पुष्पलता अर्याल, झापा / झापाको बिर्तामोड नगरपालिका वडा नं. ४ स्थित राष्ट्रिय स्वतन्त्र पार्टी वडा कार्यसमितिले धन्यवाद तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ ।

हालै सम्पन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा झापा जिल्ला क्षेत्र नं. २ बाट विजयी भएकी इन्दिरा रानामगर लाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै कार्यक्रम आयोजना गरिएको हो ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रानामगरले उल्लेखनीय मतान्तरका साथ विजय हासिल गरेपछि वडा कार्यसमितिले मतदाताप्रति कृतज्ञता व्यक्त गर्दै उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ ।

कार्यक्रमको अवसरमा वडाका मतदातालाई धन्यवाद ज्ञापन गर्दै निर्वाचित सांसदलाई वडाका विभिन्न टोल तथा समुदायसम्म पुर्याउने अभियानसमेत सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा बोल्दै नगर कार्यसमितिका सभापति दीपक दाहालले आम नागरिकको विश्वास र समर्थनका कारण देशभर रास्वपाले उल्लेखनीय सफलता हासिल गरेको बताउनुभयो । उहाँले जनताको अपेक्षा अनुसार काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै निर्वाचित जनप्रतिनिधिले नागरिकप्रति उत्तरदायी भएर विकास र सुशासनको पक्षमा काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले जनताको भरोसालाई कायम राख्दै देशको विकास र समृद्धिका लागि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । दाहालले जनताले दिएको विश्वासलाई कायम राख्न पारदर्शिता, इमानदारी र जवाफदेहिताको संस्कृति बलियो बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

त्यस्तै कार्यक्रममा वडा नं. ४ कार्यसमितिका सभापति लक्ष्मी खरेलले रास्वपा अहिले आम नागरिकको भरोसाको केन्द्र बनेको बताउनुभयो । उहाँले पार्टीले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न टोलदेखि वडा तहसम्मका नेतृत्व सक्रिय भएर लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

खरेलले सुशासन कायम गर्दै भ्रष्टाचार अन्त्य गर्नु वर्तमान सरकार र राजनीतिक नेतृत्वको पहिलो दायित्व भएको उल्लेख गर्नुभयो। उहाँले जनताले दिएको मतको सम्मान गर्दै विकास, पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले देशभर उल्लेखनीय सफलता हासिल गरेको दाबी गरिएको छ । प्रत्यक्षतर्फ १२५ निर्वाचन क्षेत्रमा पार्टीले विजय हासिल गर्दै देशकै ठूलो दल बनेको छ ।

त्यस्तै झापा जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा पनि रास्वपाले उल्लेखनीय मतान्तरका साथ सफलता प्राप्त गरेको दाबी गरिएको छ । झापा क्षेत्र नं. २ मा पार्टीले पूर्व उपसभामुख इन्दिरा रानामगरलाई उम्मेदवार बनाएको थियो ।

निर्वाचन परिणामअनुसार रानामगरले ६० हजार ११० मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको थियो । उनका निकटतम प्रतिद्वन्द्वी देवराज घिमिरे ले ११ हजार ३६८ मत प्राप्त गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचित सांसद इन्दिरा रानामगरले धेरै बोल्ने भन्दा पनि जनताको काम गरेर सुशासन कायम गर्न आफु लागि पर्ने बताउनुभयो ।

कार्यक्रममा स्थानीय कार्यकर्ता, समर्थक तथा मतदाताको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले निर्वाचित सांसदले जनताको अपेक्षा अनुसार काम गर्दै क्षेत्रको विकास र समृद्धिका लागि सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रमका वक्ताहरूले लोकतान्त्रिक व्यवस्थामा जनमतको सम्मान गर्दै जनप्रतिनिधिले नागरिकको हितमा काम गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले आगामी दिनमा जनताको भरोसालाई कायम राख्दै विकास र सुशासनका क्षेत्रमा उल्लेखनीय काम हुने अपेक्षा व्यक्त गरेका छन् ।