शनिवार, माघ ११, २०८२
Sancharmanch

मुख होइन, रुख हेरौं’–प्रसाई

Posted by:
बिहिवार, माघ ९, २०८२
विर्तामोड ८ माघ / नेपाली कांग्रेसका तर्फबाट झापा क्षेत्र नं–२ का उम्मेद्वार सरिता प्रसाईले उम्मेद्वारको मुख होइन चुनावचिन्ह रुख हेरेर मतदान गर्न क्षेत्रभरीका आम मतदातालाई अपिल गर्नुभएको छ । नेपाली कांग्रेस झापा क्षेत्र  नं–२ को आयोजनामा सम्पन्न कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उम्मेद्वार प्रसाईले यस्तो अपिल गर्नुभएको हो । ‘संसदीय निर्वाचन जितेमा अरु तहको निर्वाचन जित्न, क्षेत्रको विकासका लागि योजना तान्न सहज हुनेछ’–उम्मेद्वार प्रसाईले भन्नुभयो–‘एकजुट होऔं, मुख होइन रुख हेरौं र मतदान गरौं ।’ नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले पार्टीका कार्यकर्ता र जनताको भावना बमोजिम विशेष महाधिवेसनबाट पार्टीको नेतृत्व परिवर्तन भएको बताउँदै हिजो जे भएपनि वार्ता र संवादमार्फत पार्टी एकताबद्ध भएको बताउनुभयो । ‘निर्वाचन भनेको पार्टीका लागि जीवन मरणको सवाल हो’–नेता शिवाकोटीले भन्नुभयो–‘हिजो के भयो ? भन्ने विर्सिएर पार्टीका उम्मेद्वारलाई जिताउन एकताबद्ध भएर लागौं ।’ अर्का केन्द्रीय सदस्य एवं समानुपातिक उम्मेद्वार उमा शिवाकोटीले विशेष महाधिवेशन हुँदा पार्टी फुट्छ कि ? भन्ने आशंका धेरै शुभेच्छुक र कार्यकर्तामा रहेपनि अहिले वार्ता र संवादमार्फत सबै एकजुट भएको बताउँदै पार्टीका उम्मेद्वारलाई जिताउन एकताबद्ध हुन आह्वान गर्नुभयो । पार्टीले दिएको जस्तोसुकै जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता ब्यक्त गर्दै उहाँले पार्टीका तर्फबाट झापा क्षेत्र नं–२ का उम्मेद्वार सरिता प्रसाईको राजनीतिक इतिहासका विषयमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा समानुपातिक उम्मेद्वार मनु विश्वकर्मा, नेपाली कांग्रेस विर्तामोड नगर सभापति भोजराज सिटौला लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो । नेपाली कांग्रेस झापा क्षेत्र नं–२ का सभापति खगेन्द्र मैनालीको अध्यक्षतामा सम्पन्न भेलाले मैनालीकै संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिका सदस्यहरुमा क्षेत्रभित्रका पार्टीका केन्द्रीय सदस्यहरु, कोशी प्रदेश तथा झापा जिल्ला समितिका पदाधिकारीहरु,  प्रदेशसभा क्षेत्रीय सभापति, गाउँ÷नगर सभापति, क्षेत्रीय सचिव, भातृ तथा शुभेच्छुक संस्थाबाट एकजना प्रतिनिधि सदस्य रहनेछन् । यसैगरी किरण श्रेष्ठको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन भएको छ । समितिको सहसंयोजकमा लक्ष्मीप्रसाद आचार्य, सचिवमा रश्मिशेखर सुवेदी, गाउँ÷नगर सभापतिले सिफारिस गरेका ७÷७ जना प्रतिनिधि, भातृ तथा शुभेच्छुक संस्थाबाट १० जना, २५ वटा वडाका वडा सभापति लगायत सदस्य रहनेछन् । यसैगरी कृष्ण हुमागाईको संयोजकत्वमा विष्ण्ु खरेल, रोशन सुवेदी, जीवन पोखरेल, दिपेन्द्र ढकाल, विनोद गौतम, कुलप्रसाद संग्रौला, कृष्ण थापा सदस्य रहेको घोषणापत्र तयारी समिति गठन गरेको छ । यस्तै निर्वाचनको आर्थिक ब्यवस्थापनका लागि सजेश शिवाकोटीको संयोजकत्वमा आर्थिक ब्यवस्थापन समिति गठन गरिएको छ । १९ सदस्यीय आर्थिक एवं अन्य समितिहरुले आवश्यकता अनुसार सदस्य थप गरी पूर्णता दिइने क्षेत्रीय समिति सचिव चन्द्र चुडालले जानकारी दिनुभयो ।
सम्बन्धित खबर