झापा/ झापाको बिर्तामोडस्थित बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

“स्वच्छ तथा गुणस्तरीय खानेपानीको उपलब्धता, बिर्तामोड खानेपानी संस्थाको प्रतिबद्धता” भन्ने मूल नाराका साथ आयोजना गरिएको साधारण सभामा संस्थाको वार्षिक प्रगति, आर्थिक प्रतिवेदन तथा आगामी योजनाबारे छलफल गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला खानेपानी कार्यालय झापाका कार्यालय प्रमुख सुमन भट्टराईले बिर्तामोड खानेपानीले यसै आर्थिक वर्षमा बाँकी रहेको ऋण तिर्ने योजना बनाएकोमा खुसी व्यक्त गर्नुभयो।

सोमबार आयोजना गरिएको साधारण सभा संस्थाको कार्यालय परिसरमा आयोजना गरिएको थियो।

कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाले सहजीकरण र समन्वयका माध्यमबाट उपभोक्ताको चाहना अनुसार पानी उपलब्ध गराउँदै लाने बताउनुभयो।

कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदन बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका कोषाध्यक्ष शारदा रिजालले प्रस्तुत गर्नुभएको थियो भने लेखा समितिका संयोजक विष्णु चुडालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममार्फत खानेपानीको दिगो व्यवस्थापन, सरसफाइ प्रवर्द्धन तथा उपभोक्ताको अधिकार र जिम्मेवारीबारे समेत जानकारी गराइएको थियो। कार्यक्रमलाई स्वागत गर्दै बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपाध्यक्ष शैलेन्द्र सिटौलाले शुद्ध पानी वितरणमा संस्था संवेदनशील रहेको बताउनुभयो।

कार्यक्रममा उत्कृष्ट ज्येष्ठ उपभोक्ता पुरुषतर्फ वर्ष ८७ का डिल्लिराम बस्नेत

र महिलातर्फ ८३ वर्षीया चन्द्रमाया विकलाई सम्मान गरिएको थियो।

त्यसैगरी कार्यक्रमकै अवसरमा संस्थामा रहेर उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै मिटर रिडर कर्मचारी पदम गुरुङलाई पुरस्कृत तथा सम्मान गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै बिर्तामोड नगरपालिका वडा नं. ५ का अध्यक्ष रोहित प्रसाईँले बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थासँग सहकार्यका लागि आफ्नो वडा जुनसुकै समयमा पनि तयार रहेको बताउनुभयो।

कार्यक्रममा नेपाल उद्यमशील महिला संघकी अध्यक्ष पार्वता खरेल विमली,

राष्ट्रिय स्वतन्त्र पार्टीका बिर्तामोड नगर सभापति दीपक दाहाल,

खानेपानी महासंघका केन्द्रीय सदस्य जलकुमार गुरुङ,

संस्थाका सल्लाहकार राजकुमार पोख्रेल,

लोकबन्धु कन्दङ्वा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

संस्थाले विगतदेखि नै बिर्तामोड क्षेत्रका उपभोक्तालाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउँदै आएको छ।

आगामी दिनमा सेवा विस्तार र गुणस्तर सुधारमा थप ध्यान दिने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला खानेपानी कार्यालय झापाका प्रमुख सुमन भट्टराई प्रमुख अतिथि रहनुभएको थियो।

संस्थाका उपाध्यक्ष शैलेन्द्र सिटौलाले स्वागत गर्नुभएको कार्यक्रम संस्थाका सचिव पारसमणि मैनालीले सञ्चालन गर्नुभएको कार्यक्रममा इकाइगत प्रतिनिधि साथै उपभोक्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।










