चलचित्रमा देखाइने केही दृश्य नेपाली सिनेमा हलमा सहज रूपमा प्रदर्शन हुने तर सोही प्रकृतिका दृश्य नेपाली चलचित्रमा समावेश हुँदा सेन्सरको समस्या झेल्नुपर्ने अवस्थाले स्वदेशी चलचित्रकर्मीलाई निरुत्साहित बनाएको बताउनुभयो । नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष सुब्रत न्यौपानेले नेपाली समाज रूपान्तरणमा चलचित्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले पर्यटनलाई केवल घुमफिरमा सीमित बुझ्न नहुने उल्लेख गर्दै पर्यटनले आर्थिक, सांस्कृतिक तथा सामाजिक विकाससँग समेत गहिरो सम्बन्ध राख्ने धारणा राख्नुभयो । नेपाल चलचित्र संघका केन्द्रीय सदस्य मिजास पोखरेलले नेपालमा चलचित्र क्षेत्रको वार्षिक कारोबार करिब २ अर्ब २० करोड रुपैयाँ बराबरको रहेको जानकारी दिनुभयो । उहाँका अनुसार सो कारोबारमध्ये करिब ५३ प्रतिशत हिस्सा नेपाली चलचित्रले ओगटेको छ, जसले स्वदेशी चलचित्रप्रति दर्शकको आकर्षण बढ्दो क्रममा रहेको संकेत गर्दछ । नेपाल फिल्म सोसाइटी कोशी प्रदेशका अध्यक्ष देवीभक्त श्रेष्ठले पर्यटन क्षेत्रलाई अझ परिस्कृत र व्यावसायिक बनाउन आवश्यक रहेको बताउँदै पत्रकारिताको माध्यमबाट चलचित्र र पर्यटन दुवै क्षेत्रलाई प्रवद्र्धन गर्न सकिने बताउनुभयो । पर्यटन पत्रकार मञ्चका अध्यक्ष बिनोद पाण्डेले चलचित्र पत्रकारहरूले चलचित्रसँगै पर्यटन प्रवद्र्धनका विषयमा पनि सशक्त रूपमा कलम चलाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पत्रकारिता, पर्यटन र चलचित्र क्षेत्र एकअर्काका परिपूरक रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा वीरता जेसीजका अध्यक्ष एलसी श्रेष्ठ, चलचित्र पत्रकार संघ नेपाल इलामका अध्यक्ष अतित योङहाङ तथा सुनसरी अध्यक्ष सुभाष संकल्प श्रेष्ठले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशले प्रकाशित गरेको भित्तेपात्रो औपचारिक रूपमा सार्वजनिक गरिएको थियो । साथै संघको कोशी प्रदेश कार्यसमितिको सदस्यमा मनोनित हुनुभएका पत्रकारद्वय सुनिरा मैनाली र शिव भट्टराईलाई प्रमाणपत्र प्रदान गरिएको थियो । चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशका अध्यक्ष वीरेन्द्रकुमार शाहले संघ केवल चलचित्र समाचार लेखनमा सीमित नरही विभिन्न भाषा, संस्कार, संस्कृति र कलाको संगमका रूपमा अघि बढिरहेको बताउनुभयो । उहाँले पत्रकारितामार्फत चलचित्र तथा पर्यटन क्षेत्रलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । संघका कोशी प्रदेश उपाध्यक्ष रमेश तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य संघका झापा अध्यक्ष एकराज प्रधानले राख्नुभएको थियो भने समापन संघका कोशी प्रदेश अध्यक्ष वीरेन्द्रकुमार शाहले गर्नुभएको थियो । कार्यक्रमले चलचित्र, पर्यटन र पत्रकारिताबीचको अन्तरसम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।
सम्बन्धित खबर