पुष्पलता अर्याल,झापा/ झापाको विर्तामोड नगरपालिकामा स्थापित उर्जाशील रामधुनी आमा समूह ले सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्दै ‘रु ५ मा खाना’ अभियान सञ्चालन गरिरहेको किङ्ग गोर्खा फाउन्डेशन (के जि एफ) लाई आर्थिक साथै खाद्यान्न सहयोग गरेको छ । दैनिक छाक टार्न कठिनाइ भोगिरहेका नागरिकलाई लक्षित गरी सञ्चालन हुँदै आएको अभियानलाई निरन्तरता दिन समूहले हातेमालो गरेको हो ।

कार्यक्रम समूहकी सदस्य गंगा लुइटेल अधिकारीको जन्ममहिनाको अवसर पारेर आयोजना गरिएको थियो । व्यक्तिगत खुसीलाई सामाजिक सेवासँग जोड्ने उद्देश्यले गरिएको सहयोगले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको सहभागीहरूले बताएका छन् । पछिल्लो समय जन्मदिन, वार्षिकोत्सव जस्ता अवसरहरूलाई परोपकारी कार्यसँग जोड्ने अभ्यास बढ्दै गएको सन्दर्भमा आमा समूहको पहललाई सकारात्मक सन्देशका रूपमा हेरिएको छ ।

विर्तामोड नगरपालिका वडा नं. ५ का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि रोहित प्रसाईले यस्तो सहकार्यप्रति खुसी व्यक्त गर्नुभयो । उहाँले स्थानीय तह, सामाजिक संस्था र नागरिकबीच सहकार्य हुन सके मात्र यस्ता मानवीय अभियानले दीर्घकालीन प्रभाव पार्न सक्ने धारणा राख्नुभयो। “सामाजिक सेवामा महिलाहरूको सक्रियता प्रेरणादायी छ,” उहाँले भन्नुभयो, “यस्ता अभियानले समाजमा सहानुभूति र सहकार्यको भावना बलियो बनाउँछ ।”

उर्जाशील रामधुनी आमा समूहले हरेक महिना यस्तै परोपकारी गतिविधि गर्दै आएको जनाएको छ । विशेषगरी विपन्न, असहाय तथा श्रमिक वर्गलाई लक्षित गर्दै सहयोगका कार्यक्रम सञ्चालन गर्ने समूहको परम्परा रहेको छ । माघ महिनाको मासिक कार्यक्रम अन्तर्गत खाना खान नपाउने अवस्थाका नागरिकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले यसपटक ‘रु ५ मा खाना’ अभियानमा आर्थिक सहयोग प्रदान गरिएको समूहकी अध्यक्ष गंगा शिवकाकोटी ढकालले बताउनुभयो ।

किङ्ग गोर्खा फाउन्डेशनका अध्यक्ष, बिक्रम लिम्बुले सहयोगप्रति आभार व्यक्त गर्दै सबैको साथ र सहयोग निरन्तर रहे निःशुल्क तथा सहुलियत भोजन कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने बताउनुभयो । उहाँका अनुसार, ‘रु ५ मा खाना’ अभियानले दैनिक ज्यालादारी कामदार, वृद्धवृद्धा, असहाय तथा आर्थिक अभाव झेलिरहेका नागरिकलाई प्रत्यक्ष राहत पुर्याउदै आएको छ । समुदायको सहकार्य बढ्दै जाँदा अभियानलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न सहज हुने उहाँको विश्वास छ ।

कार्यक्रम गंगा शिवाकोटी (ढकाल), उर्जाशील रामधुनी आमा समूहकी अध्यक्ष, को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष, मेघराज वाँस्तोला, लगायत आमा समूहका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन समूहकी सचिव निरा न्यौपाने कट्टेलले गर्नुभएको थियो ।

स्थानीय स्तरमै सञ्चालन भइरहेको ‘रु ५ मा खाना’ अभियानले सामाजिक सद्भाव र साझेदारीको भावना अभिवृद्धि गरिरहेको छ। थोरै शुल्कमा पौष्टिक भोजन उपलब्ध गराउने यस पहलले विपन्न वर्गलाई राहत दिनुका साथै समाजमा सहयोग र सहानुभूतिको संस्कार विस्तार गरिरहेको छ। सामाजिक संस्थाहरूबीच सहकार्यको संस्कृति विकास हुँदै गएमा यस्ता अभियानहरू अझ व्यवस्थित र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

उर्जाशील रामधुनी आमा समूहको यो पहल केवल आर्थिक सहयोगमा सीमित छैन; यसले समुदायमा महिला नेतृत्व, सामाजिक उत्तरदायित्व र साझा उत्तरदायित्वको सन्देश पनि प्रवाह गरेको छ । व्यक्तिगत अवसरलाई सामाजिक सेवासँग जोड्दै अघि बढेको यो अभ्यासले समाजमा सकारात्मक ऊर्जा फैलाएको सहभागीहरूको भनाइ छ ।

स्थानीय तह, सामाजिक संस्था र समुदायबीचको यस्तो सहकार्यले विर्तामोडमा मानवीय सेवाको दायरा फराकिलो बनाउँदै लगेको देखिन्छ । निरन्तरता र पारदर्शितासहित अघि बढाइएमा ‘रु ५ मा खाना’ अभियानले अझ धेरै नागरिकलाई राहत पु¥याउने विश्वास गरिएको छ ।