झापा/ नेपालमै पहिलो पटक २०७४ सालदेखि सुरु गरिएको “समवेदनासहित जनप्रतिनिधि दुःखमा परेका नागरिकको घरमै पुग्ने” कार्यक्रम झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ मा निरन्तर रूपमा सञ्चालन हुँदै आएको छ। तत्कालीन समयमै युवा वडा अध्यक्ष मनोज खुलालको पहलमा सुरु गरिएको यो मानवीय कार्यक्रम अहिले उदाहरणीय अभ्यासका रूपमा स्थापित बन्दै गएको छ।

यस कार्यक्रमअन्तर्गत शोकमा परेका परिवारलाई वडा कार्यालय स्वयं घरमै पुगेर समवेदना व्यक्त गर्नुका साथै सहयोग रकम प्रदान गर्ने परम्परा सुरु गरिएको थियो। पछिल्लो समय यो सेवामा थप प्रभावकारिता ल्याउँदै २०८१ सालदेखि मृत्यु दर्ता प्रमाणपत्रसमेत घरघरमै पुर्याउने व्यवस्था मिलाइएको छ। यसले दुःखको घडीमा प्रशासनिक झन्झट कम गर्दै पीडित परिवारलाई ठूलो राहत मिलेको स्थानीयवासी बताउँछन्।
यसैक्रममा शिवसताक्षी नगरपालिका–६, हल्दिबारी निवासी २० वर्षीय नारायण राजवंशीको असामयिक निधनप्रति वडा कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ। माघ ७ गते निधन भएका राजवंशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै वडा कार्यालयको टोलीले परिवारकै घरमा पुगेर समवेदना, मृत्यु दर्ता प्रमाणपत्र र सहयोग रकम प्रदान गरेको जनाएको छ।
त्यस्तै वडा नं. ६ कै समाजसेवी रतनबहादुर खड्काको निधनप्रति पनि वडा कार्यालयले शोक वक्तव्य जारी गर्दै गहिरो समवेदना प्रकट गरेको छ। माघ ७ गते नै उहाँको निधन भएको जनाउँदै वक्तव्यमा स्वर्गीय खड्कालाई मिलनसार, मेहनती, समाजसेवी, धार्मिक आस्था भएका, कर्तव्यनिष्ठ र जिम्मेवार व्यक्तित्वका रूपमा स्मरण गरिएको छ। उहाँको निधनले परिवार मात्र नभई सिङ्गो समुदाय स्तब्ध बनेको उल्लेख गरिएको छ।
जारी शोक वक्तव्यमा स्वर्गीय नारायण राजवंशी र रतनबहादुर खड्काप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ। बाबु–आमा, दाजुभाइ, दिदीबहिनी, काका–काकी, मामा–माइजु लगायत सम्पूर्ण आफन्तजनमा परेको पीडाप्रति वडा कार्यालयले सहानुभूति व्यक्त गर्दै यस दुःखद घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरिएको छ।
शोक कार्यक्रममा वडा अध्यक्ष मनोज खुलाल काकी, वडा सदस्य, वडा सचिव तथा कर्मचारीहरूको संयुक्त टोली दुःख परेको घरमा पुगेको थियो। सो क्रममा प्रति परिवार रु. ५ हजार सहयोग रकम, समवेदना पत्र तथा मृत्यु दर्ता प्रमाणपत्र प्रदान गरिएको वडा कार्यालयले जनाएको छ।
वडा अध्यक्ष खुलालका अनुसार, “मानिसको जीवनको सबैभन्दा कठिन क्षणमा सरकार नागरिकसँगै छ भन्ने अनुभूति दिलाउनु नै यस कार्यक्रमको मुख्य उद्देश्य हो।” उहाँले प्रशासनिक सेवा जनताको घरदैलोमै पुर्याउने अवधारणा अनुरूप यो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।
स्थानीयस्तरमा जनप्रतिनिधिले देखाएको यो मानवीय पहलप्रति सर्वसाधारणले सकारात्मक प्रतिक्रिया दिएका छन्। दुःखको घडीमा सरकारी कार्यालय धाउनुपर्ने बाध्यता हट्दै गएको र सहानुभूति तथा सहयोग एकैसाथ प्राप्त हुँदा परिवारलाई मानसिक रूपमा समेत राहत मिलेको उनीहरूको अनुभव छ।
यस कार्यक्रमले जनप्रतिनिधि र नागरिकबीचको सम्बन्धलाई औपचारिकताभन्दा माथि उठाएर आत्मीयतामा रूपान्तरण गरेको विश्लेषकहरूको भनाइ छ। सामाजिक उत्तरदायित्व, संवेदनशील नेतृत्व र जनमैत्री सेवा प्रवाहको नमुना अभ्यासका रूपमा शिवसताक्षी–६ को यो पहललाई अन्य स्थानीय तहले पनि अनुसरण गर्न सक्ने उदाहरणका रूपमा हेरिएको छ।










