शुक्रवार, फागुन १, २०८२
Sancharmanch

बुद्धशान्ति गाउँपालिकाका नागरिकलाई नोबेल मेडिकल कलेज अस्पतालमा उपचार सहुलियत, एक वर्षे सम्झौता सम्पन्न

Posted by:
आइतवार, माघ १२, २०८२
झापा / बिराटनगर/ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल, बिराटनगर र झापाको बुद्धशान्ति गाउँपालिकाबीच बुद्धशान्तिका नागरिकलाई स्वास्थ्य उपचारमा सहुलियत प्रदान गर्ने सम्बन्धी एक वर्षे सम्झौता आज औपचारिक रूपमा सम्पन्न भएको छ । यस सम्झौताले बुद्धशान्ति गाउँपालिकाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच दिलाउने विश्वास गरिएको छ । बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाई, उपाध्यक्ष भवानी प्रसाद खतिवडा तथा प्रमुख प्रशासकीय अधिकृत मनोज शाहको उपस्थितिमा अस्पताल प्रशासनसँग उक्त सम्झौता गरिएको हो । सम्झौताअनुसार, बुद्धशान्ति गाउँपालिकाका नागरिक अस्वस्थ भई नोबेल मेडिकल कलेज अस्पताल, बिराटनगरमा उपचारका लागि जाँदा स्वास्थ्य बिमा अन्तर्गतको उपचार प्रक्रिया पूरा भई बिमाको रकम सकिएको खण्डमा त्यसपछि लाग्ने उपचार खर्चमा विशेष सहुलियत प्रदान गरिनेछ । सम्झौतामा उल्लेख भएअनुसार, बिमाको सीमा समाप्त भएपछि पनि उपचार निरन्तरता आवश्यक परेमा सम्बन्धित बिरामीले अस्पतालबाट २५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ । यसले विशेष गरी आर्थिक अवस्था कमजोर भएका तथा गम्भीर रोगबाट पीडित नागरिकलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ । बुद्धशान्ति गाउँपालिकाले यसअघि पनि नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम तथा पहलहरू सञ्चालन गर्दै आएको छ । यो सम्झौता त्यही प्रयासको निरन्तरता भएको गाउँपालिकाको भनाइ छ । गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले स्वास्थ्य उपचारको पहुँच नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै, “आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित नहोस् भन्ने हाम्रो उद्देश्य हो । यही सोचका साथ यो सहकार्य अघि बढाइएको हो,” भन्नुभयो । सञ्चारमञ्च डटकमसँग कुरा गर्दै अध्यक्ष प्रसाईले बुद्धशान्ति गाउँपालिकाका नागरिकप्रति देखाएको सहयोग, सहकार्य र संवेदनशीलताका लागि नोबेल मेडिकल कलेज अस्पताल, बिराटनगरका सञ्चालक डा. सुनिल कुमार शर्मा प्रति विशेष आभार समेत व्यक्त गर्नुभयो । उहाँका अनुसार, निजी तथा शैक्षिक अस्पतालसँग स्थानीय तहको सहकार्य नागरिकका लागि प्रभावकारी र परिणाममुखी बन्ने गर्दछ । सम्झौता अनुसार, आजको मितिदेखि लागू हुने गरी आगामी एक वर्षसम्म बुद्धशान्ति गाउँपालिकाका नागरिकले यो सुविधा प्राप्त गर्न सक्नेछन् । सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि गाउँपालिका र अस्पतालबीच समन्वय संयन्त्र पनि बनाइने जनाइएको छ, जसले सेवा प्रवाहलाई अझ सहज र पारदर्शी बनाउनेछ । नोबेल मेडिकल कलेज अस्पताल प्रशासनले पनि स्थानीय तहसँग सहकार्य गर्दै सामाजिक उत्तरदायित्व पूरा गर्न पाउँदा खुशी व्यक्त गरेको छ । अस्पताल प्रशासनका प्रतिनिधिहरू साथै जनसम्पर्क अधिकारी नविन दाहालले ग्रामीण क्षेत्रका नागरिकलाई उच्चस्तरीय उपचारमा पहुँच पुर्याउनु अस्पतालको दायित्व भएको उल्लेख गर्दै, भविष्यमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको छ । बिमाको रकम सकिएपछि उपचार खर्च धान्न नसकेर समस्या भोग्नुपरेका घटनाहरूलाई मध्यनजर गर्दै गरिएको यो सम्झौताले स्वास्थ्य उपचारमा ठूलो राहत मिल्ने विश्वास गरिएको छ । स्वास्थ्य क्षेत्रमा स्थानीय सरकार र ठूला अस्पतालबीचको सहकार्यको यो अभ्यासलाई नमुना पहलका रूपमा हेरिएको छ । यसले न केवल बुद्धशान्ति गाउँपालिकाका नागरिकको स्वास्थ्य सुरक्षामा योगदान पुर्याउनेछ, साथै अन्य स्थानीय तहलाई पनि यस्ता सामाजिक सहकार्यका लागि प्रेरणा दिने अपेक्षा गरिएको छ ।
सम्बन्धित खबर