शुक्रवार, चैत १३, २०८२
Sancharmanch

“अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम” अन्तर्गत मेचीनगरमा आँखा शिविर सम्पन्न

Posted by:
शुक्रवार, चैत १३, २०८२

पुष्पलता अर्याल/ झापा, मेचीनगर ।अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य उपचार तथा पुनःस्थापनालाई लक्षित गर्दै मेचीनगर नगरपालिकामा एक दिने निःशुल्क आँखा उपचार शिविर सम्पन्न भएको छ।

मेची नेत्रालयको गुणस्तरीय प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो। अन्य शारीरिक उपचार सम्बन्धी तीन दिने निःशुल्क स्वास्थ्य उपचार शिविर सम्पन्न गर्दै चौथो दिन आँखा उपचार सम्बन्धी शिविर सम्पन्न गरिएको हो।

शिविरबाट प्रभावकारी सेवा प्रवाह भएको पूर्व क्षितिज अपाङ्ग संघका अध्यक्ष धर्मराज घिमिरेले बताउनुभयो।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, मेचीनगर नगरपालिका र करुणा फाउण्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा “अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम” अन्तर्गत शिविर सञ्चालन भएको थियो।

शिविर सञ्चालनमा महत्वपूर्ण योगदान गरेको झापा जिल्लाकै उत्कृष्ट सेवा र व्यवस्थापनसहित सञ्चालनमा रहेको मेची नेत्रालय विगत १९ वर्षदेखि आँखा उपचारको क्षेत्रमा सक्रिय रहेको छ।

आँखा सम्बन्धी सम्पूर्ण सेवाहरूसहित रेटिना सम्बन्धी सेवाहरू सञ्चालन भइरहेको आँखा अस्पतालका सञ्चालक तथा मेडिकल डाइरेक्टर शरदचन्द्र प्रकाश राईले बताउनुभयो।

शिविर चैत १२ गते एक दिनका लागि सञ्चालन भएको थियो। शिविरमा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी विशेष आँखा स्वास्थ्य सेवा प्रदान गरिएको छ।

शिविरमार्फत मेचीनगर नगरपालिकाको सेवा क्षेत्रभित्र बसोबास गर्ने अपाङ्गता भएका २९ जना नागरिकले सेवा लिएको बताइएको छ।

शिविरमा सबै प्रकारका सेवाहरू उपलब्ध भएको नगरस्तरीय ओपिडीका सहसचिव रविकुमार न्यौपानेले बताउनुभयो।

करुणा फाउण्डेशन, नगरपालिका, प्रदेश सरकारको लागत सहभागितामा सञ्चालन भएको “अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम” मात्र होइन, अन्य निःशुल्क शिविरहरूमा समेत मेची नेत्रालयले मेचीनगर नगरपालिकासँग सहकार्य गर्दै आएको छ।

मेची नेत्रालय आँखा अस्पतालले आँखा सम्बन्धी समस्या समाधानका लागि मेचीनगर नगरपालिकासँग सहकार्यमा प्रवाह भएका सेवाहरू प्रभावकारी रहेको आँखा अस्पतालका व्यवस्थापक पुनम प्रधानले बताउनुभयो।

कार्यक्रमको आयोजना मेचीनगर नगरपालिका, झापाले गरेको हो भने करुणा फाउण्डेशन नेपाल साथै मेची नेत्रालय आँखा अस्पतालको सहकार्य रहेको थियो।

त्रिपक्षीय सहयोगबाट सञ्चालनमा आएको “अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम” २०८१ सालबाट सञ्चालनमा रहेको छ।

शिविरबाट प्रवाह हुने सेवाहरूको प्रत्यक्ष रूपमा जानकारी लिँदै सेवाग्राही अपाङ्गता भएका व्यक्तिहरूको सन्तुष्टिका विषयमा जानकारी लिन नगर प्रमुख गोपाल चन्द्र बुढाथोकी, उपप्रमुख मिना पोख्रेल उप्रेती,

प्रमुख प्रशासनिक अधिकृत अग्नि प्रसाद अधिकारी, प्रशासन शाखा प्रमुख अनन्त प्रकाश बस्ती, महिला बालबालिका शाखा प्रमुख जयन्ती खरेल, “अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम” का नगर संयोजक पदम बराइली लगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित खबर