
पुष्पलता अर्याल, झापा/लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँचलाई प्रभावकारी बनाउने उद्देश्यले झापाको मेचीनगर नगरपालिकाले सामाजिक तथा वित्तीय सीप अभिवृद्धिमा केन्द्रित ८ दिने प्रशिक्षक प्रशिक्षण (Training of Trainers – TOT) तालिम सञ्चालन गरेको छ।

“किशोर किशोरी भए दक्ष, बन्छ देशको भविष्य” भन्ने मूल नाराका साथ आयोजित उक्त तालिम एकीकृत सेवा पहुँच परियोजना (IGBVRN) परियोजनाअन्तर्गत सञ्चालन गरिएको हो।

तालिममा कक्षा ११ र ब्याचलर लेभलमा अध्ययन गर्ने विद्यार्थीहरू सहभागी बनेका छन्। तालिममा सहभागी विद्यार्थीहरूले सिकाइमा ध्यान केन्द्रित गर्नुपर्ने मेचीनगर नगरपालिका उपप्रमुख मिना पोख्रेल उप्रेतीले बताउनुभयो।

तालिम ८ दिनसम्म सञ्चालन हुने तालिमको आज चौथो दिन झापाको काकरभिट्टास्थित दरबार होटलमा सञ्चालन भइरहेको छ।

कार्यक्रममा सहभागीहरूलाई बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म विभिन्न विषयमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिँदै आएको छ।

प्रशिक्षक सञ्जोग ठकुरीले कक्षा सञ्चालन गरिरहनुभएको तालिम चैत २० गतेदेखि २७ गतेसम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ।

विद्यार्थीहरूलाई व्यवहारिक ज्ञानसँगै पढाइसँगै कसरी सीप हासिल गर्ने भन्ने विषयमा तालिम सञ्चालन भएको छ।

गफभन्दा पनि कामले देखाउनका लागि तालिमले सकारात्मक ऊर्जा थप्ने मेचीनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारीले बताउनुभयो।

तालिममा विशेषगरी लैंगिक हिंसा न्यूनीकरण, पीडितलाई सेवा पहुँच विस्तार, सामाजिक सचेतना अभिवृद्धि र आर्थिक सशक्तीकरणका उपायहरूबारे विस्तृत रूपमा प्रशिक्षण दिइँदैछ।

सहभागीहरूलाई प्रशिक्षकका रूपमा सक्षम बनाउँदै उनीहरूले आफ्ना समुदायमा गई थप व्यक्तिहरूलाई तालिम दिन सक्ने वातावरण सिर्जना गर्ने लक्ष्य राखिएको छ।

तालिम सम्पन्न गरिसकेपछि टिम लिडर बन्न सक्ने गरीको सीप हासिल गर्ने साथै आफ्ना लागि आफैं कमाउने ढोकाहरू खुल्ने रूपान्तरणका प्रक्रियाहरू उजागर हुने मेचीनगर नगरपालिका प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्तिले बताउनुभयो।

कार्यक्रम विश्व बैंक अन्तर्गतको स्टेट एण्ड पिसबिल्डिङ फण्ड (SP) को सहयोगमा सञ्चालन भइरहेको छ।

यस परियोजनाले स्थानीय तहमा शान्ति, समावेशिता र सामाजिक न्याय प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

मेचीनगर नगरपालिका महिला, बालबालिका तथा समाजकल्याण शाखाले आयोजना गरेको यस कार्यक्रमले विशेषगरी महिला, किशोरी तथा लैंगिक हिंसाबाट समाजलाई कसरी मुक्त गर्न सकिन्छ भन्ने विषय लक्षित गरेको छ। तालिममा सहभागीहरूले हिंसाका विभिन्न स्वरूप, त्यसको पहिचान, कानुनी व्यवस्था, मनोसामाजिक सहयोग तथा पुनःस्थापनाका उपायहरूबारे जानकारी प्राप्त गरिरहेका छन्।

रूपान्तरणले सामाजिक र वित्तीय सीप हासिल गर्ने (IGBVRN) स्पेसलिस्ट कमला प्रेतीले बताउनुभयो।

यस प्रकारका तालिमहरूले स्थानीय स्तरमा सचेतना फैलाउन, हिंसा न्यूनीकरण गर्न र पीडितलाई सहज रूपमा सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्नेछन्।

प्रशिक्षित जनशक्तिले विद्यालय, समुदाय तथा विभिन्न समूहहरूमा पुगेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने अपेक्षा गरिएको छ।

समग्रमा, सामाजिक तथा वित्तीय सीपमा आधारित यो प्रशिक्षक प्रशिक्षण कार्यक्रमले लैंगिक समानता र सुरक्षित समाज निर्माणतर्फ महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

स्थानीय तहबाट सुरु गरिएको यस्ता प्रयासहरूले दीर्घकालीन रूपमा सामाजिक रूपान्तरणमा सकारात्मक प्रभाव पार्ने देखिन्छ।

तालिम कार्यक्रम मेचीनगर नगरपालिका महिला, बालबालिका तथा समाजकल्याण शाखा प्रमुख जयन्ति खरेलले सहजिकरण गर्नु भएको छ ।










