बिहिवार, माघ २३, २०८२
Sancharmanch

विश्व शान्तिको कामनासहित विर्तामोडमा संगितमय श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन

Posted by:
बिहिवार, माघ २३, २०८२
 झापा, विर्तामोड/ झापाको विर्तामोड नगरपालिका–२ स्थित आदर्श टोलमा रहेको सिद्धशक्ति योगधाममा यतिबेला संगितमय श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ भव्य रूपमा सञ्चालन भइरहेको छ । विश्व शान्तिको कामनासहित आयोजना गरिएको उक्त धार्मिक अनुष्ठानले स्थानीय भक्तजनको उल्लेख्य सहभागिता र आस्थालाई एकैसाथ जोडेको छ । सात दिनसम्म सञ्चालन हुने सङ्गीतमय सप्ताह ज्ञान महायज्ञमा प्रमुख कथा वाचकका रूपमा परम पूजनीय साध्वी श्री रेणु उप्रेती तथा परम पूजनीय साध्वी सीता भारद्वाज रहनुभएको छ भने कथा उपवाचकका रूपमा आचार्य श्री तुलसी भण्डारीले सह–वाचन गरिरहनुभएको छ । दैनिक रूपमा हुने कथा प्रवचन, भजन–कीर्तन र धार्मिक अनुष्ठानले योगधाम परिसर आध्यात्मिक वातावरणले भरिएको छ । सिद्धशक्ति योगधामकी संस्थापक सदस्य सरिता शिवाकोटीका अनुसार, विश्व शान्तिको कामनासहित सञ्चालन गरिएको यस पुराणबाट संकलित सहयोग रकम योग साधनाका लागि स्थायी योगधाम निर्माणमा उपयोग गरिनेछ । उहाँले योग र आध्यात्मिक साधनालाई जोडेर समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने उद्देश्यले यो महायज्ञको आयोजना गरिएको बताउनुभयो । कार्यक्रम पारिवारिक सहयोग र श्रद्धालुहरूको सहभागितामै सञ्चालन भइरहेको आयोजक पक्षले जनाएको छ । सिद्धशक्ति योगधामकी संस्थापक अध्यक्ष साध्वी रेणु उप्रेती आफैंले कथा वाचन गरिरहनुभएको जानकारी दिँदै आयोजक परिवारकी सदस्य, वेद अध्यायी, समाजसेवी तथा मनोसामाजिक विशेषज्ञ तारा उप्रेतीले यस महायज्ञलाई आत्मिक साधना र सामाजिक सेवाको संयोजनका रूपमा लिएको बताउनुभयो । तारा उप्रेतीका अनुसार, “योग साधक र ईश्वरीय निगाहामा बाँच्ने साधकहरूको सामूहिक संकल्पबाट विश्व शान्तिको कामनासहित यो महायज्ञ आयोजना गरिएको हो । यहाँबाट बचेको रकम योग साधना केन्द्र स्थापना गर्न प्रयोग गरिनेछ, जसले दीर्घकालसम्म समुदायलाई लाभ पुर्याउनेछ ।” उक्त महायज्ञमा दैनिक रूपमा स्थानीय श्रद्धालु, योग साधक, महिलाहरू, ज्येष्ठ नागरिक तथा युवापुस्ताको सक्रिय उपस्थिति देखिएको छ । धार्मिक प्रवचनसँगै नैतिक शिक्षा, परिवारमा सद्भाव, मानसिक शान्ति र सामाजिक उत्तरदायित्वका विषयमा पनि सन्देश प्रवाह भइरहेको सहभागीहरूले बताएका छन् । कार्यक्रम स्थलमा भजन–कीर्तन, आरती, प्रसाद वितरण तथा धार्मिक अनुष्ठानहरू व्यवस्थित रूपमा सञ्चालन भइरहेका छन् । विशेष गरी बिहान र साँझ हुने प्रवचन सत्रमा भक्तजनको भीड लाग्ने गरेको छ । कथा वाचनका क्रममा साध्वीहरूले श्रीमद् भागवतको आध्यात्मिक महत्व, मानव जीवनको उद्देश्य, करुणा, क्षमा र सेवा भावका सन्देशहरू सरल भाषामा प्रस्तुत गरिरहनुभएको छ । सामाजिक न्यायका क्षेत्रमा पनि सक्रिय रूपमा काम गर्दै आउनुभएकी तारा उप्रेती समाजसेवी र मनोसामाजिक विशेषज्ञका रूपमा परिचित हुनुहुन्छ । उहाँले आध्यात्मिक साधना र मानसिक स्वास्थ्यबीच गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै यस्ता धार्मिक तथा योगमूलक कार्यक्रमले मानिसलाई सकारात्मक जीवनशैलीतर्फ प्रेरित गर्ने बताउनुभयो । स्थानीयवासीहरूले पनि धार्मिक कार्यक्रमसँगै योग साधना केन्द्र निर्माणको लक्ष्य जोडिएको यस अभियानलाई स्वागतयोग्य पहलका रूपमा लिएका छन् । आध्यात्मिक गतिविधिसँगै दीर्घकालीन सामाजिक उपयोगिता जोडिनुले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको देखिन्छ । विश्व शान्ति, आत्मिक जागरण र सामुदायिक एकताको सन्देश बोकेको सिद्धशक्ति योगधामको संगितमय श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आगामी दिनहरूमा अझ व्यापक सहभागितासहित सम्पन्न हुने विश्वास गरिएको छ ।
सम्बन्धित खबर