बिहिवार, चैत १२, २०८२
Sancharmanch

कनकाईमा आधारभूत झोला सिलाइ तालिम समापन तथा प्रमाण–पत्र वितरण

Posted by:
बिहिवार, चैत १२, २०८२

पुष्पलता अर्याल/झापा, कनकाई । झापाको कनकाई नगरपालिकामा सञ्चालन गरिएको आधारभूत झोला सिलाइ तालिम सम्पन्न भएको छ। तालिम समापनसँगै सहभागीहरूलाई प्रमाण–पत्र समेत वितरण गरिएको छ। गोपाल गौरी दिगो विकास प्रतिष्ठानका अध्यक्ष इन्दिरा शर्माले आफ्नो परिवारको बिछोडपछि संस्था स्थापना गर्नुभएको हो।

आफूसँग रहेको सम्पूर्ण सम्पत्ति संस्थालाई बुझाउनुभएको बताउँदै तालिम सहज र प्रभावकारी ढंगले सम्पन्न भएको कनकाई नगरपालिका उपप्रमुख आशा शर्मा शिवाकोटीले बताउनुभयो।

कनकाई नगरपालिका वडा नं. ५ तथा नगरपालिका र गोपाल गौरी दिगो विकास प्रतिष्ठानको आर्थिक साझेदारीमा उक्त तालिम सञ्चालन गरिएको थियो।

तालिमले स्थानीय १० जना महिलाहरूलाई सीपमूलक बनाउँदै आत्मनिर्भर बनाउने उद्देश्य राखेको आयोजकले जनाएको छ।

तालिमले प्रशिक्षक उत्पादन गर्न सकोस् भन्ने अभिप्रायका साथ १५ दिनसम्मको कार्यक्रम आयोजना गरेको कनकाई नगरपालिका वडा नं. ५ का अध्यक्ष कृष्ण बहादुर लिम्बुले बताउनुभयो।

तालिमका सहभागीहरूले सिकेको सीपलाई आयआर्जनसँग जोड्ने अपेक्षा गरिएको छ। वडाले विकास निर्माणका क्षेत्रमा धेरै कार्यक्रमहरू सञ्चालन भएको बताउँदै सिलाइ कटाइ, अन्य सीपमूलक कार्यक्रमहरू सञ्चालन भएको वडा सदस्य सावित्रा बर्देवाले बताउनुभयो।

तालिममा सहभागी प्रशिक्षार्थी मञ्जु राई खड्काले तालिममा सब्जी झोलाबाट सुरु गरेको साथै गुणस्तरीय सामग्री उपलब्ध भएको बताउनुभयो।

त्यस्तै तालिममा सहभागी जानुका खातीले तालिम शून्यबाट सुरु भएको बताउँदै प्रशिक्षकले राम्रोसँग सीप प्रदान गरेको बताउनुभयो।

तालिम १५ दिनको भए पनि निर्वाचनका कारण बीचमा रोकिएको थियो।

सामान्य मेसिन चलाउन नजान्ने प्रशिक्षार्थीले तालिम सम्पन्न हुँदाका बखतमा राम्ररी झोला सिलाउन जान्ने भएको साथै संस्थाको कार्यालय झिलझिलेसम्म पुग्न सके निःशुल्क रूपमा थप तालिम दिने प्रशिक्षक उमा शिवाकोटीले बताउनुभयो।

कार्यक्रममा गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी अध्यक्ष इन्दिरा शर्माको उपस्थिति नरहँदा खल्लो महसुस भएको बताउँदै कार्यक्रमकी अध्यक्ष साथै प्रतिष्ठानकी केन्द्रीय सदस्य भगवती गुरागाईँले तालिमबाट निर्माण भएका झोलाहरू सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई वितरण गरिने बताउनुभयो।

कार्यक्रममा गोपाल गौरी दिगो विकास प्रतिष्ठानले प्राविधिक सहयोग गरेको थियो। स्थानीय तहको पहलमा सञ्चालन हुने यस्ता सीपमूलक तालिमहरूले महिलाहरूको आर्थिक सशक्तीकरणमा टेवा पुर्याउने विश्वास गरिएको छ।

तालिम समापन कार्यक्रममा गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी सदस्य भगवती गुरागाईँको अध्यक्षता रहेको कार्यक्रम कनकाई नगरपालिका उपप्रमुख आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्यता रहेको थियो।

जनप्रतिनिधि, कर्मचारी, प्रशिक्षार्थी लगायतको उपस्थिति रहेको कार्यक्रम संस्थाकी झापा सदस्य कमला कट्टेलले सञ्चालन गर्नुभएको थियो।

सम्बन्धित खबर