आइतवार, पौष २७, २०८२
Sancharmanch

भावना, समाज र समयको संगमः सन्दिप थपलिया ‘सानु’को ‘मकरन्द’ सार्वजनिक

Posted by:
शनिवार, पौष २६, २०८२

झापा/ झापाको विर्तामोडमा नेपाली गजल साहित्यको एक सशक्त कृति थपिएको छ । सन्दिप थपलिया ‘सानु’द्वारा रचित गजल सङ्ग्रह ‘मकरन्द’ को गृह विमोचन कार्यक्रम विर्तामोडस्थित साहि प्यालेस एण्ड क्याटरिङको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ ।

साहित्यप्रेमीहरूको उल्लेख्य उपस्थितिबीच सम्पन्न उक्त कार्यक्रमले समकालीन गजल यात्रामा नयाँ ऊर्जा थपेको अनुभूति गराएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वरिष्ठ कवि तथा साहित्यकार केशव आचार्यले आफू अझै पनि साहित्यको विद्यार्थी रहेको बताउँदै गजल प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा प्रस्तुत गरिएका गजलहरूले प्रेम, पीडा, समाज, समय र चेतनाका विविध आयामहरूलाई सजीव रूपमा उजागर गरेका थिए ।

सभाहलमा उपस्थित श्रोताहरू गजलका पंक्तिहरूमा ताली र मौन भावनाका साथ डुबुल्की मारेको देखिन्थ्यो ।

कार्यक्रमका अध्यक्ष प्रकाश संग्रौलाले गजल साहित्यलाई निरन्तर अघि बढाउन यस्ता सृजनात्मक जमघटहरू अपरिहार्य रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा गजलकार सन्दिप थपलिया ‘सानु’सहित चार जना स्रष्टाले आफ्ना सिर्जनाहरू वाचन गर्दै आगन्तुकलाई साहित्यिक रसास्वादन गराउनुभएको थियो । गजलकार राज भट्टराईले शृङ्गारिक गजल प्रस्तुत गर्नुभएको थियो ।

‘मकरन्द’ गजल सङ्ग्रहले समकालीन गजल लेखनमा मौलिकता र गहिराइ प्रस्तुत गरेको छ । यस कृतिले सानु थपलियाको सिर्जनात्मक यात्रामा अझ परिपक्वता हासिल भएको देखिन्छ ।

त्यसैगरी गजलकार टिका खड्का ‘राष्ट्रप्रेमी’ ले समेत प्रकृति, प्रेम र स्वतन्त्रताको रसपान गराउने यथार्थ चित्रण गरिएको गजल प्रस्तुत गर्नुभएको थियो ।

दर्शन घिमिरे ‘सरकार’का गजलका शेरहरूले बाहि बाहि मात्र पाएनन्, ताली र हाँसोले सभाहल नै गुञ्जयमान भएको थियो । अलि लजालु स्वभाव देखाउने कलाका धनी घिमिरेले हलमा उपस्थित सबैको तन, मन र ध्यान केन्द्रित गर्न सफल भएको देखियो ।

शनिबार सम्पन्न उक्त साहित्यिक समारोहको अध्यक्षता साहित्यकार प्रकाश संग्रौलाले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि तथा साहित्यकार केशव आचार्य रहनुभएको थियो । आफ्नो सङ्ग्रहमा रहेका गजल वाचन गर्दै सानु थपलियाले आफ्ना माता, पिता र जीवनसङ्गिनीलाई फुरुक्क पार्न भ्याएको देखियो ।

अनप्लग वाचनद्वारा आयोजना गरिएको गृह विमोचन कार्यक्रमलाई साहित्यकार सुनिता तामाङले आकर्षक ढङ्गले सञ्चालन गर्नुभएको थियो ।

साहित्य, सृजना र संवादको सुन्दर संगम बनेको उक्त कार्यक्रमले विर्तामोडलाई पुनः एकपटक साहित्यिक केन्द्रको रूपमा चिनाउन सफल भएको देखिन्छ । ‘मकरन्द’ विमोचनसँगै सन्दिप थपलिया ‘सानु’को गजल यात्राले साहित्यिक वृत्तमा नयाँ उचाइतर्फ पाइला चालेको छ ।

सम्बन्धित खबर