सोमवार, फागुन २५, २०८२
Sancharmanch

कनकाई–१ मा एक महिने आधारभूत ब्युटिसियन तालिम सम्पन्न, २० महिलालाई स्वरोजगारतर्फ प्रोत्साहन

Posted by:
सोमवार, फागुन २५, २०८२
विकास उप्रेती, कनकाई, झापा /  झापाको कनकाई नगरपालिका वडा नम्बर १ को आयोजनामा सञ्चालन गरिएको एक महिने आधारभूत ब्युटिसियन तालिम सम्पन्न भएको छ । महिलालाई सीपमूलक तालिम प्रदान गरी स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको हो । वडा नम्बर ७ दुर्गापुरमा सञ्चालित फ्लोरिडा ब्युटि सैलुन र श्रृङ्गार ब्युटि सैलुनको प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको थियो । माघ महिनामा उद्घाटन गरिएको उक्त तालिम करिब एक महिनासम्म सञ्चालन भएको आयोजकले जनाएको छ । तालिम अवधिभर सहभागी महिलालाई सौन्दर्यसम्बन्धी आधारभूत ज्ञान तथा सीप प्रदान गरिएको थियो । वडा नम्बर १ भित्र रहेका ९ वटा टोल विकास संस्थाबाट छनोट गरिएका महिलाहरुलाई तालिममा सहभागी गराइएको थियो । २० जना महिलाले तालिममा सहभागिता जनाएको वडा कार्यालयले जनाएको छ । तालिममा सहभागी महिलालाई अनुहार स्याहार, मेकअप, कपाल कटिङ तथा ब्युटिसियनसम्बन्धी अन्य आधारभूत सीपका विषयमा प्रशिक्षण दिइएको थियो । वडा नम्बर १ का वडा अध्यक्ष सुशीलकुमार पोखरेलका अनुसार आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रमअन्तर्गत महिला लक्षित स्वरोजगार कार्यक्रममार्फत उक्त तालिम सञ्चालन गरिएको हो । महिलालाई आत्मनिर्भर बनाउने र सीपका माध्यमबाट आयआर्जनको अवसर सिर्जना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । तालिममा फ्लोरिडा ब्युटि सैलुनका सञ्चालक आशा जोशी र श्रृङ्गार ब्युटि सैलुनका सञ्चालक सीता कार्कीले प्रशिक्षकका रूपमा प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षकहरूले ब्युटिसियन क्षेत्रको आधारभूत सीप सिकाएर महिलालाई व्यावसायिक रूपमा काम गर्न सक्ने बनाउने प्रयास गरिएको बताउनुभएको छ । कार्यक्रमको समापन समारोह वडा सदस्य दलबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । समापन कार्यक्रममा कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेल प्रमुख अतिथिका रूपमा रहनुभएको थियो । कार्यक्रममा नगर उपप्रमुख आशा शर्मा शिवाकोटी विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । वडा नम्बर १ का सदस्य हरिकुमार राईले स्वागत गर्नुभएको समापन समारोहमा तालिममा सहभागी महिलालाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रम वडा सदस्य तथा कार्यपालिका सदस्य निर्मला खड्काले सञ्चालन गर्नुभएको थियो । महिलालाई सीपमूलक तालिम प्रदान गरेर आत्मनिर्भर बनाउने कार्य स्थानीय तहका लागि महत्वपूर्ण रहेको तालिममा सहभागिहरुको प्रतिकृया थियो । उनीहरूले यस्तो तालिमले महिलालाई घरमै बसेर वा सानो लगानीमा पनि व्यवसाय सुरु गर्न सहयोग पुग्ने बताएकाछन् । त्यसैगरी तालिममा सहभागी महिलाहरूले आफूहरूले प्राप्त गरेको ज्ञान र सीपलाई व्यवहारमा प्रयोग गर्दै आयआर्जनतर्फ लाग्ने बताएका छन् । साथै, उनीहरूले आगामी दिनमा थप माथिल्लो तस्तरको तालिमको आवश्यकता रहेको पनि औंल्याएका छन् । उक्त तालिम कनकाई नगरपालिका दलित सामुदायिक भवन मा सञ्चालन गरिएको थियो । कार्यक्रमबाट महिलाहरूलाई स्वरोजगारतर्फ अग्रसर हुन प्रेरणा मिलेको आयोजकको विश्वास रहेको छ । स्थानीय तहको पहलमा सञ्चालन हुने यस्ता सीपमूलक कार्यक्रमले महिलाको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्यााउने अपेक्षा गरिएको छ ।
सम्बन्धित खबर