शनिवार, वैशाख २६, २०८३
Sancharmanch

उर्जाशील रामधुनी आमा समूहद्वारा सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क स्कुल ब्याग वितरण

Posted by:
शुक्रवार, वैशाख २५, २०८३
झापा, बिर्तामोड / झापाको बिर्तामोड नगरपालिका वडा नं. ४ मा स्थापना भएको उर्जाशील रामधुनी आमा समूहले सामाजिक उत्तरदायित्वअन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई निःशुल्क स्कुल ब्याग वितरण गरेको छ । समूहले बिर्तामोड–४ मा सञ्चालित अनारमनी आधारभूत विद्यालयका कक्षा १ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय झोला वितरण गरेको हो । विद्यालय परिसरमा बिहीबार आयोजित एक विशेष कार्यक्रममा २ लाख रुपैयाँभन्दा बढीको लगानीमा २२० थान स्कुल ब्याग वितरण गरिएको समूहले जनाएको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई शैक्षिक सामग्री उपलब्ध गराउँदै उनीहरूको अध्ययनप्रति उत्साह बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ । समूहले समाजमा योगदान पुर्याउने प्रकृतिका कार्यक्रमहरु सञ्चालन गरेकोमा धन्यवाद दिदै कार्यक्रमकी प्रमुख अतिथि विर्तामोड नगरपालिका शिक्षा शाखा अधिकृत जानुका रेग्मीले ७ वर्षदेखी नियालेको बताउँदै भौतिक रुपमा राम्रो उपलब्धि हासिल गरेको बताउनुभयो । आमा समूहले सामूहिक रूपमा सामाजिक कार्यलाई प्राथमिकतामा राख्दै व्यक्तिगत खुसीका अवसरलाई समाजसेवासँग जोडेको उदाहरण निरन्तर रुपमा प्रस्तुत गरिरहेको छ । संस्थाका सदस्य बिना गुरुङ र इन्दिरा गुरागाईं दाहालले आफ्नो जन्मदिनको अवसर पारेर सहयोग गर्नुभएको थियो भने रिता न्यौपाने शिवाकोटीले आफ्ना श्रीमानको जन्मदिनलाई सामाजिक कार्यसँग जोड्दै आर्थिक सहयोग गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै विर्तामोड शाना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाले समूहले समाज रुपान्तरणका क्षेत्रमा उपलब्धिमुलक गतिविधि गरिरहेको भन्दै प्रशंसा गर्नुभयो । संस्थाको तर्फ वाट योगदान गर्नेमा दीपा प्रसाईंले वैवाहिक वर्षगाँठ, इश्वरी बुढाथोकी पौडेलले आफ्ना श्रीमानको जन्मदिन, समृद्धि थापाले वैवाहिक वर्षगाँठ तथा कला बस्नेतले आफ्नी भतिजीको जन्मदिनको अवसर पारेर विशेष सहयोग गर्नुभएको थियो । अन्य सदस्यहरूले समेत थप आर्थिक संकलन गरी कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याउनुभएको थियो । त्यस्तै व्यक्तिगत उत्सवलाई केवल पारिवारिक सीमाभित्र नराखी समाजका आवश्यकतासँग जोड्ने संस्कारको विकास गर्नु समूहको सकारात्मक सोचको उदाहरण भएको स्थानीयवासीले बताएका छन् । विशेषगरी सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी गरिएको सहयोगले अभिभावक र विद्यालय परिवारमा उत्साह थपेको छ । उजाशील रामधुनी आमा समूहकी अध्यक्ष गंगा शिवकोटी ढकालले आफुना विषेस दिनको खर्च बचाएर बिद्यालयको अभाव परिपुर्ती गर्न संस्थाले कदम चालेको बताउनुभयो । विद्यालयका शिक्षक तथा अभिभावकहरूले यस्ता सहयोगले विद्यार्थीमा आत्मविश्वास बढ्नुका साथै विद्यालयप्रतिको अपनत्व भावना विकास हुने बताएका छन् । सामुदायिक विद्यालयमा अध्ययनरत कतिपय विद्यार्थी आर्थिक रूपमा कमजोर परिवारबाट आउने भएकाले यस्ता सामग्री सहयोगले प्रत्यक्ष राहत पुग्ने विश्वास गरिएको छ । संस्थाकी उपाध्यक्ष मनिता खुलालले आफु वडा नं. ४ मै बसोवास गर्ने नागरिक भएको बताउँदै विद्यालयलाई सहयोग गर्न आफुले संस्थामा प्रस्ताव पुर्याएको बताउनुभयो । उर्जाशील रामधुनी आमा समूहले यसअघि पनि विभिन्न सामाजिक तथा मानवीय गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको बताइएको छ । समूहले महिला सशक्तीकरण, सामाजिक सहयोग तथा सामुदायिक विकासका क्षेत्रमा निरन्तर काम गरिरहेको स्थानीयले बताएका छन् । विद्यालयको अवस्था खराव भएको र त्यसको क्रमस सुधार हुँदै गएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यसोदा चापागाईले बताउनुभयो । उर्जाशील रामधुनी आमा समूहको यो पहलले सामाजिक सेवामा महिला समूहहरूको भूमिका कति प्रभावकारी हुन सक्छ भन्ने सन्देश दिएको छ । व्यक्तिगत खुसीलाई समाजसँग बाँड्ने संस्कारले सामाजिक एकता र सहकार्यलाई अझ बलियो बनाउने विश्वास गरिएको छ । बिद्यालय हाता भित्रविभिन्न समयमा क्षति हुने गरेको अनारमनी आधारभुत बिद्यालयका प्रधानाध्यापक टंक बहादुर कटुवालले बताउनुभयो । कार्यक्रममा विद्यालय परिवार, स्थानीय अभिभावक, समाजसेवी तथा समूहका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । संस्थाकी अध्यक्ष गंगा शिवाकोटी ढकालको अध्यक्षता रहेको कार्यक्रममा विर्तामोड नगरपालिका शिक्षा शाखा अधिकृत जानुका रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो । संस्थाकी सदस्य रिता शिवाकोटी न्यौपानेले स्वागत गर्नु भएको कार्यक्रम संस्थाकी सचिव निरा न्यौपाने कट्टेलले सञ्चालन गर्नुभएको थियो ।
सम्बन्धित खबर