सोमवार, वैशाख ७, २०८३
Sancharmanch

मिलनचोक कटहरडाँडा सराउ समाजको सातौँ साधारणसभा सम्पन्न, सामाजिक एकतामा आधारित सहयोग प्रणाली प्रभावकारी

Posted by:
आइतवार, वैशाख ६, २०८३
झापा, अर्जुनधारा / झापाको अर्जुनधारा नगरपालिका वडा नं. ९ मा स्थापना भएको मिलनचोक कटहरडाँडा सराउ समाजको सातौँ साधारणसभा आइतबार सम्पन्न भएको छ । वडा नं. ९ स्थित किरात राई यायोख्खाको कार्यालय परिसरमा आयोजना गरिएको उक्त साधारणसभाले संस्थागत सुदृढीकरण, सामाजिक सहकार्य र आगामी कार्यक्रमसम्बन्धी विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गरेको समाजका अध्यक्ष अशोक दाहालले जानकारी दिनुभयो । सामाजिक एकता, पारस्परिक सहयोग र दुःखको घडीमा सहारा बन्ने उद्देश्यले स्थापना गरिएको सराउ समाजले विगतदेखि नै मृत्यु संस्कारमा केन्द्रित सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । समाजले आफ्नो कार्यक्षेत्रभित्र कुनै पनि सदस्यको परिवारमा मृत्यु भएमा प्रति सदस्य रु. १०० का दरले रकम संकलन गरी पीडित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने व्यवस्था कार्यान्वयन गर्दै आएको छ । यस किसिमको सहकार्यले शोकमा डुबेको परिवारलाई आर्थिक भार कम गर्न महत्वपूर्ण सहयोग पुर्याएको स्थानीयवासी बताउँछन् । विशेषगरी ग्रामीण तथा मध्यमवर्गीय समुदायमा मृत्यु संस्कार सम्पन्न गर्न आर्थिक चुनौती देखिने सन्दर्भमा सराउ समाजको यस्तो पहल अत्यन्तै प्रभावकारी बनेको छ । परम्परागत संस्कारअनुसार काजकिरिया गर्नुपर्ने बाध्यता हुने नेपाली समाजमा अचानक आइपर्ने खर्चले परिवारलाई थप पीडा दिने गरेको अवस्थामा सामूहिक रूपमा गरिएको सहयोगले ठूलो राहत मिलेको सहभागीहरूले बताएका छन् । साधारणसभामा वक्ताहरूले सराउ समाजले केवल आर्थिक सहयोग मात्र नभई सामाजिक भावनात्मक एकता मजबुत बनाउने कामसमेत गरिरहेको उल्लेख गरेका थिए । परिवारको सदस्य गुमाएको पीडामा रहेका परिवारका लागि समाजका सदस्यहरू स्वयं उपस्थित भई समवेदना प्रकट गर्नुका साथै आर्थिक रूपमा समेत सहयोग गर्ने परिपाटीले समाजमा आत्मीयता र सहकार्यको भावना अभिवृद्धि भएको कार्यक्रममा सहभागिहरुले बताएकाछन् । कार्यक्रममा समाजका सचिव नरबहादुर खड्काले सञ्चालन गर्नुभएको थियो । साधारणसभामा वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजनामाथि छलफल गरिएको थियो । सहभागीहरूले संस्थाको कार्यसम्पादनप्रति सन्तुष्टि व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउन सुझावसमेत दिएका थिए । सातौँ साधारणसभाले समाजको गतिविधिलाई थप संस्थागत गर्दै सामाजिक उत्तरदायित्वलाई अझ मजबुत बनाउने दिशामा महत्वपूर्ण आधार तय गरेको सहभागीहरूको विश्वास छ । आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यक्रमले निरन्तरता पाउने अपेक्षा गरिएको छ ।
सम्बन्धित खबर