झापा/ झापा क्षेत्र नम्बर २ मा करिब एक दशकपछि नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’मा मतदान गर्ने अवसर प्राप्त भएको सन्दर्भमा मतदाता उत्साहित देखिएका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै क्षेत्रभर राजनीतिक माहोल तातेको छ भने नेपाली कांग्रेसका उम्मेदवारप्रति समर्थन बढ्दो रहेको संकेत देखिएको छ ।

यस निर्वाचनमा झापा–२ बाट नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सरिता प्रसाई मैदानमा हुनुहुन्छ । त्यसैगरी समानुपातिकतर्फ उमा शिवाकोटी र मनमाया विश्वकर्मा उम्मेदवार रहनुभएको छ । तीनै जना उम्मेदवारले क्षेत्रका मतदातासँग भेटघाट, घरदैलो र अन्तरक्रियालाई तीव्रता दिएका छन् ।

यही सन्दर्भ पारेर नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, विर्तामोड नगर कार्यसमितिले उम्मेदवारसँग साक्षात्कार कार्यक्रमको आयोजना गरेको छ । विर्तामोड नगरपालिकाभित्रका विभिन्न जातजाति, भाषा, धर्म तथा संस्कार–संस्कृतिसँग सम्बन्धित नागरिकहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा चुनावी एजेण्डा, समावेशिता र विकासका विषयमा खुला छलफल गरिएको थियो ।

कार्यक्रममा सहभागी वक्ताहरूले झापा–२ मा नेपाली कांग्रेसको संगठनात्मक अवस्था सुदृढ बन्दै गएको उल्लेख गर्दै यस पटकको निर्वाचनमा सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरेका थिए ।

उपस्थित जनलहरले सरिता प्रसाईलाई झापा–२ मा नेपाली कांग्रेसको दरिलो खम्बाका रूपमा अघि सारिएको संकेत दिएको विश्लेसकहरु बताउँछन् ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, विर्तामोड नगर कार्यसमितिका अध्यक्ष आनन्द गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि थापाले लोकतान्त्रिक मूल्य, समावेशी प्रतिनिधित्व र विकासको निरन्तरताका लागि नेपाली कांग्रेसलाई सशक्त बनाउनु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

उम्मेदवार सरिता प्रसाईले आफूलाई दिएको विश्वासप्रति आभार व्यक्त गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी, महिला सशक्तीकरण र संविधान कार्यान्वयनलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले झापा–२ को समग्र विकास र सामाजिक सद्भाव कायम राख्न सबै जातजाति र समुदायको साथ आवश्यक रहेको बताउनुभयो ।

समानुपातिक उम्मेदवारले पनि समावेशी लोकतन्त्र सुदृढीकरणका लागि आफ्नो उम्मेदवारी रहेको स्पष्ट पार्दै आदिवासी जनजाति, महिला तथा सीमान्तकृत समुदायको आवाज संसदसम्म पुर्याउने प्रतिबद्धता जनाउनु भएको छ ।

कार्यक्रममा सहभागी नागरिकहरूले लामो समयपछि ‘रुख’ चुनाव चिन्हमा मतदान गर्ने अवसर पाएको उल्लेख गर्दै यस पटक परिणामलाई जितमा परिणत गर्न प्रतिबद्ध रहेको प्रतिक्रिया दिएका थिए । यस अघि झापा क्षेत्र नं. २ मा पटक / पटक नेपाली कांग्रेसले विभिन्न पार्टिहरुसँग क्षेत्रगत साझेदारी गरेका कारण यहाँका मतदाताहरुले रुख चुनाव चिन्हमा मत दिन पाएका थिएनन् । यस पटक भने सुदृढ कांग्रेसले आफ्नो स्वाभिमान उच्च राख्दै नयाँ भर्जन 2.Oकासाथ कसैसँग सम्झौता नगरी देशैभर चुनावी मैदानमा छ । राजनीतिक विश्लेषकहरूका अनुसार झापा–२ मा यस पटक चुनावी प्रतिस्पर्धा रोचक बन्ने संकेत देखिएको छ ।

फागुन २१ गतेको निर्वाचनलाई लक्षित गर्दै क्षेत्रका विभिन्न स्थानमा यस्ता साक्षात्कार, अन्तरक्रिया तथा जनभेट कार्यक्रमहरू बढ्दै गएका छन् । चुनाव नजिकिँदै जाँदा मतदाता उत्साह र राजनीतिक सक्रियता अझ तीव्र हुने देखिएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्य समिति झापाका सचिव कृष्ण हुमागाई, कोषाध्यक्ष जलकुमार गुरुङ, क्षेत्र नं. २ का सभापति खगेन्द्र मैनाली, पूर्व जनप्रतिनिधी कुल प्रसाद संग्रौला लगायत नेता तथा कार्यकर्ता, आम नागरिक लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।