शनिवार, माघ ११, २०८२
Sancharmanch

कनकाईमा महिला लक्षित बारिस्टा तालिम सम्पन्न, स्वरोजगारतर्फ नयाँ सम्भावना

Posted by:
आइतवार, माघ ५, २०८२
विकाश उप्रेती (डि.आर) झापा / झापाको कनकाई नगरपालिकामा महिला लक्षित बारिस्टा तालिम सम्पन्न भएको छ । कनकाई नगरपालिका वडा नं. १ को आर्थिक सहयोग साथै बारिस्टा तालिम उपभोक्ता समितिको आयोजनामा उक्त तालिम सफलतापूर्वक सम्पन्न भएको हो । महिलालाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिमले सहभागीहरूमा उत्साह र आत्मविश्वास थपेको आयोजकले जनाएको छ । तालिममा वडा नं. १ बाट २० जना सहभागी रहनुभएको थियो । तालिम अवधिभर कफी बनाउने आधारभूतदेखि उन्नत सीप, विभिन्न प्रकारका कफीका नाम, प्रयोग विधि, मेसिन सञ्चालन तथा व्यावहारिक अभ्यास गराइएको बताइएको छ । सहभागी महिलाहरूले तालिमबाट नयाँ सीप सिक्ने अवसर पाएको र यसले भविष्यमा रोजगारी तथा स्वरोजगारका ढोका खोल्ने विश्वास व्यक्त गरेका छन् । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कनकाई नगरपालिका नगर प्रमुख राजेन्द्र कुमार पोखरेलले कृषि विकास, पर्यटन, पूर्वाधार विकासलगायतका क्षेत्रहरू स्थानीय सरकारको दायित्वभित्र पर्ने बताउनुभयो । उहाँले कनकाई नगरपालिकाले विगत १० वर्षयता शिक्षा क्षेत्रमा स्वरोजगार बनाउनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । सोहि क्रममा नगर प्रमुख पोखरेलले सीप विकास बिना आर्थिक सबलीकरण सम्भव नहुने उल्लेख गर्दै यस्ता तालिमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभयो । नगर प्रमुख पोखरेलले विश्व बजारमा चिया पिउने मानिसको संख्याभन्दा कफी पिउने मानिसको संख्या बढिरहेको बताउनुभयो । विभिन्न नाम र स्वादका कफीहरू लोकप्रिय बन्दै गएको सन्दर्भ उल्लेख गर्दै उहाँले प्रशिक्षक, सहभागि, अनुगमन समिति र आयोजक संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभयो । कफी संस्कृतिको विस्तारसँगै बारिस्टा सीपको माग बढ्दै गएकोले महिलाहरूका लागि यो तालिम उपयोगी हुने उहाँको भनाइ थियो । कार्यक्रममा बोल्दै कनकाई नगरपालिका उप–प्रमुख आशा शर्मा शिवाकोटीले कुनै पनि काममा दत्तचित्तका साथ सिक्ने इच्छा भए जुनसुकै क्षेत्रमा पनि सफलता हासिल गर्न सकिने बताउनुभयो । उहाँले तालिममार्फत नविनतम सीप र सोचको विकास हुने उल्लेख गर्दै महिलाहरूलाई आत्मनिर्भर बन्न प्रेरित गर्नुभयो । स्थानीय तहले सञ्चालन गर्ने यस्ता सीपमूलक तालिमले समाजमा सकारात्मक परिवर्तन ल्याउने उहाँको धारणा थियो । तालिममा सहभागी अन्जना मिश्र अधिकारीले तालिम सञ्चालन भएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले व्यवहारिक ज्ञानसँगै आत्मविश्वास बढेको बताउँदै भविष्यमा यस सीपलाई प्रयोग गरेर केही गर्ने योजनाबारे पनि धारणा राख्नुभयो । त्यसैगरी, तालिममा प्रशिक्षकको भूमिकामा रहनुभएका किरण खड्काले तालिममा सहभागी सबैले समान रूपमा सिक्न नसके पनि विदेशमा बिक्ने प्रमुख सीपमध्ये बारिस्टा एक महत्वपूर्ण सीप रहेको बताउनुभयो । उहाँले आफ्नो नगर अर्जुनधारामा यस्ता तालिमहरू सञ्चालन नभएको उल्लेख गर्दै कनकाई नगरपालिकाको पहल प्रशंसनीय रहेको बताउनुभयो । बारिस्टा तालिम उपभोक्ता समितिका अध्यक्ष निर्मला दंगालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख राजेन्द्र कुमार पोखरेल प्रमुख अतिथिका रूपमा रहनुभएको थियो । विशिष्ट अतिथिका रूपमा नगर उप–प्रमुख आशा शिवाकोटी, वडा नं. १ का अध्यक्ष सुशिल करमार पोखरेल, सदस्य दल बहादुर राई, हरि कुमार राई रहनुभएको थियो । अतिथिहरूमा अनुगमन समिति संयोजक पुजन बाँस्तोला, सदस्य बिनिता पोखरेल र बिमला अधिकारीको उपस्थिति रहेको थियो । तालिमको मूल्याङ्कनका क्रममा थेउरीमा प्रथम हुने सविना शिवाकोटी र प्राक्टिकलतर्फ प्रथम हुने सलिना अधिकारी घोषित हुनुभएको थियो । कार्यक्रम वडा सदस्य निर्मला खड्काले सञ्चालन गर्नुभएको थियो । समापनसँगै सहभागी महिलाहरूले यस्ता तालिमलाई निरन्तरता दिन माग गर्नुभएको छ। स्थानीय सरकारले सञ्चालन गरेको महिला लक्षित बारिस्टा तालिमले कनकाईमा स्वरोजगार, आत्मनिर्भरता र महिला सशक्तीकरणतर्फ सकारात्मक सन्देश प्रवाह गरेको छ ।
सम्बन्धित खबर