झापा । झापाको बिर्तामोड नगरपालिका मा ‘अन्नपूर्ण अभियान’ सञ्चालन गरी असहाय तथा विपन्न परिवारलाई सहयोग प्रदान गरिएको छ । सतलोक आश्रम धनुषा द्वारा आयोजित उक्त अभियान मानव सेवामा केन्द्रित रहेको जनाइएको छ ।

बिर्तामोड नगरपालिका वडा नं. ५ निवासी मायाँ कुँवरको परिवारलाई लक्षित गर्दै अभियान सञ्चालन गरिएको हो । जीवन संघर्षमा गुज्रिरहनुभएकी कुँवरको अवस्था अत्यन्त दयनीय रहेको स्थानीयले बताएका छन् । उहाँका श्रीमान् वैदेशिक रोजगारीका लागि विदेश गएको करिब ३० वर्षदेखि बेपत्ता हुनुहुन्छ भने उहाँ नागरिकताविहीन अवस्थामै बस्दै आउनु भएकोछ ।

कुँवरले दुई सन्तानको मात्र हैन नाती नातिनीको समेत पालनपोषण गर्दै जीवनयापन गर्दै आउनु भएको छ । उनका छोराछोरीमध्ये एक छोरा, एक छोरी अपाङ्ग छन् भने एक छोरा आफूसँग नभएकाले नातिनातिनाको स्याहार–सम्भारको जिम्मेवारी पनि उहाँमा थपिएको छ । यस्तो कठिन परिस्थितिमा उहाँ विगत लामो समयदेखि संघर्षरत रहनुभएको छ ।

उक्त अवस्थालाई मध्यनजर गर्दै सन्त रामपाल जी महाराज का अनुयायीहरूले ‘अन्नपूर्ण अभियान’ मार्फत सहयोग उपलब्ध गराउनुभएको छ । अभियानअन्तर्गत खाद्यान्न सामग्रीसँगै राइस कुकर लगायतका आवश्यक सामग्री वितरण गरिएको जनाइएको छ ।

सन्त रामपाल जी महाराजका अनुयायी मदनाथ अधिकारीका अनुसार विपन्न परिवारलाई लक्षित गरी प्रत्येक महिना सहयोग उपलब्ध गराइने व्यवस्था गरिएको छ । उहाँले ‘अन्नपूर्ण महिमा’ अभियानमार्फत गरिब तथा असहाय परिवारको जीवनस्तर सुधारमा योगदान पुर्याउने लक्ष्य राखिएको बताउनुभयो ।

त्यस्तै अनुयायी कोमल दासले सहयोग गर्नु अघि परिवारको वास्तविक अवस्था अध्ययन गरिएको जानकारी दिनुभयो । उहाँले अभियानले वास्तविक आवश्यकतामा रहेका व्यक्तिहरूलाई पहिचान गरी सहयोग गर्ने नीति अपनाएको बताउनुभयो ।

“जसले गरिबको दुःख बुझ्छ, उसको भगवानले सुन्छ” भन्ने सन्देशका साथ सञ्चालन गरिएको अभियान सन्त रामपाल जी महाराजको लगानीबाट अघि बढाइएको आयोजकले जनाएको छ ।

अभियानअन्तर्गत असहाय तथा गरिब व्यक्तिहरूलाई खाद्यान्न, वस्त्र, स्वास्थ्य सेवा तथा शिक्षामा समेत सहयोग उपलब्ध गराइने उल्लेख गरिएको छ । यसले दीर्घकालीन रूपमा विपन्न समुदायको जीवनस्तर उकास्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

२०४३ सालदेखि बिर्तामोड नगरपालिका वडा नं. ५ मा बसोवास गर्दै आएकी मायाँ कुँवरले यस्तो सहयोगले आफ्नो दैनिक जीवनयापनमा ठूलो राहत पुगेको बताउनुभयो । उहाँले सहयोगदाताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहयोग निरन्तर रहने अपेक्षा गर्नुभयो ।

कार्यक्रममार्फत समाजका आर्थिक रूपमा कमजोर वर्गलाई राहत पु¥याउने तथा मानवीय सेवा विस्तार गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ। साथै, यस्ता अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै सहयोगी भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ।

सतलोक आश्रम धनुषाले विगतदेखि नै विभिन्न सामाजिक सेवामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ । आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिँदै अझ बढी विपन्न परिवारसम्म सहयोग पु¥याउने योजना रहेको आयोजकले जानकारी दिएको छ ।