झापा, विर्तामोड/ झापाको विर्तामोडमा स्थापना भएको उर्जाशील रामधुनी आमा समूहले लागुऔषध दुव्र्यसन न्यूनीकरण सम्बन्धी सन्देशमूलक नाटक प्रदर्शन गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।

आइतबार विर्तामोड नगरपालिका वडा नं. ७ मा सञ्चालित बेल्स मोडेल स्कुलको सभाहल तथा वडा नं. ६ मा सञ्चालित सामुदायिक विद्यालय सरस्वती माध्यमिक विद्यालय गरी दुई स्थानमा नाटक मन्चन गरिएको थियो ।

विशेषगरी बालबालिका, किशोर–किशोरी र अभिभावकलाई लक्षित गरी प्रस्तुत गरिएको नाटकमा लागुऔषधको लतले पार्ने गम्भीर सामाजिक, पारिवारिक तथा व्यक्तिगत असरहरूलाई जीवन्त र यथार्थपरक ढंगले चित्रण गरिएको थियो ।

पछिल्ला १० वर्षयता किशोर–किशोरी र युवापुस्तामाझ लागुऔषधको प्रयोग बढ्दो चिन्ताको विषय बन्दै गएको सन्दर्भमा उर्जाशील रामधुनी आमा समूहले नाटकलाई प्रभावकारी जनचेतनामूलक अभियानको माध्यम बनाएको हो ।

कार्यक्रमलाई सम्बेधन गर्दै विर्तामोड नगरपालिका प्रमुख प्रसाशकीय अधिकृत सागर मिश्रले नाटकले देखाएको समस्या परिवारमा परेको भए घरमा आमा, गुरु र साथिलाई सेयर गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा दुवै विद्यालयका विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। नाटकमार्फत अभिभावकले आफ्ना सन्तानलाई पर्याप्त समय दिन नसक्दा, उचित निगरानी र संवादको अभाव हुँदा बालबालिका कसरी गलत संगत र विभिन्न लततर्फ आकर्षित हुन सक्छन् भन्ने सन्देश स्पष्ट रूपमा प्रस्तुत गरिएको थियो।

मोबाइल फोन, इन्टरनेटको अत्यधिक प्रयोग, साथीसंगीको प्रभाव तथा पारिवारिक संवादको कमीले बालबालिकालाई कसरी जोखिमपूर्ण बाटोमा धकेल्छ भन्ने यथार्थपरक दृश्यहरूले नाटकको चरमोत्कर्ष निर्धारण गरेको थियो ।

कार्यक्रम स्वागत नृत्यबाट सुरु गरिएको थियो, जसले सभाहलको वातावरणलाई थप उत्साहपूर्ण बनाएको थियो। त्यसपछि प्रस्तुत गरिएको नाटकले हाँसो, भावुकता र गम्भीर सन्देशलाई एकसाथ समेट्दै दर्शकलाई सोच्न बाध्य बनाएको देखिन्थ्यो।

नाटक हेरेका विद्यार्थी र अभिभावकहरूले कथावस्तु आफ्नै समाजसँग मिल्दोजुल्दो भएको प्रतिक्रिया दिएका थिए ।

नाटकमा उर्जाशील रामधुनी आमा समूहका सदस्यहरू रिता निरौला खरेल, इन्दिरा दाहाल, मिनु शिवाकोटी, रश्मिला लम्साल (खतिवडा), रिता शिवाकोटी (न्यौपाने), बिनिता अधिकारी, लक्ष्मी शिवाकोटी (कार्की), कला थापा, सुस्मा शिवाकोटी, शान्ति मैनाली, स्मृति थापा तथा सरिता थपलिया (शिवाकोटी) ले सशक्त अभिनय प्रस्तुत गर्नुभएको थियो। सबै कलाकारले आफ्ना–आफ्ना भूमिकालाई स्वाभाविक, भावपूर्ण र प्रभावकारी ढंगले निभाउँदै दर्शकबाट प्रशंसा बटुल्न सफल भएका थिए । आमा समूहले देखाएको नाटकले समाज रुपान्तरणका लागि नाटक प्रस्तुत भएको विर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाले बताउनुभयो ।

नाटकको लेखन तथा निर्देशन संस्थाकी अध्यक्ष गंगा शिवाकोटी (ढकाल) ले गर्नुभएको थियो। उहाँले समाजमा मौन रूपमा फैलिँदै गएको लागुऔषध दुव्र्यसनको समस्या विरुद्ध कलाको माध्यमबाट चेतना फैलाउने उद्देश्यले नाटक तयार गरिएको बताउनुभयो। “समस्या लुकाएर होइन, देखाएर समाधानतर्फ जान सकिन्छ भन्ने सन्देश दिन खोजिएको हो,” उहाँको भनाइ थियो।

संस्थाकी अध्यक्ष गंगा शिवाकोटी (ढकाल)को अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई कार्यसमिति सदस्य समृद्धि लुइटेल थापाले स्वागत मन्तव्यमार्फत उद्घाटन गर्नुभएको थियो

भने कार्यक्रम सञ्चालन संस्थाकी सचिव निरा न्यौपाने (कट्टेल) ले गर्नुभएको थियो।

कार्यक्रममा उपस्थित अतिथिहरूलाई संस्थाका सदस्य पुष्पा सुवेदी र दीपा प्रसाईंले खादा ओढाएर सम्मान तथा स्वागत गर्नुभएको थियो ।

नाटकले दिन खोजेको शन्देश कक्षा ८ देखी १० सम्मका विद्यार्थिहरुलाई नाटक देखाइएको बताउँदै नाटकको शन्देश अमुल्य रहेको वेल्स मोडेल स्कुलका प्रिन्सिपल तारा प्रसाईले बताउनुभयो ।

उर्जाशील रामधुनी आमा समूहले यसअघि पनि सामाजिक सचेतना, महिला सशक्तीकरण तथा पारिवारिक मूल्य अभिवृद्धि सम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । पछिल्लो नाटकले लागुऔषध दुव्र्यसन विरुद्धको अभियानलाई थप सशक्त बनाएको सरोकारवालाहरूको धारणा छ ।

नाटकले उत्कृष्ठ सन्देश प्रभाह भएको विर्तामोड ६ मा रहेको सरस्वती माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक नारायण प्रसाद चौलागाईले बताउनुभयो ।

स्थानीय तहमा समुदायस्तरबाट यस्ता सृजनात्मक र सन्देशमूलक गतिविधि हुनु समाजका लागि सकारात्मक संकेत भएको भन्दै कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवाज पनि उठ्न थालेको छ ।

यस प्रकारका नाटक र जनचेतनामूलक अभियानले बालबालिका, अभिभावक र समग्र समाजलाई सचेत बनाउँदै स्वस्थ, सुरक्षित र जिम्मेवार समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।