विकाश उप्रेती (डि.आर) झापा / झापाको कनकाई नगरपालिकामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ४ का लागि निर्वाचन कार्यालय स्थापना गरिएको छ ।

आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कार्यालय स्थापना गरिएको हो । निर्वाचनलाई व्यवस्थित, शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गराउने उद्देश्यका साथ कार्यालय स्थापना गरिएको बताइएकोछ ।

कनकाई नगरपालिकामा क्षेत्र नं. ४ का लागि निर्वाचन कार्यालय स्थापना भएको बताउँदै निर्वाचनको समयमा मतदान केन्द्रमा सामान्य परिचयपत्र लगायतका समस्या विगतमा रहेको स्मरण गराइएको छ । साथै निर्वाचनका समयमा विभिन्न समूहहरूले नकारात्मक गतिविधी गर्न सक्ने सम्भावना रहेकाले सुरक्षा व्यवस्था व्यवस्थित गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

यसका साथै विरामी तथा अशक्त नागरिकहरूलाई मतदान केन्द्रसम्म ल्याउने व्यवस्था मिलाउन जरुरी रहेको नेपाली कांग्रेस कनकाईका नगर सभापति दुर्गा प्रसाईँले बताउनुभयो । उहाँले लोकतन्त्रको महत्वपूर्ण अभ्यासका रूपमा निर्वाचनलाई जिम्मेवार ढंगले सम्पन्न गराउन सबै पक्ष संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।

यसैबीच, फागुन २१ गते तोकिएको समयमा निर्वाचन गर्नका लागि निर्वाचन आयोग कार्यतालिका अनुसार अगाडि बढेको जानकारी दिँदै माघ ६ गते नोमिनेशन रहेको र त्यसका लागि समय व्यवस्थापन गरिएको झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयो । उहाँले समयमै निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै सुरक्षा, प्रशासनिक समन्वय र व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो ।

२०७९ सालको निर्वाचनका समयमा पनि कनकाई नगरपालिकामा निर्वाचन कार्यालय स्थापना भएको स्मरण गराउँदै कार्यालय स्थापनाका लागि विभिन्न कामहरू सम्पन्न गर्न बाँकी रहेको जनाइएको छ । यस अवसरमा मुलुकमा नहुनुपर्ने घटनाहरू घटेकोमा दुःख व्यक्त गर्दै कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुमार पोखरेलले परिवर्तनका लागि हुने निर्वाचनले देश विकासको खाका बनाउने बताउनुभयो । उहाँले निर्वाचनलाई विकास, स्थायित्व र सुशासनतर्फको यात्राको आधारका रूपमा व्याख्या गर्दै सबै नागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा राख्नुभयो ।

निर्वाचन कार्यालय स्थापना गर्नका लागि छोटो समयमा कार्य सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै निर्वाचन अधिकृत भिम भुर्तेलले कार्यालयले सबैलाई समान व्यवहार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सबैको सुझावलाई शिरोधार्य गर्दै निष्पक्ष व्यवहार लागू गर्ने र निर्वाचन प्रक्रियामा पारदर्शिता, पहुँच र समन्वयलाई सुनिश्चित गरिने बताउनुभयो । निर्वाचन व्यवस्थापनमा मतदाता शिक्षा, कर्मचारी व्यवस्थापन, सामग्री वितरण तथा गुनासो व्यवस्थापनजस्ता पक्षहरूलाई प्रभावकारी बनाइने उहाँको भनाइ थियो ।

कार्यालय स्थापना तथा उद्घाटन कार्यक्रममा निर्वाचन क्षेत्र नं. ४ को अधिकार क्षेत्रभित्र रहेका पालिकाका प्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमले निर्वाचनसम्बन्धी तयारी, चुनौती र सहकार्यका विषयमा साझा समझदारी बनाउन सहयोग पुगेको सहभागीहरूको धारणा थियो। कार्यालय स्थापना तथा उद्घाटन कार्यक्रम कनकाई नगरपालिका लेखा शाखा प्रमुख क्षेत्रनाथ शर्माले सञ्चालन गर्नुभएको थियो ।

समग्रमा, कनकाई नगरपालिकामा निर्वाचन कार्यालय स्थापना भएसँगै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ४ मा निर्वाचन तयारीले गति लिएको छ । सुरक्षा व्यवस्थापन, मतदाता पहुँच, समय व्यवस्थापन र निष्पक्षताप्रतिको प्रतिबद्धतासहित कार्यालयले आफ्नो काम अघि बढाउने अपेक्षा गरिएको छ। आगामी निर्वाचनलाई लोकतान्त्रिक मूल्य–मान्यता अनुरूप शान्तिपूर्ण र विश्वसनीय ढंगले सम्पन्न गराउन सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको सरोकारवालाहरूले जोड दिएका छन् ।