सोमवार, वैशाख १४, २०८३
Sancharmanch

ज्येष्ठ नागरिक जिल्ला संघ झापाको १३औँ वार्षिक साधारणसभा सम्पन्न, योगदान गर्ने व्यक्तित्वहरू सम्मानित

Posted by:
आइतवार, वैशाख १३, २०८३
झापा, बिर्तामोड / ज्येष्ठ नागरिकहरूको हक, अधिकार र सम्मानका लागि क्रियाशील ज्येष्ठ नागरिक जिल्ला संघ झापाको १३औँ वार्षिक साधारणसभा आइतबार बिर्तामोडमा सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष इश्वरी प्रसाद तिमल्सेनाको अध्यक्षतामा आयोजित सभा बिर्तामोडको पुरानो भद्रपुर रोडस्थित बिर्ता पार्टी प्यालेसको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न तहका सरोकारवाला, ज्येष्ठ नागरिकका प्रतिनिधि, दाता तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । साधारणसभामा संघका अध्यक्ष तिमल्सेनाले आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संघले विगत एक वर्षमा सञ्चालन गरेका कार्यक्रम, उपलब्धि तथा चुनौतीहरूबारे जानकारी गराउनुभयो । उहाँले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा, स्वास्थ्य सेवा पहुँच र सम्मानजनक जीवनयापन सुनिश्चित गर्न संघले निरन्तर पहल गरिरहेको उल्लेख गर्नुभयो । त्यसैगरी, कोषाध्यक्ष कुल प्रसाद संग्रौलाले संघको आर्थिक आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत विवरणले संघको आर्थिक पारदर्शिता र उत्तरदायित्वलाई झल्काएको सहभागीहरूको प्रतिक्रिया थियो । कार्यक्रममा बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाको प्रमुख आतिथ्यता रहेको थियो । उहाँले ज्येष्ठ नागरिकहरूको सम्मान र संरक्षणमा स्थानीय तहले खेल्नुपर्ने भूमिकाबारे प्रकाश पार्दै यस्ता संस्थागत पहलहरूलाई थप सशक्त बनाउन आवश्यक रहेको बताउनुभयो । संघका उपाध्यक्ष सूर्यनारायण गणेशले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा ज्येष्ठ नागरिक महासंघका केन्द्रीय अध्यक्ष सूर्य प्रसाद श्रेष्ठ विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो । उहाँले ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न राज्य र समाज दुवैको सक्रियता आवश्यक रहेको उल्लेख गर्दै संघीय संरचनामा ज्येष्ठ नागरिकका मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो । त्यस्तै, महासंघका केन्द्रीय प्रथम उपाध्यक्ष शारदा देवी चन्द, कोषाध्यक्ष केदारनाथ तिम्सिना, सचिव वासुदेव पण्डित, सल्लाहकार प्रेम चन्द लगायतका विशिष्ट व्यक्तित्वहरूको पनि कार्यक्रममा आतिथ्यता रहेको थियो । उहाँहरूले ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र योगदानलाई समाजले सम्मान गर्नुपर्नेमा जोड दिँदै यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभएको थियो । कार्यक्रममा जग्गादाता दुर्गेश्वर सिंग्रौला, केशव ताम्राकार, अविनारायण खनाल, हरिभक्त गौतमलगायतको उपस्थिति रहेको थियो । साथै, संघको अक्षयकोषमा योगदानपुर्याउने दाताहरू, विशिष्ट सदस्य तथा विशेष सदस्यहरूलाई सम्मान गरिएको थियो । सम्मान कार्यक्रमले योगदानको कदर गर्दै अन्य व्यक्तिलाई पनि समाजसेवामा प्रेरित गर्ने विश्वास गरिएको छ । साधारणसभामा विशेष रूपमा स्वास्थ्य समस्याका कारण कार्यक्रममा उपस्थित हुन नसक्नुभएका झापा कमल गाउँपालिकाका ज्येष्ठ नागरिक यज्ञेश्वर बास्तोलालाई घरमै पुगेर नगद रु. २५ हजार, सम्मानपत्र तथा अन्य सामग्रीसहित सम्मान गरिने जानकारी दिइएको छ । यसले संघले ज्येष्ठ नागरिकप्रति देखाएको संवेदनशीलता र सम्मानको भाव झल्काएको सहभागीहरूले बताएका छन् । समग्रमा, १३औँ वार्षिक साधारणसभाले ज्येष्ठ नागरिकका मुद्दालाई थप सशक्त रूपमा उठाउने, संगठनलाई सुदृढ बनाउने तथा सामाजिक सहकार्यलाई विस्तार गर्ने दिशामा महत्वपूर्ण सन्देश दिएको सहभागीहरूको धारणा रहेको छ । कार्यक्रममा व्यक्त विचार, प्रस्तुत प्रतिवेदन र गरिएका निर्णयहरूले आगामी दिनमा संघको गतिविधिलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
सम्बन्धित खबर