झापा/ झापाको बिर्तामोड उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यमी समूहले बालबालिकालाई लक्षित गर्दै न्यानो स्वेटर वितरण गरेको छ ।

जाडो मौसमलाई मध्यनजर गर्दै बिर्तामोड नगरपालिका वडा नं. १० मा रहेको महेन्द्र ज्योति माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई कपडा वितरण गरिएको हो । शिक्षा र सामाजिक सेवाको क्षेत्रमा सक्रिय महिला उद्यमी समूहको यस पहललाई स्थानीय स्तरमा सकारात्मक रूपमा हेरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले कार्यक्रमको आयोजना गरेकोमा महिला उद्यमी समूहलाई धन्यवाद दिनुभयो ।

उहाँले शिक्षा र बालबालिकाको हितमा गरिने यस्ता कार्यहरू अत्यन्तै प्रेरणादायी हुने बताउँदै निजी क्षेत्र र सामाजिक संघसंस्थाको सक्रियताले राज्यलाई पनि जिम्मेवार बन्न दबाब सिर्जना गर्ने धारणा व्यक्त गर्नुभयो ।

महेन्द्र ज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका बिर्तामोड–१० का वडाध्यक्ष दुर्योधन गुरुङको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा महिला उद्यमी समूहकी अध्यक्ष राधिका चुडाल हुमागाईंले विद्यालयका पूर्वविद्यार्थी अमर रिसालले हाल अष्ट्रेलियामा रहनुभएकी आफ्नी श्रीमती अनिता लकाईको जन्मदिनको अवसरमा प्रदान गरेको रकमबाट २२२ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको जानकारी दिनुभयो ।

जन्मदिनजस्तो व्यक्तिगत अवसरलाई सामाजिक सेवासँग जोडेर गरिएका यस्ता कार्यले समाजमा उदाहरणीय सन्देश दिने उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका पूर्व सभापति तथा नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंलगायत अन्य व्यक्तित्वहरूले विद्यालयको अवस्थाप्रति चासो व्यक्त गर्दै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

उहाँहरूले सामुदायिक विद्यालयको शैक्षिक र भौतिक अवस्था सुधारका लागि सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।

त्यसैगरी, कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जयकुमार झाले विद्यालयको शैक्षिक अवस्था तथा विद्यार्थीहरूको वास्तविक अवस्थाबारे अध्ययन गरेर कार्यक्रमको आयोजना गरिएकोमा महिला उद्यमी समूहलाई धन्यवाद दिनुभयो ।

उहाँले विद्यार्थीहरूको आवश्यकतालाई बुझेर गरिएको सहयोगले पठनपाठनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै महिला उद्यमी समूहकी अध्यक्ष राधिका चुडाल हुमागाईंले शिक्षा विना चौतर्फी विकास र समृद्धि सम्भव नहुने बताउँदै देश विकासको मेरुदण्ड नै शिक्षा भएको धारणा राख्नुभयो ।

तर राज्यले बजेट निर्माणका क्रममा शिक्षा क्षेत्रलाई सधैं ओझेलमा पार्दै आएको देखिने उहाँको भनाइ थियो ।

यिनै यथार्थलाई मध्यनजर गर्दै विद्यार्थीहरूको आवश्यकता बुझेर कार्यक्रम सञ्चालन गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

देशको मुहार फेर्ने प्रमुख अंग शिक्षा भए पनि असल शिक्षा नीति र पर्याप्त लगानी नहुँदा मुलुक अपेक्षित गतिमा अघि बढ्न नसकेको सरोकारवालाहरूको धारणा छ ।

यस कार्यक्रममार्फत विद्यार्थीलाई न्यानो कपडा वितरण गर्दै शिक्षा क्षेत्रमा राज्यको लगानी र ध्यान बढाउन सन्देश प्रवाह गरिएको आयोजकको भनाइ छ।

सामाजिक उत्तरदायित्वको अभ्यासका रूपमा गरिएको यो कार्यक्रमले समुदायमा शिक्षा प्रतिको चेतना अभिवृद्धि गर्न सहयोग पुर्याएको छ ।

कार्यक्रमको सञ्चालन सोही विद्यालयका शिक्षक विरेन्द्र कडरियाले गर्नुभएको थियो ।

समग्रमा, बिर्तामोड उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यमी समूहको यस पहलले शिक्षा, समाजसेवा र सामुदायिक सहकार्यको सशक्त उदाहरण प्रस्तुत गरेको सहभागीहरूले बताएका छन् ।