आइतवार, चैत १५, २०८२
Sancharmanch

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

Posted by:
आइतवार, चैत १५, २०८२

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र नभई संलग्न सुरक्षा निकायका जिम्मेवार व्यक्तिहरूलाई समेत पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गरेको छ।

संगठनले जारी गरेको प्रेस विज्ञप्तिमा आन्दोलन दमनमा प्रत्यक्ष भूमिका खेलेका सम्पूर्ण पक्षमाथि निष्पक्ष छानबिन हुनुपर्ने उल्लेख गर्दै कुनै पनि दोषीलाई उन्मुक्ति दिन नहुने स्पष्ट पारेको छ। विज्ञप्तिमा भनिएको छ कि कानुनी राज्यको मर्मअनुसार जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई पनि कानुनको दायरामा ल्याउनु अनिवार्य छ।

साथै, दमनकारीलाई जोगाउने कुनै पनि प्रकारको प्रयास भए त्यसको कडा प्रतिवाद हुने चेतावनी दिइएको छ। “यदि यस्ता षड्यन्त्रहरू गरिए भने देशैभरिका युवाहरू थप सशक्त र कठोर संघर्षमा उत्रिनेछन्,” संगठनले जनाएको छ।

यस्तै, देशमा शान्ति सुव्यवस्था कायम गर्दै अराजकताको अन्त्य गर्न सरकार संवेदनशील र जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ। नागरिकहरूको सुरक्षा, अधिकारको प्रत्याभूति तथा विधिको शासन कायम गर्नु राज्यको प्रमुख दायित्व भएको पनि संगठनले स्मरण गराएको छ।

जेन्जी आन्दोलनसँग सम्बन्धित घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग पछिल्लो समय थप सशक्त बन्दै गएको छ।

सम्बन्धित खबर