विकाश उप्रेती/झापा, कनकाई , झापाको कनकाई नगरपालिकाले आगलागीजन्य विपद् व्यवस्थापनलाई छरितो, प्रभावकारी र प्रविधिमैत्री बनाउन प्रयोगात्मक रूपमा सञ्चालनमा ल्याएको ‘फायर बाइक’ आइतबार औपचारिक रूपमा प्रदर्शनी गरिएको छ।

नगरपालिकाको कार्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा नगर प्रहरीले आगलागी नियन्त्रण तथा विपद् व्यवस्थापनमा अपनाइने रणनीतिबारे जानकारी दिँदै ‘फायर बाइक’ को प्रयोगमार्फत कसरी न्यूनतम समयमै घटनास्थलमा पुगेर प्रारम्भिक नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा व्यावहारिक प्रदर्शन गरेको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाईसहित बिर्तामोड, अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकाको सहकार्य तथा प्रदेश सरकारको समन्वयमा स्थापना हुन लागेको एकीकृत विपद् व्यवस्थापन केन्द्र निर्माणको कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।

उहाँका अनुसार उक्त केन्द्र सञ्चालनमा आएपछि ठूला विपद्का घटनामा समन्वय, स्रोत परिचालन र व्यवस्थापन थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

त्यसअघि नै नगरभित्र हुने साना तथा आकस्मिक आगलागीजन्य घटनामा तत्काल उद्धार र नियन्त्रणका लागि ‘फायर बाइक’ प्रभावकारी माध्यमका रूपमा अघि सारिएको हो। साँघुरा गल्ली तथा पहुँचमा कठिन स्थानमा समेत सहज रूपमा पुग्न सक्ने भएकाले यो प्रविधि स्थानीय तहका लागि उपयोगी सावित हुने विश्वास गरिएको छ।

नगरपालिकाले समयसापेक्ष प्रविधि अवलम्बन गर्ने क्रममा ‘फायर बाइक’ सञ्चालनमा ल्याएको जनाएको छ। संयुक्त विपद् व्यवस्थापन केन्द्र स्थापना भएपछि जनशक्ति र अत्याधुनिक उपकरणको सहज उपलब्धता हुने भए पनि तत्कालका लागि नगरबासीको सुरक्षामा ‘फायर बाइक’ ले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

यसै अवसरमा ‘कता हो’ एप्सको प्रयोगबारे समेत जानकारी गराइएको थियो। इआरसी विशेषज्ञ रामप्रसाद रिमालका अनुसार उक्त एप्समार्फत नगरबासीले स्वास्थ्य आपतकाल, चोरी तथा आगलागी जस्ता घटनाबारे तुरुन्तै सूचना प्रवाह गर्न सक्नेछन्।

एप्सबाट पठाइएको सूचना सम्बन्धित घरका दुई सदस्यसहित नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विपद् सम्पर्क व्यक्ति तथा सम्बन्धित निकायमा एकैसाथ पुग्ने व्यवस्था गरिएको छ। साथै आपतकालीन अवस्थामा साइरन बज्ने, क्यूआर कोडमार्फत घटनास्थलको लोकेशन पहिचान गर्न सकिने जस्ता प्रविधि पनि समावेश गरिएको छ।

‘कता हो’ एप्सले एकैपटक १० जनासम्म सन्देश पठाउने सुविधा प्रदान गर्ने भएकाले उद्धार तथा व्यवस्थापन कार्यलाई थप छिटो र समन्वयात्मक बनाउने विश्वास लिइएको छ।

कार्यक्रममा विपद् विज्ञ डीएसपी किशोरकुमार भट्टराईले ‘फायर बाइक’ को प्रयोग विधि तथा विपद्का बेला अपनाउनुपर्ने सावधानीबारे व्यावहारिक प्रशिक्षण दिनुभएको थियो। साथै दुर्घटनामा घाइते व्यक्तिलाई तत्काल प्रदान गरिने प्राथमिक उपचारसम्बन्धी सीपसमेत नगर प्रहरीलाई हस्तान्तरण गरिएको थियो।
उक्त कार्यक्रममा नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने, वडाध्यक्षहरू, कार्यपालिका सदस्य, कर्मचारी तथा स्थानीय सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण नगरका विपद् सम्पर्क व्यक्ति उमानाथ ढकालले गर्नुभएको थियो।










