शुक्रवार, माघ २४, २०८२
Sancharmanch

टावर टेम्पल स्कुलको २९औँ वार्षिकोत्सवमा मन्सुन भण्डारीलाई ‘स्टुडेन्ट अफ द इयर’ सम्मान

Posted by:
शुक्रवार, माघ २४, २०८२
विर्तामोड, झापा/ बिर्तामोडस्थित प्रतिष्ठित शैक्षिक संस्था टावर टेम्पल स्कुलको २९औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । माघ २३ गते विद्यालय प्राङ्गणमा आयोजित समारोहले शैक्षिक उपलब्धिसँगै खेलकुद, सांस्कृतिक तथा सह–पाठ्यक्रम गतिविधिलाई समान महत्व दिएको सन्देश दिएको छ । वार्षिकोत्सव कार्यक्रम विद्यार्थीहरूका अन्तरनिहित प्रतिभा उजागर गर्ने उद्देश्यले खुला मञ्चका रूपमा सञ्चालन गरिएको थियो । कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले नृत्य, गायन तथा विभिन्न सृजनात्मक प्रस्तुति मार्फत दर्शकको मन जितेका थिए । विद्यालय प्राङ्गण उत्साह, रंगीन सजावट र विद्यार्थीहरूको जोशले भरिएको देखिन्थ्यो । कार्यक्रमका प्रमुख अतिथि प्याब्सन झापाका अध्यक्ष तथा कर्णाली एजुकेशन फाउन्डेशन बुद्धशान्तिका सञ्चालक छत्र कार्कीले प्रविधिमैत्री शिक्षा आवश्यक भए पनि अभिभावकले आफ्ना बालबालिकालाई पर्याप्त समय दिनु उत्तिकै महत्वपूर्ण रहेको धारणा राख्नुभयो । उहाँले बालबालिकाको समग्र विकासका लागि विद्यालय र परिवारबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो । विद्यालयका संस्थापक तथा निर्देशक राजीव धिमालको अध्यक्षतामा सम्पन्न समारोहमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली सेनाका सेनानी आनन्दकुमार श्रेष्ठ, इन्द्र चौधरी, बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपाने, झापा जिल्ला तेक्वान्दो संघ उपाध्यक्ष दिपेन धिमाल, वीरअमरसिंह माध्यमिक विद्यालयका अध्यक्ष जीवन खड्कालगायतको आतिथ्य रहेको थियो । विद्यालयका प्रिन्सिपल तेजप्रसाद भट्टराईले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै विद्यालयले पढाइसँगै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकतामा राख्दै विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिँदै आएको बताउनुभयो । उहाँका अनुसार, यस्ता कार्यक्रमले विद्यार्थीको अनुसासन, आत्मविश्वास, नेतृत्व क्षमता र सार्वजनिक प्रस्तुति सीप विकासमा ठूलो योगदान पुर्याएको छ । कार्यक्रममा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो, जसले विद्यालय र अभिभावकबीचको सम्बन्ध थप सुदृढ भएका सहभागीहरूले बताएका छन् । कक्षा १० की छात्रा सुविना जवेगु, कक्षा ९ की छात्रा तथा स्कुल क्याप्टेन मन्सुन भण्डारी, मिक्सु सुब्बा र शिक्षक यमनाथ घिमिरेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने कक्षा ८ की छात्रा इभाना केरुङले कार्यक्रमलाई स्वागत गर्नुभएको थियो । समारोहका अवसरमा विद्यालयका संस्थापक राजीव धिमालले विद्यालयको शैक्षिक दर्शन, हालसम्मका उपलब्धि र भावी योजनाबारे जानकारी गराउँदै गुणस्तरीय शिक्षा र विद्यार्थीको सर्वाङ्गीण विकासमा विद्यालय प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले शैक्षिक उत्कृष्टतासँगै अनुशासन, नैतिकता र सामाजिक जिम्मेवारीलाई विद्यालयले समान महत्व दिने गरेको उल्लेख गर्नुभयो । वार्षिकोत्सव कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मानित गरिएको थियो । वर्षभरिका अध्ययन उपलब्धि, नेतृत्व, आचरण, कार्यसम्पादन, सहभागिता र मिलनसारिता लगायतका मापदण्डका आधारमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरू मध्येबाट कक्षा ९ मा अध्ययनरत छात्रा तथा स्कुल क्याप्टेन मन्सुन भण्डारी ‘स्टुडेन्ट अफ द इयर’ घोषित हुनुभयो । त्यसैगरी ‘बेस्ट इन्टरनेशनल अवार्ड’ कक्षा १० की छात्रा डेनिसा न्यौपानेले प्राप्त गर्नुभयो । ‘स्मार्ट स्टुडेन्ट (सिनियर)’ अन्तर्गत कक्षा ७ देखि १२ सम्मबाट कक्षा ८ की छात्रा सोमिया राई सम्मानित हुनुभयो । ‘स्मार्ट स्टुडेन्ट (जुनियर)’ अन्तर्गत कक्षा ३ देखि ६ सम्मबाट कक्षा ५ मा अध्ययनरत जियासा गुरुङ ‘स्मार्ट स्टुडेन्ट (प्राइमरी)’ अन्तर्गत कक्षा नर्सरीदेखि २ सम्मबाट कक्षा २ की छात्रा अल्विरा राई सम्मानित हुनुभयो । कार्यक्रमले विद्यार्थीको प्रतिभा प्रस्फुटन, आत्मविश्वास अभिवृद्धि र विद्यालय–अभिभावक सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको निष्कर्ष रहेको थियो ।
सम्बन्धित खबर