शुक्रवार, चैत १३, २०८२
Sancharmanch

सुटिङ शुल्क विवाददेखि पर्यटन प्रवर्द्धनसम्म—बिर्तामोडमा चलचित्र बहस

Posted by:
शुक्रवार, चैत १३, २०८२
झापा, बिर्तामोड /नेपाली चलचित्रमा पर्यटन प्रवद्र्धन तथा युवाहरूको भूमिकाबारे केन्द्रित “चलचित्र चेतना कार्यशाला २०८२” बिर्तामोडमा सम्पन्न भएको छ। जनचेतना नेपालद्वारा आयोजित उक्त कार्यशाला नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डको सहकार्यमा सञ्चालन गरिएको हो। कार्यक्रममा नेपाली चलचित्र क्षेत्रमार्फत पर्यटन प्रवद्र्धन कसरी गर्न सकिन्छ र यसमा युवाहरूको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा छलफल गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ चलचित्र निर्माता चिरञ्जीवि बस्नेतले नेपालमा चलचित्र निर्माणका लागि धेरै राम्रा ठाउँहरू भए पनि झापाको अर्जुनधारा नगरपालिकाले भने चर्को शुल्क लिएका कारण नगरभित्रका क्षेत्रहरूमा छायाङ्कन गर्न नसकिएको बताउनुभयो। कार्यशाला बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसको सभाहलमा आयोजना गरिएको थियो। कार्यक्रममा चलचित्रकर्मी, युवा तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। जनचेतना नेपालले हरेक वर्ष चलचित्र सचेतना सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने गरेको जनचेतना नेपालका अध्यक्ष बालकृष्ण निरौलाले बताउनुभयो। नेपाली चलचित्र मनोरञ्जनको साधन मात्र नभएर देशका महत्वपूर्ण पर्यटकीय क्षेत्रको प्रचार–प्रसारको माध्यम बन्ने बताउँदै बिर्तामोड नगरपालिका वडा नं. ५ का अध्यक्ष रोहित प्रसाईंले आगामी दिनमा बिर्तामोड नगरपालिका वडा नं. ५ मा चलचित्रहरू सुटिङ गर्नुपर्ने अवस्था आएमा आफूले सक्ने सहयोगका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो। कार्यक्रममा जनचेतना नेपालसँग सहकार्य गर्दै सहयोग पुर्याउने बिर्तामोड–५, कृषिथोक छेउमा सञ्चालित सुविधासम्पन्न मेची डेन्टल केयर सेन्टर प्रालिका सञ्चालक तथा समाजसेवी नवीन सिटौलालाई सम्मानसमेत गरिएको थियो। कार्यक्रममा साहित्यकारहरूका प्रस्तुतिहरू समेत रहेका थिए। कार्यक्रममा सहभागी अधिकांश वक्ताहरूले चलचित्र निर्माण गर्ने सन्दर्भमा सुटिङ स्पट उपलब्धताका लागि स्थानीय सरकारको भूमिका सकारात्मक हुनुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा नेपाली सिने जगतका वरिष्ठ कलाकार हेमन्त बुढाथोकी, सांस्कृतिक महासंघ झापाका सभापति कुमार सिलवाल, सामाजिक अभियन्ता तथा युवा समाजसेवी आशिष वन लगायतको सहभागिता रहेको कार्यक्रम युवा समाजसेवी गोकुल पौडेलले सञ्चालन गर्नुभएको थियो। कार्यक्रम २०७२ साल चैत १३ गते सम्पन्न भएको आयोजकले जनाएको छ। यस्ता कार्यशालाले नेपाली चलचित्र क्षेत्रको विकाससँगै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास गरिएको छ ।
सम्बन्धित खबर