सोमवार, वैशाख २१, २०८३
Sancharmanch

बिर्तामोडमा ‘पत्रकारिताको चुनौती र अबको बाटो’ विषयक अन्तरक्रिया सम्पन्न

Posted by:
आइतवार, वैशाख २०, २०८३
बिर्तामोड, झापा / झापाको बिर्तामोडमा ‘पत्रकारिताको चुनौती र अबको बाटो’ विषयक अन्तरक्रियात्मक कार्यक्रम शनिबार सम्पन्न भएको छ । प्राइड मिडिया प्रालिद्वारा सञ्चालित नयाँ पेपर डटकमको आयोजनामा आयोजित उक्त कार्यक्रममा पत्रकारिता क्षेत्रले वर्तमान समयमा सामना गरिरहेका संकट र आगामी कार्यदिशाबारे गहन छलफल गरिएको थियो । सोही अवसरमा नयाँ पेपरको टेबल क्यालेन्डरसमेत सार्वजनिक गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै बिर्तामोड नगरपालिका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि पवित्रा महतरा प्रसाईँले जनतालाई सही सूचना पुर्याउनु पनि सूचनाको हकभित्र पर्ने कुरा उल्लेख गर्दै भ्रामक होइन, सही सूचना सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । प्रालिका अध्यक्ष निर्मलराज खत्रीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईँको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारीले वर्तमान सरकारले पत्रकारितामा आर्थिक नाकाबन्दी गरेको उल्लेख गर्दै पत्रकारितालाई टिकाएर राख्नुपर्ने धारणा राख्नुभयो । केन्द्रीय सरकारको पत्रले स्थानीय तहहरूमा सञ्चार माध्यमका लागि दिइँदै आएको सेवा–सुविधामा असर परेको भन्दै चौतर्फी विरोधका कार्यक्रमहरू भइरहेका छन् । यसै सन्दर्भमा सञ्चार माध्यमले पनि यस विषयमा संविधानमा उल्लेख भएका सञ्चार सम्बन्धी कुराहरू केलाउन जरुरी रहेको नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस काउन्सिल नेपालका पूर्व सदस्य साथै अग्रज सञ्चारकर्मी तथा सञ्चार उद्यमी गणेश पोखरेलले अबको पत्रकारितामा अल्छीपन भएका कारण चुनौती थपिएको भन्दै नयाँ प्रविधिले घटनाक्रमको अध्ययन मानवबाट मात्र सम्भव रहेको बताउनुभयो। शुभकामना मन्तव्य राख्नुहुँदै बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाले नयाँ पेपरले प्रकाशन गरेको क्यालेन्डरले आगामी वर्षमा पनि निरन्तरता पाउनुपर्ने धारणा राख्नुभयो । पर्यटन कार्यालय झापाका प्रमुख छविलाल खतिवडा, यसैगरी प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार, प्रेस सेन्टर झापाका अध्यक्ष पुष्प खड्का र नारी सञ्चार गृहकी अध्यक्ष स्वस्तिका आचार्य लगायतले मन्तव्य राख्दै पछिल्लो समय सरकारले निजी मिडियालाई विज्ञापन उपलब्ध गराउन रोक लगाएकोमा कडा आपत्ति जनाउनुभयो । सहभागी वक्ताहरूले सरकारको यस्तो कदमले सञ्चार क्षेत्रलाई धराशायी बनाउने भन्दै उक्त निर्णय तत्काल फिर्ता लिन माग गर्नुभयो। साथै, झापाका सबै स्थानीय तहले स्थानीय सञ्चार माध्यमलाई प्रदान गर्दै आएको लोककल्याणकारी सूचना र विज्ञापनलाई प्राथमिकताका साथ उपलब्ध गराउनुपर्नेमा उहाँहरूको विशेष जोड थियो । नयाँ पेपरकी सह–सम्पादक सुनिरा मैनालीले स्वागत गर्नुभएको कार्यक्रम प्रधान सम्पादक रमेश तिवारीले सञ्चालन गर्नुभएको थियो ।
सम्बन्धित खबर