पुष्पलता अर्याल/ झापा, मेचीनगर, अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य उपचार तथा पुनःस्थापनालाई लक्षित गर्दै मेचीनगर नगरपालिकामा तीन दिने निःशुल्क स्वास्थ्य उपचार शिविर सञ्चालन गरेको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, मेचीनगर नगरपालिका र करुणा फाउण्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा “अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम” अन्तर्गत उक्त शिविर सञ्चालन भएको हो।

विगत ३ वर्षदेखि यो कार्यक्रम सञ्चालन भएको बताउँदै समाजमा असहज जीवन बाँचिरहेका नागरिकहरूलाई सहज जीवनयापन गर्न सहयोग पुग्ने गरी विभिन्न निकायको सहयोगमा कार्यक्रम सञ्चालन भएको मेचीनगर नगरपालिका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बताउनुभयो।

शिविर चैत ९ गतेदेखि ११ गतेसम्म (तीन दिन) सञ्चालन भएको थियो। शिविरमा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी विशेष स्वास्थ्य सेवा प्रदान गरिएको छ।

त्रिदिवसीय शिविरमार्फत मेचीनगर नगरपालिकाको सेवा क्षेत्रभित्र बसोबास गर्ने अपाङ्गता भएका १०३ जना नागरिकले सेवा लिएको बताइएको छ।

अपाङ्गता भएका नागरिकहरूका लागि विगतमा अपाङ्गता परिचयपत्र मात्र वितरण गरिएको स्मरण गर्दै नगर उपप्रमुख मिना पोख्रेल उप्रेतीले करुणा फाउण्डेशनसँगको सहकार्यको समय समाप्त भए पनि पालिका स्तरबाट कार्यक्रम सञ्चालन गरिने बताउनुभयो।

शिविर सञ्चालनका लागि विभिन्न स्थानहरू निर्धारण गरिएको थियो, जसमा बाहुण्डाँगी स्वास्थ्य चौकी, धाइजन स्वास्थ्य चौकी तथा मेचीनगर आधारभूत स्वास्थ्य केन्द्र, धुलाबारी रहेका थिए।

करुणा फाउण्डेशन, नगरपालिका, प्रदेश सरकारको लागत सहभागितामा सञ्चालन भएको “अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम” राज्यको दायित्व महसुस गरेर सञ्चालन भएका गतिविधि प्रभावकारी रहेको प्रमुख प्रशासनिक अधिकृत अग्नि प्रसाद अधिकारीले बताउनुभयो।

कार्यक्रमको आयोजना मेचीनगर नगरपालिका, झापाले गरेको हो भने करुणा फाउण्डेशन नेपाल लगायत विभिन्न निकायहरूको सहकार्य रहेको थियो।

त्रिपक्षीय सहयोगबाट सञ्चालनमा आएको “अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम” मार्फत सञ्चालन भएको शिविरबाट थप उपचारका लागि जिल्लाका अन्य सुविधा सम्पन्न अस्पतालहरूमा लगेर सेवा प्रवाह गरिने मेचीनगर नगरपालिका वडा नं. १० का सदस्य सोम ओझाले बताउनुभयो।

२०८१ सालबाट सञ्चालित “अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम” मार्फत अपाङ्गता भएका व्यक्तिहरूको पहिचान कार्यक्रममार्फत पहिचान भएका व्यक्तिहरूका लागि नगरका विभिन्न स्थानमा शिविर सञ्चालन गरिएको, त्यसै गरी चैत १२ गते आँखा उपचार सम्बन्धी शिविरको आयोजना गरिएको महिला बालबालिका शाखा प्रमुख जयन्ती खरेलले बताउनुभयो।

तीनदिने शिविरको प्राविधिक व्यवस्थापन मेचीनगर नगरपालिका स्वास्थ्य शाखामार्फत भएको थियो।

मेचीनगर नगर अस्पतालको सहयोगका साथै स्वास्थ्य शाखामार्फत समन्वय गरी बी एण्ड सी अस्पतालको समेत प्राविधिक सहयोग रहेको “अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम” का नगर संयोजक पदम बराईलीले बताउनुभयो।

यस कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य सुधार, पुनःस्थापना तथा जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

“अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम” ले अपाङ्गता भएका व्यक्तिहरूका लागि कस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्न सकिने रहेछ भन्ने उदाहरणका साथै प्रभावकारी सेवा प्रवाहमा राज्यको दायित्व बोध गराएको छ।