शनिवार, माघ ११, २०८२
Sancharmanch

अनारमनी सामाजिक युवा क्लबद्वारा सैनिकका अन्डर–१४ फुटबल खेलाडीहरूलाई प्रशिक्षण सामग्री हस्तान्तरण

Posted by:
शनिवार, माघ ११, २०८२
 झापा/ अनारमनी सामाजिक युवा क्लबको आयोजनामा माघ १० गते सैनिक क्षेत्रका अन्डर–१४ उमेर समूहका फुटबल खेलाडीहरूलाई प्रशिक्षणका लागि आवश्यक खेल सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। क्लबका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा युवा खेलाडीहरूको खेलकुद क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एजिलिटी ल्याडर, स्टिक्स, हर्डल्स, मार्कर्स, बिब्स, कोन्स लगायतका विविध प्रशिक्षण सामग्री प्रदान गरिएको थियो। कार्यक्रममा मन्तव्य व्यक्त गर्दै क्लबका अध्यक्ष श्री राज मुखियाले खेलकुदले युवाहरूमा अनुशासन, शारीरिक स्वास्थ्य, आत्मविश्वास तथा नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा खेलकुदसम्बन्धी कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि वडा नं. १० का वडाध्यक्ष श्री दुर्योधन गुरुङ, बिर्तामोड नगर खेलकुद समितिका उपाध्यक्ष श्री सन्तोष गुरुङ तथा बिर्तामोड नगरपालिकाका लेखा अधिकृत श्री तेजेन्द्र तामाङले युवामाझ खेलकुदको महत्व र यसको दीर्घकालीन प्रभावबारे आ–आफ्नो धारणा व्यक्त गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि वडा नं. १० का वडाध्यक्ष श्री दुर्योधन गुरुङले खेलकुद केवल शारीरिक व्यायामको माध्यम मात्र नभई युवाहरूको सर्वाङ्गीण विकासको आधार स्तम्भ भएको उल्लेख गर्नुभयो। उहाँले खेलकुदले अनुशासन, सहकार्य, धैर्य, नेतृत्व क्षमता र आत्मविश्वास विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै सानै उमेरदेखि खेलप्रति रुचि र अवसर प्रदान गर्नु अत्यन्त आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले युवाहरूलाई सकारात्मक दिशातर्फ अग्रसर गराउन खेलकुद प्रभावकारी माध्यम भएको उल्लेख गर्दै यस्ता प्रशिक्षण तथा सहयोग कार्यक्रमहरूले प्रतिभावान खेलाडीहरू उत्पादन गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो। साथै, स्थानीय तहबाट खेलकुद प्रवर्द्धनका लागि आवश्यक सहयोग र समन्वय निरन्तर रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। प्रशिक्षक तथा खेलाडीहरूले क्लबद्वारा प्राप्त सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै प्रदान गरिएका सामग्रीले प्रशिक्षणमा थप उत्साह र प्रेरणा प्राप्त भएको बताउनुभयो। कार्यक्रममा स्थानीय खेलप्रेमी तथा खेलाडीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। उक्त कार्यक्रम अनारमनी सामाजिक युवा क्लबका सचिव श्री रुपेश तिम्सिनाले सञ्चालन गर्नुभएको थियो। अनारमनी सामाजिक युवा क्लबले यसअघि पनि विभिन्न सामाजिक, शैक्षिक तथा खेलकुद गतिविधिहरूमार्फत समुदायमा सकारात्मक योगदान पुर्याउँदै आएको छ।
सम्बन्धित खबर