झापा/ सामाजिक सञ्जालमा फेक आइडी बनाएर असुली धन्दामा संलग्न झापा बिर्तामोडका एक युवालाई प्रहरीले गिरफ्तार गरेको छ। पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका–१ का २३ वर्षीय विभूतजंग कार्की छन्। उनले गिरी थरका एक युवालाई ठगेको प्रहरीले जनाएको छ। पैसा असुल्न कार्कीले लामै जाल बुनेका थिए। हालसालै रास्वपा प्रवेश गरेका बिर्तामोडका बलराम कार्कीका छोरा विभूतजंग कार्कीलाई मंगलबार मेचिनगर नगरपालिकामा सञ्चालित एक सुधार गृहबाट प्रहरीले पक्राउ गरेको थियो।

छोरो पक्राउ परेका कार्की यतिबेला पीडितलाई अनेक तवरले यातना दिन लागिपरेको बुझिएको छ। अन्य व्यक्तिहरूको सहारा लिएर फोन गराउँदै मिलापत्र गर्न बाध्य बनाउने प्रपञ्चमा नेता बलराम कार्की लागिपरेको बुझिएको छ। कार्की बिहीबार पीडितलाई खोज्दै साथी लिएर एक सहकारीमा समेत पुगेको पाइएको छ।

अन्य सरोकार नजोडिएका व्यक्तिहरू लगाएर फोन गराउँदै बारम्बार मानसिक यातना दिइरहेको पीडितको गुनासो छ। तर इलाका प्रहरी कार्यालय बिर्तामोड भने यो मुद्दा भित्रभित्रै मिलाउन लागिपरेको बुझिएको छ, जसले ठगी धन्दामा प्रहरीको प्रसय बढ्ने पो हो कि भन्ने आशंका थपिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नवप्रवेशी कार्कीलाई बिर्तामोडको मेयरको टिकट दिने भित्री सहमतिका साथ पार्टीमा इमानदार नेताको रूपमा अगाडि बढाएको आकलन गरिएको छ।










