बुधवार, माघ १, २०८२
Sancharmanch

श्रम संस्कृति पार्टीका केशव भण्डारी झापा–२ बाट प्रतिनिधिसभा उम्मेदवार

Posted by:
बुधवार, माघ १, २०८२

झापा / श्रम, इमान्दारिता र जनसेवाको राजनीतिक दर्शन बोकेको श्रम संस्कृति पार्टीबाट झापा क्षेत्र नं. २ का लागि प्रतिनिधिसभा सदस्य पदमा केशव भण्डारी प्रत्यक्षतर्फको उम्मेदवार बन्ने पक्का भएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भण्डारीले ‘अञ्जुलीमा माटो’ चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गर्ने बताइएको छ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्थापना तथा नेतृत्व गरेको श्रम संस्कृति पार्टीबाट चुनाव लड्ने निर्णयसँगै भण्डारीको उम्मेदवारीले झापा क्षेत्र नं. २ मा नयाँ राजनीतिक तरंग सिर्जना गरेको छ। परम्परागत दलहरूको अभ्यास र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका मतदाताका लागि भण्डारीको उम्मेदवारीलाई वैकल्पिक र आशालाग्दो रूपमा हेरिएको छ।

विद्यार्थी राजनीतिदेखि सशक्त नेतृत्वसम्म

केशव भण्डारीको राजनीतिक यात्रा विद्यार्थी जीवनबाट सुरु भएको हो। अनेरास्ववियु हुँदै नेकपा एमाले निकट युवा संघमा सक्रिय रहँदा उनी एक कुशल, स्पष्ट वक्ता र संगठन निर्माणमा अब्बल नेतृत्वकर्ताका रूपमा परिचित हुनुहुन्थ्यो। पार्टीभित्र गलत निर्णय, अवसरवाद र सिद्धान्तविहीन व्यवहार देखिँदा त्यसको खुलेर विरोध गर्ने स्वभावका कारण भण्डारी कहिल्यै सम्झौतामा उत्रिनुभएन।

राजनीतिमा ‘पढाइ मात्र हुने तर व्यवहारमा लागू नहुने’ प्रवृत्ति हावी हुँदै गएको अनुभूति भएपछि भण्डारी पछिल्लो ६ वर्षयता औपचारिक दलगत राजनीतिबाट अलग रहँदै स्वतन्त्र रूपमा सामाजिक अभियानमा सक्रिय हुनुहुन्थ्यो। झट्ट हेर्दा गम्भीर देखिए पनि हक्की, स्पष्ट र सिद्धान्तप्रति अडिग स्वभावका भण्डारी समाजलाई सकारात्मक दिशामा डोर्‍याउन सक्ने नेतृत्वका रूपमा चिनिनुहुन्छ ।

श्रम र जनसेवामा आधारित राजनीतिक अभ्यास

श्रम र जनसेवामा विश्वास गर्ने भण्डारीले ‘युवा नागरिक समाज’ नामक सामाजिक संस्था स्थापना गरेर झापामा फरक पहिचान बनाउनुभएको छ। संस्थामार्फत उहाँले विपद्, दुर्घटना तथा आर्थिक अभावमा परेका नागरिकको उद्धार, उपचार सहयोग, श्रमदान तथा सामाजिक सेवा निरन्तर गर्दै आउनुभएको छ।

युवा नागरिक समाजकै नेतृत्वमा भण्डारीले हरेक हप्ताको शनिवार झापाका विभिन्न स्थानमा नियमित सरसफाइ अभियानको थालनी गर्नुाभएको थियो, जुन अभियान हालसम्म पनि निरन्तर रूपमा सञ्चालन भइरहेको छ। यसले श्रम संस्कृतिलाई व्यवहारमा उतार्ने उहाँको प्रतिबद्धता प्रष्ट देखाउँछ।

वेथिति र भ्रष्टाचारविरुद्धको खवरदारी

भण्डारीको सामाजिक अभियान केवल सेवा कार्यमा मात्र सीमित छैन। युवा नागरिक समाजमार्फत उहाँले वेथिति, भ्रष्टाचार र कुशासनविरुद्ध आवाज उठाउँदै आउनुभएको छ। विभिन्न विकास योजनामा देखिने अनियमितता, नीतिगत भ्रष्टाचार र ढिलासुस्तीप्रति सम्बन्धित निकायलाई खवरदारी गर्दै सुझाव पेश गर्ने कार्यमा उहाँ निरन्तर सक्रिय हुनुहुन्छ।

जिल्लाका विभिन्न पालिकाहरूमा युवा नागरिक समाजका शाखा विस्तार गर्दै भण्डारीले सामाजिक अभियन्ताबाट राजनीतिक नेतृत्वतर्फको यात्रा तय गर्नुभएको छ। उहाँको बुझाइमा राजनीति भनेको पद र पहुँच होइन, श्रम, इमान र सेवामार्फत समाज रूपान्तरण गर्ने माध्यम हो।

स्पष्ट भिजनसहित चुनावी मैदानमा

शैक्षिक रूपमा स्नातक (ब्याचलर) तह उत्तीर्ण भण्डारी नीति निर्माण र योजना तर्जुमामा सक्षम व्यक्ति मानिनुहुन्छ। समृद्ध नेपाल निर्माणका लागि स्पष्ट भिजन, श्रमकेन्द्रित अर्थतन्त्र र जनजीविकासँग प्रत्यक्ष जोडिने कार्यक्रमसहित उहाँ चुनावी मैदानमा उत्रिन लागेको श्रम संस्कृति पार्टी निकट स्रोतले जनाएको छ।

यदि भण्डारी झापा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए, विकास र समृद्धिका कार्यक्रम मात्र होइन, सर्वहारा वर्ग, श्रमिक, किसान, युवा र निम्न आय वर्गलाई लक्षित विशेष कार्यक्रम सञ्चालन हुने अपेक्षा गरिएको छ। आम नागरिकको जीवनस्तर सुधार गर्ने, रोजगारी सिर्जना गर्ने र जनजीविकामा प्रत्यक्ष प्रभाव पार्ने योजनालाई प्राथमिकतामा राख्ने उहाँको प्रतिबद्धता रहेको छ।

मतदाताको निर्णयले तय गर्ने भविष्य

फागुन २१ गते हुने निर्वाचनमा भण्डारीको विजयका लागि मतदाताले ‘अञ्जुलीमा माटो’ चुनाव चिन्हमा मतदान गर्नुपर्ने उहाँका समर्थकहरूको भनाइ छ। यदि उहाँले झापा क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा विजय हासिल गरे, आम नागरिकले अपेक्षा गरेको सुशासन, पारदर्शिता र जवाफदेहिताको अभ्यास स्थापित हुने विश्वास गरिएको छ।

अब निर्णय मतदाताको हातमा छ—परिवर्तन चाहने मत सही व्यक्तिको पक्षमा प्रयोग गर्ने कि पुरानै शैली, पुरानै अभ्यासलाई निरन्तरता दिने। झापा–२ को निर्वाचनले केवल एक उम्मेदवारको भविष्य होइन, राजनीतिक संस्कृतिको दिशा नै तय गर्ने संकेत देखिएको छ।

सम्बन्धित खबर