पुष्पलता अर्याल, झापा / ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस को अवसरमा मेचीनगर नगरपालिका ले विभिन्न क्षेत्रमा श्रम गर्दै आएका ९० जना महिलालाई सम्मान गरेको छ ।

बिहीबार मेचीनगर नगरपालिकाको महिला, बालबालिका तथा समाजकल्याण शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा कुच्चो उद्योगमा कार्यरत श्रमिक, सिटी रिक्सा चलाउने महिला, अपाङ्गता भएका बालबालिकाका अभिभावक तथा विभिन्न पेशा–व्यवसायमा संलग्न महिलाहरूलाई सम्मान गरिएको हो ।

सम्मानित महिलालाई कार्यक्रमका अतिथिहरूले दोसल्ला ओढाएर नगदसहित सम्मान गर्नुभएको थियो ।

नगरपालिकाले श्रमको माध्यमबाट परिवार र समाजमा योगदान पु¥याइरहेका महिलाको सम्मान गर्दै उनीहरूको हौसला अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ । सम्मानित महिलाहरूले लामो समयदेखि विभिन्न क्षेत्रमा श्रम गर्दै जीविकोपार्जन गर्दै आएका छन् ।

कार्यक्रममा नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, नगर उपप्रमुख मीना पोखरेल उप्रेती, महिला तथा बालबालिका शाखा प्रमुख जयन्ती खरेल तथा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजनाकी लैङ्गिक हिंसा प्रतिकार्य विज्ञ कमला उप्रेतीले संयुक्त रूपमा सम्मान गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बुढाथोकीले पुरुषप्रधान समाजमा अझै पनि महिलाले विभिन्न किसिमका चुनौती र विभेद सामना गर्नुपरेको उल्लेख गर्नुभयो ।

उहाँले कानुनी प्रक्रिया र सामाजिक संरचनाका कारण महिलामाथि कतिपय अवस्थामा अझै पनि असमान व्यवहार भइरहेको बताउँदै त्यसको अन्त्य गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै उपप्रमुख मीना पोखरेल उप्रेतीले सम्मान कार्यक्रम निर्वाचनका कारण केही ढिलो भए पनि विभिन्न क्षेत्रमा योगदान पुर्याइरहेका महिलालाई सम्मान गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले आगामी दिनमा महिलाको क्षमता विकास र सशक्तीकरणका लागि थप कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।

उपप्रमुख उप्रेतीले निकट भविष्यमा अटिजम भएका बालबालिकाका लागि थेरापी सेन्टर स्थापना गर्ने योजना रहेको बताउँदै महिलालाई कानुनी जानकारी प्रदान गर्ने तथा प्रविधिमैत्री बनाउने कार्यक्रम पनि नगरपालिकाले सञ्चालन गर्ने तयारी गरिरहेको बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले महिला र पुरुषबीच देखिने विभेद अन्त्य हुँदै गएको उल्लेख गर्नुभयो ।

उहाँले पछिल्लो समय महिलालाई श्रम, सम्पत्ति तथा मताधिकारको क्षेत्रमा सम्मानजनक व्यवहार गर्न थालिएको बताउनुभयो ।

समाजमा समानता कायम गर्न सबै नागरिक सचेत र जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो ।

नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख जयन्ती खरेलले सहजीकरण गरेको कार्यक्रममा

लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजनाकी लैङ्गिक हिंसा प्रतिकार्य विज्ञ कमला उप्रेती तथा केस म्यानेजर अरुणा चौधरीले लैङ्गिक हिंसा न्यूनीकरणका विषयमा जानकारी गराउनुभएको थियो ।

नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रममार्फत श्रमिक तथा गृहिणी महिलाको योगदानलाई सम्मान गर्दै समाजमा महिलाको भूमिकालाई थप उजागर गर्ने प्रयास गरिएको जनाइएको छ ।

साथै यस्तो कार्यक्रमले महिलाको मनोबल बढाउने र उनीहरूलाई समाजमा अझ सक्रिय रूपमा अघि बढ्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।